fbpx
Nepal Mediciti

गृहपृष्ठ स्तनपानबाट वञ्चित हुँदै शिशु : केही आमा भ्याउँदैनन्, केहीलाई सौन्दर्य चिन्ता

स्तनपानबाट वञ्चित हुँदै शिशु : केही आमा भ्याउँदैनन्, केहीलाई सौन्दर्य चिन्ता

सुदूरपश्चिम प्रदेशमा ६ महिनापछि बच्चालाई स्तनपान नगराउने गरेको पाइएको छ । आमा निजी र सरकारी कार्यालयमा कामकाजी हुन थालेपछि स्तनपान नगराउन थालिएको हो ।

शिशु जन्मेको एक घण्टाभित्र बिगौती दूध खुवाउन सुरु गरी ६ महिनासम्म दूध खुवाउनुपर्ने भए पनि महिलाले समय नपाएर दूध खुवाउन छाड्दै जान थालेका छन् । आमाको दूधको आवश्यकता पर्ने शिशुलाई आमा रोजगारीका लागि कार्यालयमा गएपछि घरपरिवारले गाईभैँसी वा बट्टाको दूध खुवाउने गरेका छन् । गाईभैँसी र बट्टाको दूध शिशुको स्वास्थ्यका हिसाबले ठीक नभएको स्वास्थ्यकर्मीको भनाइ छ ।

कार्यालयमा शिशुलाई स्तनपान गराउने स्थान अभाव हुनु तथा सौन्दर्य बिग्रने गलत मानसिकताले आमाले स्तनपान गराउने कार्य कम हुँदै जान थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा ५.२ प्रतिशत आमाले मात्र पूर्णरुपमा ६ महिनासम्म स्तनपान गराउँछन् । देशभरका ग्रामीण क्षेत्रमा पूर्ण स्तनपान गराउने आमा ४.५ प्रतिशत र सहरी क्षेत्रमा पूर्ण स्तनपान गराउने आमाको संख्या ३.९ प्रतिशत छ । तीन महिनासम्म स्तनपान गराउने ७२.२, पाँच महिनासम्म स्तनपान गराउने ४०.९ प्रतिशत छन् ।

सर्वेक्षणअनुसार सन् २०११ मा ५३ प्रतिशत र सन् २०१६ मा ६६ प्रतिशत आमाले मात्रै पूर्णरुपमा स्तनपान गराएको पाइएको छ । त्यसपछिका वर्षमा पूर्णरुपमा स्तनपान गराउने आमाको संख्या घट्दै जान थालेको छ ।

छोरी भए तीन महिना वा चार महिनासम्म मात्रै स्तनपान गराउने चलन बढ्दै गएको छ, जुन चिन्ताको विषय भएको जोशीले बताइन् । ६ महिनापछि मात्रै अन्नप्राशन गराउने परम्परागत चलन भए पनि हाल तीनदेखि चार महिनाभित्रै पनि भातको माड र अन्य खानेकुरा खुवाउने चलनसमेत बढ्न थालेको छ ।

‘ग्रामीण क्षेत्रमा समेत मेलापात र अन्य कार्यमा आमाले काम गर्नुपर्दा शिशुलाई प्रति दुई घण्टामा स्तनपान गराउनुपर्ने भए पनि त्यो हुनसकेको छैन,’  निर्देशनालयका पब्लिक हेल्थ नर्श जोशीले भनिन्, ‘जसका कारण शिशुको वृद्धि विकासमा अवरोध आउनुका साथ पोषणको कमीले शिशु रोगी हुने क्रम बढ्दो छ ।’ ६ महिनासम्म आमाको दूध नै शिशुलाई पर्याप्त हुने भए पनि बट्टाको दूध खुवाउने कार्यले शिशुमा झाडापखाला लाग्ने र त्यसका कारण तौल घटने र शिशु कमजोर हुने उनले बताइ ।

‘आमाको दूधमा रोगसँग लड्नसक्ने प्रतिरक्षात्मक तत्व हुने भएकाले शिशुको शारीरिक र मानसिक विकासका लागि आमाको दूध अति महत्वपूर्ण छ,’ जनस्वास्थ्य अधिकृत दिलीप साउदले भने, ‘स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपनालगायत रोगबाट बचाउँछ ।’ आमालाई स्तनपान गराउन घरपरिवारले समेत अभिप्रेरित गर्नुपर्ने र कार्यालयमा स्तनपान कक्षको व्यवस्था भए सहज रुपमा शिशुले आमाको दूध खान पाउने उनको भनाइ छ । (राजेन्द्रप्रसाद पनेरू/रासस)

प्रकाशित समय १३:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु