fbpx
corona information

गृहपृष्ठ कोरोनापछि पहिलेकै लयमा फर्कदै पर्यटन क्षेत्र

कोरोनापछि पहिलेकै लयमा फर्कदै पर्यटन क्षेत्र

पर्यटकीय क्षेत्रमा सामुहिक बनभोज र पिपलपानी हाल्ने कार्य निषेध : प्रशासकीय अधिकृत

दुल्लु नगरपालिका १३ दैलेखका गणेश शाही शनिबार बुलबुले पार्कमा घुम्न आए । वीरेन्द्रनगर सुर्खेत झरेको समयमा प्रायः बुलबुले, काँक्रेबिहार र देउतीबज्यै मन्दिर उनी घुम्ने पर्यटकीय स्थलहरु हुन् ।

गर्मी मौसममा शीतलताको अनुभूति गर्न र नुहाइ–धुवाई गर्न समेत उनी बुलबुले तालमा जाने गर्छन् । वीरेन्द्रनगर बजारदेखि करिब दुई किलोमिटर नजिकै पर्ने बुलबुले उनको प्रायः घुम्न आइरहने पर्यटकीय क्षेत्र पनि हो । त्यसैले उनको पहिलो घुम्ने रोजाईको क्षेत्र बुलबुले उद्यान बन्यो । प्राय घुम्न गईरहने बुलबुले ताल यसपटक भने शाहीलाई नौलो लाग्यो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएदेखि उनी संक्रमणको त्रासले घुम्न निस्किएका थिएनन् । ‘आजभोलि लकडाउन छैन,’ उनले भने, ‘त्यसैले बिदाको समय पारेर पर्यटन क्षेत्र छिरेको हुँ ।’ बुलबुले ताल बिस्तार तथा अन्य संरचनामा समेत परिवर्तन देखेर उनले खुसी व्यक्त गरे । ‘लकडाउनका बीच बुलबुले उद्यानका केही संरचनाहरुमा समेत परिवर्तन भएछ,’ उनले भने, ‘म नयाँ बनेको संरचना हेर्न बुलबुले आएको हुँ ।’ पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरुको भिड बढ्न थालेको उनले सुनाए ।

वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतकी कल्पना पौडेलसमेत नेपाल सरकारले लकडाउनको आब्हान गरेदेखि घुम्न निस्किएकी थिइनन् । करिब आठ महिनापछि उनी बुलबुले ताल घुम्न गइन् । लामो समयपछि निर्वाद रुपमा पर्यटकीय क्षेत्रमा घुम्न पाउँदा उनको खुशीको सीमा रहेन । ‘नजिकै रहेको पर्यटकीय क्षेत्रमा समेत कोरोनाको त्रासले घुम्न निस्किएका थिएनौं,’ उनले भनिन्, ‘हामी मात्र नभई लकडाउन खुल्ला भएसँगै घुम्न निस्कनेहरुको संख्यासमेत बढेको छ ।’ पहिले जसरी नै मानिसहरु विभिन्न पर्यटकीय क्षेत्रहरुमा भिड लागेको देखिने उनले बताइन् । उनले बिदाको समय पारी परिवारका सदस्य तथा साथीहरुसँग घुम्न पाउँदा खुशी लागेको सुनाइन् ।

महाबु गाउँपालिका २ दैलेखका टेकराज बडुवालको सुर्खेत झरेपछि घुम्ने ठाउँ बुलबुले, काँक्रेबिहार र देउतीबज्यै मन्दिर क्षेत्र नै हुन् । उनी शनिबार सुर्खेतको आन्तरिक पर्यटकीय क्षेत्र काँक्रेबिहार घुम्नका लागि निस्किए । कोरोना भाइरसको संक्रमणको त्रासले आफूमात्र नभई कोही पनि घुम्न नजाने भए पनि पछिल्लो समय पर्यटकीय क्षेत्रहरु भरीभराउ हुने गरेको उनले बताए । ‘सबै पर्यटकीय क्षेत्रहरुमा यस्तै भिड हो,’ उनले भने, ‘लकडाउन पूर्ण रुपमा खुलेसँगै आन्तरिक पर्यटनमा टेवा पुगेको छ ।’ कोरोनाको त्रास भए पनि बिदाको दिनलाई सदुपयोग गर्न स्वास्थ्य सुरक्षाका सामागी्र प्रयोग गरी आफू घुम्न आएको बडुवालले बताए । पर्यटकीय क्षेत्रमा पहिलेकै जस्तै आफू निर्वाद रुपमा घुम्न पाउँदा खुशी लागेको उनले सुनाए ।

 

उनीहरुमात्रै होइन पछिल्ल्लो समय आन्तरिक पर्यटकीय क्षेत्रहरुमा घुम्न जानेहरुको भिड निकै बढेको छ । गत चैत्र महिनादेखि नेपाल सरकारले लकडाउनको आब्हान गरेसँगै धरापमा परेको पर्यटन क्षेत्र लकडाउन पूर्ण रुपमा खुला भएसँगै पुरानै लयमा फर्केको छ । सुर्खेतका प्रमुख पर्यटकिय क्षेत्रहरु बुलबुले, देउतीबज्यै, काँक्रेबिहार, गोठीकाँडा लगायतका क्षेत्रहरुमा आन्तरिक पर्यटकहरुको निकै भिड देख्न सकिन्छ । तर, कोरोना भाइरसको संक्रमणको त्रासको कारण अझैसम्म पनि बाह्य पर्यटक ठप्प छन् । आजभोलि पहिले जसरी नै पर्यटकीय क्षेत्रहरुमो निकै भिडभाड देख्न सकिन्छ ।

सुर्खेतको मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको बुलबुले उद्यानमा समेत आन्तरिक पर्यटकहरुको भिड निकै लाग्न थालेको कर्मचारी डिल्ली न्यौपानेले जानकारी दिए । उनका अनुसार दिनमा ६ सयको हाराहारीमा बुलबुले उद्यानमा पर्यटकहरु आउने गरेका छन् । शनिबारको दिनमा भने करिब एक हजारभन्दा बढी पर्यटकहरु बुलबुले उद्यानमा घुम्नका लागि आउने गरेको न्यौपानेले बताए । कोरोना भाइरसको संक्रमण फैलिएदेखि भने बाह्य पर्यटकहरु खासै नआएको उनले सुनाए । बुलबुलेमा प्रयाप्त पानी हुने भएकोले घुम्न मात्रै नभई नुहाई–धुवाई गर्नको लागि समेत मानिसहरु आउने गरेको न्यौपानेले तर्क गरे ।

काँक्रेबिहारसमेत सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक हो । उक्त क्षेत्रमा समेत दिनमा दुई सयभन्दा बढी आन्तरिक पर्यटकहरु भित्रिने गरेको कर्मचारी बिष्णु कार्कीले जानकारी दिए । उनका अनुसार शनिबारको दिनमा भने करिब पाँच सयभन्दा बढी पर्यटकहरु काँक्रेबिहारमा घुम्नको लागि आउने गरेका छन् ।

पर्यटकीय क्षेत्रमा छैन स्वास्थ्य सावधानी

सुर्खेतका पर्यटकीय क्षेत्रहरुमा पछिल्लो समय निकै भिडभाड बढेको छ । लकडाउन पूर्णरुपमा खुला भएसँगै आन्तरिक पर्यटकहरु भित्रिने क्रम बढेको छ । तर, स्वास्थ्य सावधानी नअपनाई उक्त पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरु भित्रिने गरेका हुन् । दैनिक पाँच सयभन्दा बढी पर्यटकहरु भित्रिने बुलबुले उद्यान तथा काँक्रेबिहारमा समेत पर्यटकहरुले स्वास्थ्य सावधानी नअपनाई भित्रिने गरेका छन् । सामाजिक दुरी कायम, मास्क तथा सेनिटाइजरको प्रयोग बिना पर्यटकहरु निर्वाद रुपमा भित्रिदा संक्रमणको जोखिम बढेको छ ।

सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य सचिव तथा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले सामुहिक कार्यहरु रोकेको जानकारी दिए । ‘व्यक्तिगत रुपमा सावधानी अपनाएर जान छुट गरिएको छ,’ उनले भने, ‘तर सामुहिक बनभोज र पिपलपानी हाल्ने कार्यका लागि भने निषेध छ ।’ पर्यटकहरु आफैंले व्यक्तिगत रुपमा आफ्नो सुरक्षा आफैंले नअपनाउने गरेको उनले बताए । आफूहरुले मास्क नभई जानै नदिनेभन्दा पनि व्यक्ति आफैंले आफ्नो सुरक्षा गर्नुपर्ने उनले तर्क गरे ।

प्रकाशित समय १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु