fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ मनमोहनका विद्यार्थीले बनाए सोलारबाट चल्ने एसी, अरु के-के छन् ?

मनमोहनका विद्यार्थीले बनाए सोलारबाट चल्ने एसी, अरु के-के छन् ?

manamohan-institute-newskarobar

मोरङको मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले विभिन्न बहुउपयोगी उपकरण र सामग्रीको आविष्कार गरेका छन् । कलेजमा विभिन्न विषयमा अध्ययन गरेका विद्यार्थीले आफ्नो अध्ययनलाई प्रयोगात्मक रुपमा देखाउन विभिन्न उपकरण तथा उपयोगी सामग्रीको आविष्कार गरेका हुन् ।

प्रदेश १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मनमोहनमा पोलिटेक्निकमा तीन वर्षे सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिोनिक्स र मेकानिकल विभागमा अध्ययन गरेका विद्यार्थीले प्यारालाइसिस भएका बिरामीको हेरचार तथा स्याहार गर्ने सामानदेखि माइक्रो हाइड्रोपावरको नमुनासमेत तयार गरेका हुन् । अध्ययन सकेर उत्तीर्ण भई जान लागेका विद्यार्थीद्वारा निर्मित ती सामग्रीको प्रदर्शनी गरिएको छ ।

कलेजको सबै विभागका विद्यार्थीको समूहले बनाएका सामग्रीको कलेज परिसरमै उनीहरुले प्रदर्शन गरेका छन् । कलेजको इलेक्ट्रोनिक्स विभागमा अध्ययन गरेका विद्यार्थीले बनाएको उपकरणले प्यारालाइसिस भएका बिरामीको अवस्था, उनीहरुलाई लागेको भोक, तिर्खा तथा शौचालय जानुपर्ने अवस्थाका विषयमा जानकारी दिने प्रिन्सिपल डा. सुभाष श्री पोखरेलले बताए ।

उनीहरुले ‘डिजिटल वेदर स्टेसन विथ नोटिस बोर्ड’, आधुनिक हाजिरी मेसिन, ‘बायोमेट्रिक डार लक’, मोबाइलकै माध्यमबाट नियन्त्रण गर्न सकिने बम डिस्पोज गर्ने रोबोट र ‘स्मार्ट ब्लाइन्ड स्टिक’ बनाएका छन् । ‘स्मार्ट ब्लाइन्ड स्टिक’ले पानी परेको, खतराको संकेत गर्नुका साथै अगाडि आएको चिज बस्तुका विषयमा पनि सचेत गाराउँछ ।

त्यस्तै इलेक्ट्रिकलका विद्यार्थीमध्ये ६ जनाको समूहमा रहेका विद्यार्थीले ‘अर्डिनो बेस फ्यान विन्डिङ मेसिन’, ६ जनाकै अर्को समूहले ‘सिन्च्रोनाइजेसन टु अल्टरनेटर्स’ निर्माण गरेका छन् । सोही विभागमध्ये पाँच जनाको समूहले सोलारबाट चल्ने एसी निर्माण गरेका छन् ।

सोही विभागका आठ जनाको विद्यार्थी समूहले माइक्रो हाइड्रोलिक पावर प्लान्टसमेत आविष्कार गरेको छ । अर्को आठ जनाको विद्यार्थी समूहले फोहरमैलाबाट बिजुली निकाल्ने मेसिन विकास गरेको छ ।

त्यसैगरी अर्को ५ जनाको विद्यार्थी समूहले ‘जेनेरेसन अफ इलेक्ट्रिसिटी फर्म गार्बेज’, र अन्य ६ जनाको विद्यार्थी समूहले ‘अन्डरग्राउन्ड केवल फल्ट डिस्टेन्स लोकेटर’ आविष्कार गरेको छ । जसले ‘अन्डर ग्राउन्ड’ गरिएका विद्युत तार बिग्रिएको खण्डमा बिना कुनै झन्झट ठ्याक्कै पत्ता लगाउने काम गर्छ । यो अति नै उपयोगी हुने मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटका सूचना प्रमुख एवं प्रतिष्ठानका सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

मेकानिकलमा अध्ययन गरेका सात विद्यार्थीले हावाबाट चल्ने साइकल आविष्कार गरेका छन् । सोही विभागका अर्को ६ जनाले ‘पेपर प्लेट मेकिङ मेसिन’ बनाएका छन् । त्यस्तै अर्को ६ जनाले ‘हाइड्रोलिक फ्लोर क्रेन’ बनाएको छन् । अर्को सात जनाको समूहले ‘सोलार अपरेटेड राइडल मेसिन’, अर्को ६ जनाले ‘न्युमेटिक पन्चीङ रिभेटिङ मेसिन’ र अन्य ६ विद्यार्थीले ‘इन्जेक्सन मोल्डिङ मेसिन’ निर्माण गरेको सूचना प्रमुख चौधरीले बताए ।

manamohan-newskarobar

प्रदर्शनी अवलोकनपछि प्रदेश १ की सामाजिक विकास समिति सभापति सरिता थापा खड्काले विद्यार्थीको क्षमतालाई प्रोत्साहन गर्न पहल गर्ने बताइन् । प्रदेशसभा सदस्य सावित्रा रेग्मीले मनमोहन प्राविधिक शिक्षामा उत्कृष्ट रहेको तर्क गरिन् ।

कलेजले प्रत्येक वर्ष ‘पास आउट’ हुन लागेका विद्यार्थीलाई प्रोजेक्ट वर्क गर्न लगाउने गरेको छ । सो ‘प्रोजेक्ट वर्क’ अन्तर्गत विद्यार्थीले आविष्कार गरेका वस्तुको यसरी नै प्रत्येक वर्ष प्रदर्शनी गरिँदै आएको छ ।

२०६६ सालबाट अध्यापन सुरु भएको सो कलेजबाट हालसम्म १ हजार २२७ प्राविधिक जनशक्ति उत्पादन भएका छन् । जसमध्ये ८८६ जना रोजगार छन् । हाल सो कलेजमा ५८६ विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल डा. पोखरेलले बताए । देशैभरिका प्राविधिक शिक्षालयमध्ये उत्कृष्ट हुँदै आएको सो कलेजलाई सरकारले पटक–पटक पुरस्कृत गरेको छ ।

प्रकाशित समय ०७:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु