fbpx
corona information

गृहपृष्ठ तीन प्रदेशमा पर्यटनको स्वास्थ्य र स्वच्छतासम्बन्धी तालिम हुने

तीन प्रदेशमा पर्यटनको स्वास्थ्य र स्वच्छतासम्बन्धी तालिम हुने

TRTF Nepal_NewsKarobar

टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल) ले जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेसनको सहकार्यमा नेपालका तीन प्रदेशमा स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल)सम्बन्धी प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

‘कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाहरूबीच एउटा सर्वेक्षण गरिएको थियो,’ टास्कफोर्सका संयोजक एवं नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले भने, ‘सर्वेक्षणमा सहभागीमध्ये ८५ प्रतिशत साना तथा मझौला व्यवसायीहरूले तालिम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो औंल्याएका थिए, त्यही सर्वेक्षणका आधारमा पहिलो चरणमा यो तालिम सञ्चालन गर्न लागिएको हो ।’

पहिलो चरणमा नमुनाका रूपमा तीन प्रदेश, ५ जिल्ला र ११ नगरपालिकामा यस्तो प्रशिक्षण कार्यक्रम सञ्चालन हुन लागे पनि क्रमिक रूपमा अन्य प्रदेशमा पनि विस्तार गरिने उनको भनाइ थियो ।

टाक्सफोर्स र गेट फाउन्डेसनद्वारा बुधबार भर्चुअल रुपमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका छानिएका ११ वटा नगरपालिकाका स्थानीय तह र निजी क्षेत्रको सहभागितामा सो तालिम आयोजना हुनेछ ।

ती तीन प्रदेशका छानिएका ११ नगरपालिकाबाट प्रत्येकबाट ५ जनाका दरले ५५ जना पर्यटन क्षेत्रका व्यक्तिलाई प्रशिक्षक–प्रशिक्षण (टीओटी) प्रदान गरिने गेट फाउन्डेसनका संयोजक विवेक पौडेलले जानकारी दिए ।

उनका अनुसार ती प्रशिक्षकमार्फत प्रत्येक लक्षित नगरपालिकामा पर्यटन क्षेत्रका २५० जनालाई अभिमुखीकरण तालिम र स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धि मापदण्डका विषयमा २७५० जना सरोकारवालाहरुलाई प्रशिक्षण दिइनेछ ।

साझेदार छानिएका ११ नगरपालिकाका ठूला पर्यटन उद्योगका सञ्चालक, व्यवस्थापकदेखि सञ्चालक तहसम्मका, साना चियापसल, होम स्टे, सडक खाद्यान्न बिक्रेतादेखि ठूला प्रतिष्ठान, होम स्टेसम्मका पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डहरूको पालनाप्रति संवेदनशील तुल्याउने उनले बताए ।

टीआरटीएफ नेपालले जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेसनको सहकार्यमा भर्चुअल रुपमा आयोजित कार्यक्रमबीच नेपालका पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेकले कोभिड–१८ विश्वव्यापी स्वास्थ्य संकटमात्र नभइ आर्थिक संकटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको भन्दै नेपालजस्तो पर्यटनमै आश्रित मुलुकमा यसको अत्याधिक असर परेकोले यसको पुनर्बहालीका योजना आवश्यक परेको बताए ।

यसैगरी, गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले नेपालको पर्यटन २०७२ को भूकम्पपछि एक पटक नराम्रोसँग प्रभावित भएको समयमा टुरिजम् रिकोभरी टास्कफोर्समार्फत् पर्यटन पुनर्बहालीका योजना अगाडि बढाइएका कारण त्यसले छिट्टै सकारात्मक नतिजा दिन सकेको सन्दर्भ उल्लेख गर्दै अहिलेको महामारीले प्रभावित भएको पर्यटन क्षेत्रलाई ब्युताउँनका लागि स्वास्थ्य तथा स्वच्छताले अहम् भूमिका खेल्ने बताए ।

प्रकाशित समय १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु