fbpx
Nepal Mediciti

गृहपृष्ठ विश्वभर ४९ करोड मानिसमा डेँगु, नेपालमा उच्च दरमा फैलिँदै

विश्वभर ४९ करोड मानिसमा डेँगु, नेपालमा उच्च दरमा फैलिँदै

dengug-newskarobar

डेँगुको संक्रमणले विश्व नै अछुतो रहन सकेको छैन । डब्लूटीओका अनुसार विश्वभर ४९ करोड मानिसमा डेँगुको संक्रमण देखिएको छ भने ४ अर्बभन्दा धेरै मानिस उच्च जोखिममा छन् ।

विश्वका १२८ देशमा भयावह अवस्थामा रहेको डेँगुको संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । सन् १९७० को दशकमा नौ देशमा डेँगुको यो संक्रमण रहेकोमा सन् २०१९ संम्म आइपुग्दा १२८ वटा देशमा फैलिएको हो । नेपालका साथै भारत, श्रीलंका थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, युरोप, अमेरिकालगायतका डेँगुको संक्रमण बढ्दो छ । विश्वमा सबैभन्दा धेरै फिलिपिन्समा १ लाख मानिस डेँगु संक्रमित छन् । त्यस्तै थाइल्यान्डमा ५० हजार, सिंगापुरमा ९ हजार, श्रीलंकामा ७ हजार २ सय मानिस डेँगुबाट पीडित छन् ।

डेँगुको संक्रमण नियन्त्रण गर्न तथा संक्रमितको उपचारका लागि मात्रै विश्वमा हरेक वर्ष ८ अर्ब डलर खर्च हुने गरेको छ । त्यसमध्ये एक वर्षमा प्रतिव्यक्ति ७० डलर अस्पतालमा भर्ना गरेर राख्दा र ५१ डलर घरबाटै धाउँदा खर्च हुने डब्लूटीओको तथ्यांकमा उल्लेख छ ।

नेपालमा डेँगुको अवस्था
नेपालमा सन् २००४ मा चितवनमा पहिलो पटक देखिएको डेँगु रोग छोटो समयमै देशभर फैलिसकेको छ । सन् २००६ बाट डेँगुको संक्रमणबारे अध्ययन थालिए पनि आवश्यक कदम चालिएन, जसले गर्दा सन् २०१० सम्म आइपुग्दा नेपालको चितवनमात्रै नभएर पूर्वी तराईका जिल्लामा प्रकोपको रुपमा फैलिएको तथ्यांक छ ।

पाँच वर्षयता नेपालमा डेँगु उच्च दरमा फैलिँदै गएको छ । आर्थिक वर्ष २०७०/७१ मा ३०२ जना, २०७१/७२ मा १३४ जना, २०७२/७३ मा १५ सय २७ जना, २०७३/७४ मा २१ सय ११ जना, २०७४/७५ मा ८११ जना र २०७५/७६ मा ३४ सय २५ मानिसमा डेँगुको संक्रमण देखिएको छ ।

नेपालमा सबैभन्दा धेरै सुनसरीमा ३ हजार २५ जनामा डेँगुको संक्रमण भेटिएको छ । त्यस्तै मोरङ, धादिङ, रुपन्देही, मकावानपुरलगायतका जिल्ला डेँगुबाट बढी प्रभावित छन् । झापामा भने डेँगुको संक्रमितको संख्या घटेको छ । अघिल्लो वर्ष झापामा ५४३ जनामा देखिएको डेँगु यो वर्ष २९ जनामा मात्रै देखापरेको हो । सुनसरीमा भने उच्च संख्यामा बढेको छ । सुनसरीमा अघिल्लो वर्ष ८ जनामा देखिएकोमा गत एकै वर्षमा बढेर ३ हजार जनामा पुगेको छ ।

कास्कीमा पनि डेँगु संक्रमितको संख्या घटेको छ । कास्कीमा अघिल्लो वर्ष ५५३ जनामा डेँगु देखिएकोमा गत वर्ष २१ जनामा मात्रै देखिएको छ । कास्कीमा साउनमा थप ७ जना डेँगु संक्रमित भेटिएका छन् । मोरङमा भने अघिल्लो वर्ष दुई जनामा मात्रै देखिएको डेँगु गत वर्ष ८१ जनामा पाइएको छ ।

विशेषगरी तराई क्षेत्रमा बढी देखिने डेँगु पहाडी क्षेत्रमा पनि फैलिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेकलाल कर्णले जानकारी दिए । ‘मौसम परिवर्तनका कारण तराई क्षेत्रमा मात्रै नभएर चिसो हावापानी हुने पहाडी क्षेत्रमा पनि तापक्रम बढेकाले डेँगुको संक्रमण जताततै फैलिएको हो,’ ‘महाशाखाले काठमाडौंमा आइतबार आयोजना गरेको डेँगु रोगसम्बन्धी अन्तक्र्रियामा उनले भने, ‘तापक्रम बढ्दै जाँदा डेँगु नियन्त्रणमा आउनुको सट्टा बढ्दै गएको छ ।’

नेपालमा डेँगु रोगसम्बन्धी आवश्यक दक्ष जनशक्ति अभावमा न्यूनीकरणमा समस्या भएको स्वास्थ्य विभागका महानिर्देशक सुुशीलनाथ प्याकुरेलले बताए । ‘नेपालका धेरैजस्तो जिल्लामा डेँगु निरीक्षकको पद नै खाली छ,’ उनले भने, ‘जनशक्ति अभावमा नागरिकमा स्वास्थ्य चेनता अभिवृद्धि गर्न पनि सकिएको छैन ।’

नेपालमा डेँगु नियन्त्रणमा खर्च
नेपालमा डेँगु नियन्त्रणका लागि हालसम्म सरकारले ६ करोड १७ लाख खर्च गरिसकेको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेशगत रुपमा ६९ लाखदेखि ८७ लाख रुपैयाँसम्म विनियोजन गरिएको छ । त्यसमध्ये बढी प्रभावित ८५ क्षेत्रलाई प्राथामिकतामा राखेर २ लाखका दरले रकम पठाइएको निर्देशक कर्णले जानकारी दिए । केन्द्रमा भने ७१ लाखमात्रै विनियोजन गरिएको छ । डेँगुको संक्रमण बढ्दै जाँदा सरकारले अझ प्राथमिकता दिनुपर्ने उनले बताए ।

डेँगुका लक्षण
घर वरिपरि जम्ने सफा पानीमा फैलिने एडिस एजप्टाई नामको पोथी लामखुट्टेबाट मानिसमा डेँगु भाइरसको संक्रमण हुने गर्छ । खासगरी डीईएन यू १, डीईएन भी २, डीईएन भी ३ र डीईएन ४ गरी चार प्रकारका भाइरसका कारण डेँगु संक्रमण हुन्छ । डेँगु संक्रमण भएमा एक्कासि ज्वरो आउने, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कटकटी खाने, शरीरमा बिमिरा आउने तथा रक्तश्राव हुने, जोर्नी, हड्डी तथा मांसपेसी दुख्ने आदि लक्षण देखापर्छ ।

डेँगुबाट बच्ने उपाय
घर वरिपरिका खाल्डाखुल्डी पुर्ने तथा नछोपिएका भाँडामा पानी नराख्ने, सरसफाइमा ध्यान दिने, पानी जम्ने स्थानमा हप्तामा दुईपटक मोबिल वा मटितेल छर्कने, खानेपानीका ट्यांकीमा लामखुट्टे पस्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको पूरै शरीर ढाक्ने लुगा लगाउने तथा टोकिहालेमा मलमहरु प्रयोग गर्ने आदि गर्नुपर्छ ।

प्रकाशित समय १३:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु