गृहपृष्ठ चैनपुर नगरपालिकाको पर्यटन विकासका लागि विज्ञ समूह गठन
चैनपुर नगरपालिकाको पर्यटन विकासका लागि विज्ञ समूह गठन

संखुवासभाको चैनपुर नगरपालिकाले नगर क्षेत्रकाे पर्यटन प्रवर्द्धनका लागि विज्ञ समूह गठन गरेको छ । इन्जिनियर निराकार श्रेष्ठको संयोजकत्वमा गठित ७ सदस्यीय समूहले चैनपुरकाे पर्यटन विकासका सम्भावना तथा रणनीतिक योजना निमार्ण गर्नेछ ।
विज्ञ समूहको सदस्यहरुमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, इतिहासविद डा. रमेश ढुंगेल, होटल एशोसिएशनका पूर्वअध्यक्षद्वय प्रकाश श्रेष्ठ र योगेन्द्र शाक्य, सम्पदाविद रविन्द्र पुरी र सदस्यसचिव इञ्जिनियर गुणराज श्रेष्ठ रहेका छन् । नगरपालिका क्षेत्रभित्र रहेका धार्मिक, सांस्कृति तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरी चैनपुरलाई प्रदेश नं. १ कै पर्यटकीय हबका रुपमा विकास गर्ने लक्ष्यका विज्ञ समूह गठन गरिएको मेयर भरतकुमार खत्रीले बताए ।
मेयर खत्रीका अनुसार समूहले चैनपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग आवश्यक समन्वय, सहकार्य र परामर्श गरी नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्नेछ ।
समूहले काम थालिसकेको संयोजक श्रेष्ठले जानकारी दिए । चैनपुर चौतारीका अध्यक्षसमेत रहेका श्रेष्ठको समूहले पटक-पटक स्थलगत अध्ययन भ्रमण गरी चैनपुरको विकासमा नवीनतम अवधारणा बनाउन नगरपालिकासँग गृहकार्य थालेको हो । ‘चैनपुरलाई ह्वाइट सिटी बनाउने अवधारणा बनाइएको छ । यसका साथै पर्यटकीय नगरका रुपमा चिनाउन हामीले काम सुरु गरिसकेका छौं,’ संयोजक श्रेष्ठले भने ।
ऐतिहासिक तथा पर्यकीय नगरका रुपमा चिनिएको चैनपुर बजार संखुवासभाको पुरानो सदरमुकाम हो । पृथ्वीनारायण शाहद्वारा एकीकरण हुनुअघि र पछि समेत व्यापारिक तथा सामरिक महत्व बोकेको चैनपुरमा पर्यटन विकासका लागि विज्ञ समूह गठन भएसँगै स्थानीयवासी उत्साहित बनेका छन् ।
प्रकाशित समय १७:३४ बजे