fbpx
Nepal Mediciti

गृहपृष्ठ डबल डिग्रीको रहर

डबल डिग्रीको रहर

double-degree-newskarobar

स्याङ्जाका चिरन पौडेल यतिखेर राजनीति शास्त्रमा स्नातकोत्तर गर्दैछन् । आमसञ्चार तथा पत्रकारिता विषयमा त्रिभुवन विश्वविद्यालयबाट २०७३ सालमै स्नातकोत्तर सकेका उनले फेरि राजनीतिशास्त्रमा सुरु गरेका हुन् । उनकी श्रीमती सुनिता भट्टराईले पनि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट अर्थशास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर गरेकी छन् ।

गुल्मीका रामकृष्ण भण्डारी पनि पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर सकेपछि त्यसै बसेनन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पनि स्नातकोत्तर गरे ।

हिजोआज युवापुस्तामा एकभन्दा बढी विषयमा स्नातकोत्तर गर्ने प्रचलन बढ्दै गएको छ । घरमा पठनपाठनको वातावरण बनिरहने र अर्को विषयमा ज्ञान पनि हासिल हुने भएकाले कतिपयले ‘डबल डिग्री’ गरेका छन् । आफूले काम गरिरहेको क्षेत्रमा गहिरो ज्ञान राख्नका लागि डिग्री गर्नेहरु पनि धेरै छन् । ‘विगतमा आफूले काम गरिरहेको पत्रकारिता विषयमा स्नातकोत्तर गरियो,’ लामो समयदेखि राजनीतिक बिटमा पत्रकारिता गर्दै आएका भण्डारी भन्छन्, ‘पछि आफ्नो बिटमा थप दख्खल हासिल गर्न राजनीतिशास्त्र पढेको हुँ ।’

अर्थशास्त्रमा स्नातकोत्तर सकेकी भट्टराईले लोक सेवा आयोगको तयारी पनि गरिरहेकी छन् । त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षा दिन सहज भएकाले जनप्रशासन विषयमा स्नातकोत्तर थप गरेकी हुन् । ‘लोक सेवाका लागि कोर्स पनि मिल्ने भएकाले जनप्रशासनमा स्नातकोत्तर गर्न थालेकी हुँ,’ उनले भनिन्, ‘पढेपछि अर्को विषयमा मास्टर्स हुने भन्ने त भइहाल्छ ।’ घरमा पढ्ने वातावरण पनि बनिरहने उनको तर्क छ ।

केही समययता ‘डबल डिग्री’ गर्नेहरुको संख्या बढ्दै गएको छ । त्रिभुवन विश्वविद्यालयको प्राइभेट परीक्षा प्रणालीले कामकाजी मानिसलाई डिग्री थप्न सहज बनाइदिएको छ । दुईवटा विषयमा मास्टर्स गर्ने शोखमा पनि धेरैमा छ । एउटा विषयमा राम्रो अंक ल्याएर पास गर्ने र अर्को विषयमा डिग्री मात्र थप्ने सोच राख्नेहरुको लक्ष्य प्रमाणपत्र मात्र हुन्छ । उनीहरुलाई अंकको खासै मतलब हुँदैन । तर, अंकभन्दा पनि ज्ञानलाई प्राथमिकता दिइने भएकाले दोस्रो डिग्रीको बेग्लै महत्व हुने शिक्षाविद बताउँछन् ।

शिक्षाविद विद्यानाथ कोइराला विद्यार्थीमा एकभन्दा बढी विषयको चासो हुनु र मास्टर्स गर्न खोज्नु राम्रो भएको बताउँछन् । ‘क्षमतावान व्यक्तिले सक्छ भने धेरै विषयमा ज्ञान हासिल गरेकै राम्रो हुन्छ,’ उनी भन्छन्, ‘यसले मानिसलाई अध्ययनशील बन्न थप सहयोग पनि पु–याउँछ ।’

लहडका भरमा ‘डबल डिग्री’ गर्न चाहनेहरु पनि छन् । तर, लहडमा भन्दा ज्ञानको दायरा फराकिलो पार्ने र आफूले आर्जन गरेको ज्ञानलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा निचोडमा पुगेरमात्रै डिग्री गर्ने फलदायी हुने शिक्षाविद कोइरालाको तर्क छ । ‘पढेर कहिल्यै बिग्रिँदैन तर आफूले प्राप्त गरेको विषयगत ज्ञानलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेमा पहिल्यै तयार हुनुचाहिँ अझ राम्रो हुन्छ,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयमा एकै सत्रमा दुईवटा भन्दा बढी विषयमा पढ्न पाइँदैन । एकैपटकमा दुईवटै विषय पढ्नेहरुको भने नतिजा राम्रो नआउने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ । २०७४ सालको तथ्यांकअनुसार नेपालका १५ विश्वविद्यालयमा ३ लाख ६१ हजार ७७ विद्यार्थी स्नातकोत्तर अध्ययनरत थिए ।

प्रकाशित समय ११:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु