fbpx
Nepal Mediciti

गृहपृष्ठ सुनसान शिक्षा विकास तथा समन्वय इकाइ, सिफारिस गर्दै बस्दै कर्मचारी

सुनसान शिक्षा विकास तथा समन्वय इकाइ, सिफारिस गर्दै बस्दै कर्मचारी

कुनैबेला जिल्ला शिक्षा कार्यालयमा शिक्षक र शिक्षासँग सरोकार राख्ने व्यक्तिहरुको भीडभाड हुन्थ्यो, त्यही स्थल अहिले संघीयतासँगै शिक्षाको अधिकार स्थानीय तहमा गएपछि परिवर्तित शिक्षा विकास तथा समन्वय इकाईमा परिणत भएसँगै सुनसान भएका छन् ।

विगतमा जिल्लाभरिकै विद्यालयको अनुगमनदेखि भौतिक, शैक्षिक र सरुवा बढुवा गर्दै आएको जिल्ला शिक्षा कार्यालयको परिवर्तित कार्यालयमा अहिले सीमित अधिकार र दायित्वले गर्दा कार्यालय सुनसान देखिने गरेको छ । बुधबार शिक्षा विकास तथा समन्वय इकाई धनुषामा पुग्दा तीन जना सेवाग्राही शिक्षा शाखा अधिकृत राजदेव यादव र प्राविधिक सहायकद्वय जयराम यादव र रिना साहसँग कुरा गर्दै थिए ।

सिरहाको विष्णुपुर गाउँपालिका २ का हरिदयाल साहले धनुषाकै अस्थायी शिक्षकबाट अवकास पाएका हुन् । अस्थायी शिक्षकको लागि लिएको आन्तरिक परीक्षामा फेल भएपछि उनले पाउने सेवा सुविधा कहिले पाउने बुझन इकाइमा आएको बताए । पोर्ताहास्थित श्री आधारभूत विद्यालयमा २३ वर्ष अस्थायी जागिर गरेर अवकास पाएका उनले सेवासुविधाबारे बुझन आएको बताएका थिए ।

धनुषाकै धनौजी गाउँपालिकाकाको श्री आधारभूत विद्यालयका शिक्षक परमेश्वर साहले भने विद्यालयमा प्रधानाध्यापकको रिक्त हुन लागेको पदमा आफू वरीयताको क्रममा पहिलो रहेकाले सिफारिशको लागि आएको बताए । उनले भने, ‘अब केही दिनमै हेड सर अवकास पाउँदै हुनुहुन्छ, अब प्रधानाध्यापकमा मेरो पालो आउँदैछ, के प्रक्रिया छ भनेर बुझ्न आएको हुँ ।’

अर्का जनकनन्दनी गाउँपालिका २ वल्हागोठस्थित श्री आधारभूत विद्यालय प्रध्यानाध्यापक भरत पण्डित शिक्षा विकास तथा समन्वय इकाइमा देखापरेका थिए । प्रधानाध्यापक साहको सहयोगीको रुपमा आएका उनले आफू विद्यालयको बैंक खाता खोल्ने सिफारिस लिन आएको बताएका थिए ।

जिल्ला शिक्षा कार्यालय हुँदा दैनिक सयौं शिक्षकको ओहोरदोहोर हुने गरेको थियो तर अहिले शिक्षाको अधिकार स्थानीय तहमा गएपछि शिक्षा विकास तथा समन्वय इकाइमा एकाध यस्तै सिफारिश गर्दै कर्मचारी बस्ने गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ धनुषामा अहिले आठ जना कर्मचारीको दरवन्दी रहेकोमा बुधबार ५ जना कर्मचारी उपस्थित थिए । इकाई प्रमुख बरखुप्रसाद रजक, शाखा अधिकृत रामवृक्ष महतो इकाइको कामले काठमाडौं गएका थिए भने एक जना कार्यालय सहयोगी अनुपस्थित थिए ।

इकाइमा एक जना उपसचिव इकाई प्रमुख रहने गरी दुई जना विद्यालय निरीक्षक (शाखा अधिकृत) र दुई जना प्राविधिक सहायक, दुई जना कार्यालय सहयोगी र एक जना चालक गरी आठ जना कर्मचारीको सीमित दरबन्दी छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट हुने कार्यसम्पादन अहिले स्थानीय तहकै सम्बन्धित शिक्षा शाखाबाट हुन थालेपछि शिक्षकको आउने-जाने क्रम घटेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका शाखा अधिकृत राजदेव यादवका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७४ साल चैत २८ गतेको पत्र र नेपाल सरकार मन्त्रिपरिषदको २०७४ साल चत २७ गतेको निर्णयअनुसार शिक्षा विकास तथा समन्वय इकाइलाई २१ बुँदे काम कर्तव्य र अधिकार तोकिएको छ । प्राप्त अधिकारहरुमा प्रायः संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने रहेको उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाइमा अहिले शिक्षकहरु सरुवा बढुवा र राहत तथा खाली दरवन्दीमा नियुक्ति सिफारिस, बैंक खाता सञ्चालनको सिफारिस र अस्थायी शिक्षकले पाउने सेवासुविधाको लागि आउने गरेका छन् । शिक्षकको सरुवा बढुवा, शिक्षकको अनिवार्य अवकासको सम्पूर्ण कागजात विद्यालय कितावखानामा सिफारिस पठाउनेलगायतको काम इकाइमा आएपछि अहिले दैनिक ५ देखि १० जना शिक्षक इकाइमा आउने गरेको शिक्षा विकास तथा समन्वय इकाइ, धनुषा प्रमुख बरखुप्रसाद रजकले बताए ।

इकाई प्रमुख रजकले शिक्षाको अधिकारहरु स्थानीय तहमा नै गएकाले गर्दा आफूहरूले स्थानीय पालिकाहरूमा शिक्षासम्बन्धी देखिएका समस्या, शिक्षकलाई तलव खाने समस्या, शिक्षक सेवा आयोगको सिफारिसमा आएका शिक्षकलाई स्थानीय तहको विद्यालयमा हाजिर गराउन सिफारिस र सरुवा बढुवाका लागि सिफारिस गर्ने गरेको जानकारी दिए । ‘अहिले धनुषामा ५० देखि ६० करोडको हाराहारीमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमाथि बेरुजु ठहर भएको छ, बेरुजु फर्छर्यौटको लागि हाम्रो इकाइमा लेखापालको दरवन्दी छैन,’ उनले भने, ‘चिठ्ठी पत्र तयार गर्न कम्प्युटर अपरेटरको दरबन्दी छैन, प्रशासनको कर्मचारी छैनन् ।’

तत्कालीन समयमा भएको कामको मूल्यांकन गर्न इन्जिरियर र सब ओभरसियरको दरबन्दी नभएर प्राविधिक रुपमा बेरुजु घटाउन समस्या हुँदै आएको उनले बताए । कर्मचारीहरु लेखा अधिकृतको दरबन्दी नभएर कार्यालयमा समस्या हुँदै आएको बताउँछन् । केही समयअघि जिल्ला प्रशासन कार्यालय मातहतमा गएका शिक्षा विकास समन्वय इकाइका कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमार्फत् बजेट र तलब दिन थालेपछि कार्यालयमा लेखा अधिकृतको दरवन्दी हटाइएका थिए ।

अहिले प्रशासन कार्यालय मातहतबाट हटाएर इकाइबाटै तलव, भत्ता र प्रशासनिक खर्च हुँदै आएको भए पनि लेखा अधिकृतको दरवन्दी नभएर माछा सुपरजोनको लेखा अधिकृत फुर्सदको बेला काजमा आएर लेखासम्बन्धी काम गर्दै आएको प्राविधिक सहायक जयराम यादवले बताए ।

प्रकाशित समय ११:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु