fbpx
corona information

गृहपृष्ठ पर्यटकको पर्खाइमा पोखरा

पर्यटकको पर्खाइमा पोखरा

नेपाल सरकारले पर्यटन वर्ष मनाइरहँदा सुुरुमा नै कोरोनाभाइरस (कोभिड- १९) महामारीको सामना गर्नुपर् यो । महामारीका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित बनेको छ । वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने र देशमा पर्यटनको लहर सिर्जना गरेर आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्यमा बाधा पुगेको छ ।

कोरोना महामारीका कारण अन्यत्र जस्तै गण्डकी प्रदेशमा पनि पर्यटकीय गतिविधि ठप्प प्राय छ । गण्डकीको प्रमुख पर्यटकीय केन्द्र पोखरा यति बेला सुनसान छ । सामान्य अवस्थामा पर्यटकको चहलपहल बढी हुने पोखराको लेकसाइड क्षेत्रका होटलहरु खाली छन् । ‘पर्यटकहरुका लागि पोखरा सुरक्षित छ’ भन्ने सन्देश विश्वभर पुर्‍याउनु नै अहिलेका लागि पर्यटन बोर्डको रणनीति रहेकाले सोहीअनुसार आफूहरु पनि लागिपरेको नेपाल पर्यटन बोर्ड कास्कीका अध्यक्ष काशीराज भण्डारीले बताए । ‘कोरोना महामारीका कारण बन्द रहेका पोखराका पर्यटकीय गन्तव्यहरु खुलाउने पहिलो प्राथमिकता हो । त्यसपछि बिस्तारै नयाँ गन्तव्य सञ्चालनको पहल गर्नेछौं,’ उनले भने ।

होटल व्यवसायीहरु पनि होटल सञ्चालन गर्न तयार रहेको उनको भनाइ छ । ‘यसका लागि पर्यटन बोर्ड कास्कीले विदेशबाट आउने पर्यटकका लागि विशेषगरी पदयात्रा र पर्वतारोहण गर्न पर्यटन मन्त्रालयले पनि नयाँ प्रोटोकल बनाइरहेको छ,’ उनले भने । पदयात्रा र होटल व्यवसायीहरुको लागि स्थानीय निकायसँग सहकार्य गरे अघि बढ्ने बोर्डको योजना रहेको अध्यक्ष भण्डारीले बताए । पर्यटकहरुको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै व्यवसाय सञ्चालन गर्न आह्वान गरिएको उनले जानकारी दिए ।

कोरोना महामारीले पर्यटन क्षेत्रमामा एउटा नयाँ अवस्था सिर्जना गरेकाले अब विगतमा जसरी चल्न नसकिने अध्यक्ष भण्डारीले बताए । ‘धेरै पर्यटकहरु पुग्ने ठाउँमा भीडभाड कम गराउने किसिमको वातावरण सिर्जना गर्दैछौं,’ उनले भने, ‘यस आर्थिक वर्षमा हामी धेरै आशावादी भएका छैनौं । सामान्य रुपमा व्यवसाय सञ्चालन गर्न सक्नु नै अहिलेको चुनौती हो ।’ गतवर्ष १२ लाखभन्दा बढी पर्यटकहरु पोखरा घुम्न आएको बोर्डको तथ्यांक छ ।

पर्यटन बोर्डको गाइडलाइनअनुसार अब बजार र व्यवसायलाई चलायमान बनाउनुपर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए । ‘पोखरामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले कोभिडका कारण आत्तिनुपर्ने अवस्था छैन । पोखराका पर्यटन व्यवसायीहरु व्यवसाय सञ्चालनका नियमबारे अपडेट भएर बसेका छन्,’ उनले भने । पोखराका हरेक क्षेत्रका व्यवसायीहरु कोभिडसँग जुध्नका लागि संयन्त्र बनाएर अघि बढेको उनको तर्क छ । ‘पोखरा प्राकृतिक, सांस्कृतिक रुपले धनी छ । त्यसैले पनि पर्यटकको पहिलो रोजाई पोखरा हुन्छ,’ उनले भने, ‘त्यसैले पनि यहाँको पर्यटन प्रवर्द्धनका लागि हामी जागरुक छौं ।’

कोरोना संक्रमणबाट पर्यटकहरुलाई जोगाउने र व्यवसायी आफू पनि जोगिनका लागि सजग रहेको उनले बताए । ‘पर्यटकहरुलाई ढुक्कसँग पोखरा घुम्ने वातावरण बनाएर हामी अगाडि बढ्नुपर्छ भनेर हाम्रा प्रतिष्ठानहरुलाई सुचारु गर्नका लागि होटलले होटलको प्रोटोकल, रेष्टुरेन्टले रेष्टुरेन्टको प्रोटोकल, पर्यटनसँग जोडिएका यातायातका साधनहरुले सोही अनुसारको प्रोटोकल र एडभेन्चर कार्य सञ्चालनमा आवद्धहरुले त्यसको प्रोटोकल पालना गर्न आवश्यक छ,’ उनले भने ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु