fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ सीटीईभीटीको तालिममा ठेक्कापट्टा पद्धति : कुलबहादुर बस्नेत

सीटीईभीटीको तालिममा ठेक्कापट्टा पद्धति : कुलबहादुर बस्नेत

kul-bahadur-basnet-newskarobar कुलबहादुर बस्नेत, निवर्तमान उपाध्यक्ष, सीटीईभीटी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) प्रमाणपत्र बाँड्ने थलोमात्र भएको निवर्तमान उपाध्यक्ष कुलबहादुर बस्नेतले बताएका छन् । सीटीईभीटीको उपाध्यक्ष पदमा चार वर्षअघि नियुक्त भई बुधबारदेखि निजी जीवनमा फर्किएका बस्नेतले सर्वसाधारणलाई तालिम उपलब्ध गराउने सिलसिलामा ठेक्का पट्टाको पद्धति अपनाउने गरिएकाले गुणस्तरीयभन्दा बजेट सक्ने तालिम सञ्चालन भइरहेको अनुभव सुनाएका हुन् ।

व्यावसायिक र व्यावहारिकभन्दा कागजी प्रक्रिया पूरा गर्ने र तालिमका लागि मात्र तालिम सञ्चालन गर्ने गरिएकाले सीटीईभीटीको उत्पादन स्वरोजगार बन्न नसकेको उनले बताए । ‘बितेका पाँच वर्षमा लाखौं नागरिकले छोटो अवधिको तालिम लिई प्रमाण पत्र प्राप्त गरेका छन्,’ उनले भने, ‘तर तालिम प्राप्त जनशक्ति सक्षम नभएका कारण रोजगार बन्न सकेका छैनन् ।’

संविधानमा शिक्षा क्षेत्रभित्र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमबारे कहीँ कतै स्पष्ट उल्लेख नभएका कारण अधिकारप्राप्त सरकारी निकायबाट सीटीईभीटीको उद्देश्य आफूखुसी व्याख्या गर्ने गरिएका कारण यसको मूल मर्ममाथि नै प्रहार भइरहेको उनको आरोप छ । तालिमको गुणस्तरभन्दा पनि तालिमप्राप्त व्यक्तिको संख्या बढाउने नाममा शिक्षा ऐन संशोधन गरी कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाको धार सञ्चालन गरिएको भन्दै उनले सीटीईभीटीको पद्धतिमाथि नै प्रश्न उठाएका छन् । परिषदको स्रोत साधन सरकारको दायित्व रहेको विद्यालय तहका लागि खर्च गर्नुपर्ने अवस्था सिर्जना गरिनु गलत भएको उनको टिप्पणी छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ ले निर्देशित गरेअनुसार परिषद्को कार्यक्षेत्र, सांगठनिक संरचना, पूर्वअनुभव, बजार र रोजगारीलाई प्रमुख आधार मानेर यसको संरचना विकास गर्नुपर्ने सुझाव निवर्तमान उपाध्यक्ष बस्नेतले दिएका छन् । ‘परिषदलाई नेपालको मानव पुँजी विकासको लक्ष्यअनुसार स्वायत्त संस्थाको रुपमा स्थापना गर्न जरुरी छ,’ उनले भने, ‘परिषदमा विशेषज्ञको बाहुल्य रहने गरी सांगठनिक संरचना बनाई रोजगारदाताको सल्लाह, सहयोग, सहकार्य र पहुँचमा पुग्ने गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको पुनः स्थापना या ऐन संशोधन गर्नुपर्छ ।’

CTEVT-newskarobar

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको प्रभावकारिका लागि उनले पूर्वाधारयुक्त तालिम केन्द्रको व्यवस्था तथा सीपयुक्त प्रशिक्षक (प्रशिक्षक तालिम) दिइनुपर्ने सुझाव दिएका छन् । बजार (उद्योग)/व्यवसायमा आधारित (पेसा र व्यवसाय) सँग सम्बन्धित पाठ्यक्रमको निर्माण गर्नसके परिषद्को प्रभावकारिता पुष्टि हुने उनको ठहर छ । त्यस्तै, रोजगारदाताको संलग्नतामा तालिमको सम्पूर्ण व्यवस्थापन सञ्चालन गर्नुपर्ने सुझाव उपाध्यक्ष बस्नेतले प्रेस नोटमार्फत दिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ३–११ को (ज) (३) मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमनको व्यवस्था स्थानीय तहमा छ । त्यस्तै चिकित्सा शिक्षा ऐनले स्वास्थ्य शिक्षासम्बन्धी सम्पूर्ण विधा र तहलाई समेटेर ‘यो ऐन जारी भएपश्चात प्रमाण पत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम परिषदले सञ्चालन गर्ने छैन’ भन्ने उल्लेख छ ।

प्रकाशित समय ११:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु