fbpx
Nepal Mediciti

गृहपृष्ठ धनुषाको क्षीरेश्वरनाथमा सर्पदंश उपचार केन्द्रको शिलान्यास

धनुषाको क्षीरेश्वरनाथमा सर्पदंश उपचार केन्द्रको शिलान्यास

snake hospital newskarobar

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र बन्ने भएको छ । धनुषाको महेन्द्रनगरस्थित आर्मी ब्यारेकभित्र सर्पदंश उपचार केन्द्रको सोमबार शिलान्यास गरिएको हो ।

क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पञ्जियारले एक कार्यक्रमबीच सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास गरेका छन् । यूएनडीपी र नगरपालिकाको सहयोगमा नेपाली सेनाको ब्यारेकभित्र सुविधा सम्पन्न उपचार केन्द्र निर्माण गर्न लागिएको नगर प्रमुख पञ्जियारले बताए ।

यो उपचार केन्द्रबाट सर्पदंशका करिब ५० हजार बिरामीले लाभ लिनसक्ने नगरपालिकाको अनुमान छ । नगर प्रमुख पञ्जियारसँग उपचार केन्द्रका लागि सम्झौता गर्दै यूएनडीपीका फिल्ड संयोजक धनबहादुर चन्दले सर्पको टोकाइबाट धेरै मानिसको मृत्यु हुने भए पनि स्थानीय तह नभएका कारण अस्पताल बनाउन नसकिएको बताए । ‘केन्द्रका लागि सेनाको तर्फबाट स्वास्थ्यकर्मी समेत तयार छन्,’ उनले भने, ‘औषधिलगायतमा नगरपालिकाले सहयोग गर्नेछ ।’

उपचार केन्द्र निर्माणमा नगरपालिकाले ९९ लाख ४५ हजार र यूएनडीपीले १ करोड २६ लाख २६ हजार २५० संकलन गरेका छन् । बाँकी रकम विभिन्न दाताबाट संकलन गरिनेछ । उपचार केन्द्रमा आकस्मिक कक्ष, आईसीयु, ल्याब, उपचार कक्ष, प्रतिक्षा कक्ष, चिकित्सक कक्ष, आपांगमैत्रीसहित सुविधायुक्त भवन निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेशलाल कर्णले जनाए । सर्पदंश उपचार केन्द्रमा आवश्यक चिकित्सक, औषधी र उपचारका लागि आवश्यक उपकरण, बिरामीका लागि २० शय्या, ल्याबका लागि उपकरण, एम्बुलेन्स, मोबाइल एप्लिकेसन, डिजिटल मोनिटर तथा मेटेरियलको पूर्ण व्यवस्था मिलाइने कर्णले बताए ।

उपचार केन्द्र २०७७ असार मसान्तसम्म सम्पन्न हुने सहयोगी सामुदायिक सुधार केन्द्रका अध्यक्ष सञ्जय साहले जनाए । उपचार केन्द्र प्रदेशको अस्थायी राजधानी जनकपुरधामसँगै राजमार्गसँग समेत जोडिएकाले महेन्द्रनगरमा स्थापना गर्न लागिएको हो । करिब अढाई करोड रुपैयाँ लागत अनुमान गरिएको उपचार केन्द्र निर्माणका लागि क्षीरेश्वरनाथ नगरपालिका र यूएनडीपीबीच २०७६ असार ३० गते सम्झौता भएको थियो ।

प्रकाशित समय ०७:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु