fbpx
corona information

गृहपृष्ठ मन्दिरै मन्दिरले भरिएको पिठातोला : जहाँ हरेक माडौँमा देउताको बास छ

मन्दिरै मन्दिरले भरिएको पिठातोला : जहाँ हरेक माडौँमा देउताको बास छ

मुलुककै अमूल्य सम्पदा बोकेको एउटा जिल्ला हो बझाङ । बझाङमा सयौं त्यस्ता तीर्थस्थल र पर्यटकीय स्थलहरू छन्, जहाँ पुग्दा हरेक मानिस नयाँपन महसुस गर्छ । बझाङमा एउटा सानो टोल छ, कान्छीगाउँ, जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।

खप्तडछान्ना गाउँपालिका ५ मा पर्ने पिठातोलाले कान्छीगाउँको उपमा पाएको हो । मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’जस्तो लाग्छ । आफैँमा पूर्ण लाग्छ । जताततै मन्दिरैमन्दिरको दृश्य देखेका काठमाडौँबासी पुग्दा, घरैघर तथा टोलटोलमा मन्दिर देखेर हुनसक्छ, पिठातोलालाई ‘कान्छी गाउँ’को उपमा दिन्छन् । कान्छी गाउँमा पाँचवटा माडौँ छन् ।

मष्टामाडौँ

मष्टामाडौँ (मन्दिर) पिठातोलाबासीका कुल देउता हुन् । यो मन्दिरमा जुनबेला पनि पूजाआजा हुने गर्छ । परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ-आफ्नो टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ । वर्षको २ पटक मन्दिरमै पुजिन्छ, हिउँद र वर्षायाममा । खासगरी नमाकी (नयाँ बालीको पूजाआजा) गरिने बेला कुलदेउता (मष्टामाडौँ)को पूजा गरिन्छ । नयाँ बाली भित्र्याएपछि त्यसको पूजा गरेरमात्र खाने चलनअनुसार कुलदेउता पूजा गरिने जानकारहरू बताउँछन् ।

वर्षको दुई पटकमात्र उत्पादन हुने पिठातोलामा हिउँदे खेती वैशाखमा पाक्ने गर्छ । त्यो बाली भित्र्याएपछि जेठ-असार वा साउनमा पूजा गरिन्छ भने वर्षायामको बाली धान/कोदो असोजमा भित्र्याइन्छ । त्यसको नमाकी फागुन-चैतमा पूजाआजा गरिन्छ र अन्न खान सुरु गरिन्छ ।

पिठातोलाको कुलदेउता ‘मष्टो’ सुरुमा बझाङकै साविकको कँडेल गाविसमा पर्ने बान्नीगढीतिर पूजाआजा गरिन्थ्यो । एकपटक पिठातोलाका पुर्खा (बाजे) वर्षायाममा साउनको महिना पुजपोखल (पूजा सामग्री) लिएर बान्नीगढी (मष्टामाडौँ भएको ठाउँतिर) जाने क्रममा खोलामा बगे । लगत्तै बान्नीमा काम्दै गरेका धामी एक्कासि रोकिए । त्यसपछि ‘के भयो परमेश्वर ?’ भनेर काम्दै गरेको स्थानीयले काम्दै गरेको धामीलाई प्रश्न गर्छन् । धामीले जवाफ दिन्छन्, ‘खुलीसाँटो पारीको टँगालो आयो, त्यसैलाई तराउन गयाँ (टाढाबाट पूजा गर्न आएको मान्छे खोलामा बग्यो, त्यसैलाई बचाउन गएको थिए) ।’ बगेको मान्छे (पिठातोलाका पुर्खा) पनि तैरिएर खोला पार गर्दै पूजा गर्न गए ।

उक्त मन्दिरमा नपुग्दै झाँक्रीको हातखुट्टाबाट एक्कासि पानी बग्यो । त्यहाँका स्थानीयलाई झाँक्रीले भने ‘अब एकछिनमा टंगालो पुग्छ ।’ झाँक्रीले नभन्दै पिठातोली त्यहाँ पुगे । एकैछिनमा झाँक्री र उनको वार्ता भयो ।

झाँक्रीले सोधे, ‘ए टंगालो आइपुगिस् ?’

उनले जवाफ दिए, ‘हजुर परमेश्वर आइपुगेँ ।’

अब ‘आज उप्रान्त तैँले उतै मष्टालाई पुजेर खानु’ भन्दै झाँक्रीले सिला ‘ढुंगा’ दिए र फिर्ता पठाए । त्यसपछि पिठातोलामा पनि मष्टो पुज्ने गरेको स्व. लक्ष्मीकान्त जोशीले भिडियो वार्तामा  बताएका थिए ।

खापरमाडौँ (मोटाकाटियाँ)

मोटाकाटियाँ मन्दिरमा परापूर्व कालदेखि पूजाआजा हुँदै आएको छ । स्थानीय बासिन्दाले आफ्नो सम्पत्ति वृद्धि हुने तथा सोचेका सबै कुरा पूरा हुने धार्मिक विश्वासले यो मन्दिरमा पूजा हुँदै आएको हो । पूजा नगरेको वर्ष बालीनाली पनि घट्ने गरेको स्थानीय बताउँछन् । जहाँ पूजा गर्दा खापर देउतालाई खुसी पार्न बाख्राका पाठापाठी बली चढाउने परम्परा छ ।

हरेक वर्ष भदौ-असोज र फागुन-चैतमा पुजिने खापरमाडौँमा पिठातोलाबासीमात्र होइन, छिमेकी गाउँबाट पनि शनिबार र मंगलबारको साइत निकालेर पूजाआजा गर्ने गरेको स्थानीय लीलाराम जोशीले बताए । उनले भने, ‘यो मन्दिरमा सामूहिक पूजा गरिन्छ । गाउँघरमा सबैले पूजा सामग्री जुटाएर खापरमाडौँ पुज्दै आएको किंम्बदन्ती छ ।’

यो मन्दिरमा अकासे पानीका लागि पनि जाग्राम बस्ने चलन छ । खडेरी परेका बेला ‘पानी परोस्’ भन्दै खापरमाडौँको आँगनमा स्थानीयबासी रातभर जाग्राम बस्छन् । चार‑पाँच दिन राति जाग्राम बसेपछि पानी पर्ने गरेको उनीहरू बताउँछन् । खापरमाडौँमा गाईभैंसी तथा अन्य सम्पत्ति बढ्दै जाउन् भन्नका लागि धवन ढोल्ने (गाई वा भैँसीको दूध खानुअगावै देउतालाई चढाउनु) गर्छन् । जसले गर्दा पशुहरुलाई रोग लाग्दैन, बढ्दै जान्छ भन्ने जनविश्वास छ ।

लाङ्गोमाडौँ

परापूर्व कालदेखि पुजिँदै आएको ‘लाङ्गो’ देउता चीन हुँदै भोट मानसरोवरबाट ल्याइएको हो । लाङ्गामाडौँ वर्षको दुईपटक भदौ र चैतको शुक्लपक्ष तिथिमा पुज्ने गरिन्छ । प्रायः मंगलबार र शनिबार पारेर पुजिने मन्दिर करिब तीन सय वर्षअघि भोटबाट ल्याइएको मानिन्छ ।

१२औं शताब्दीतिर पिठातोलाका जोशीहरु बझाङकै भागेखोला हुँदै पिठातोलामा बसाइँ सरेर आएपछि त्यो ठाउँमा विभिन्न देउताहरुको पूजाआजा गरिँदै आएको किंम्बदन्ती छ । करिब ‘तीन सय वर्ष’ पहिले ‘लाङ्गो’ देउता ‘खोलाबाडा’ टोलका जोशी परिवारकी हजुरआमा भोट भन्ने ठाउँबाट ‘गादो’ कपडामा बेरेर ल्याएको सिला (ढुंगा) पिठातोलामा देउता भन्दै पूजाआजा गरिँदै आएको जानकारहरु बताउँछन् ।

‘त्यो देउता ल्याएपछि दोस्रोपटक भोट (तिब्बत नजिकैको ठाउँ) मा जाने बेला धामी, पुजारी तथा भरियाको टोलीसँग आधा बाटोमा पुगेपछि कुकुरको बच्चा देखा पर्छ र त्यसै टोलीसँग हिँड्न थाल्छ । त्यो कुकुरलाई आफूबाट छुटाउन भोट जाने टोलीले धेरै प्रयास गर्छ तर सक्दैन । अन्त्यमा, नौरा (बझाङ सदरमुकामनजिकैको गाउँ) का स्थानीयलाई चार मोहोरमा बेच्छन् । त्यसपछि त्यो देउताले बेच्नेहरुलाई सराप दिएको हुँदा लाङ्गोलाई खुसी पार्न सधैँ पुजिँदै आएको स्थानीय लीलाराम जोशी बताउँछन् ।

दुदिरमाडौँ

यो मन्दिरलाई ‘न्यायको मन्दिर’ को उपमा दिने गरिन्छ । दोषीलाई सजाय र निर्दोषलाई न्याय दिने मन्दिरको रुपमा दुदिरमाडौँलाई पुजिँदै आएको हो । परापूर्वकालमा अन्यायमा परेकाहरु न्यायका लागि अदालती प्रक्रियाजस्तै त्यो मन्दिरमा न्याय खोज्न जाने गर्थे । न्यायको पक्षमा ‘दुदिर’ले फैसला गर्ने गरेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार दोषीले रातिको समयमा पुज्ने र निर्दोषले दिउँसो नै पुज्ने गर्छन् । यो मन्दिरमा पूजाआजा गर्न कुनै खास महिना-बार कुर्नु पर्दैन ।

दुदिर साविकको पाटादेवल गाविस ४ पुजारी गाउँनजिकैको सिंडिगाडको दुदिरमाडौँबाट ल्याइएको हो । पिठातोलाका पुर्खाले त्यो ठाउँबाट आउँदा पाल्तो (पानी पर्दा पानी छेक्ने छाता जस्तै रुखको बोक्रा र निगालोबाट बनाइएको वस्तु) मा जुका आएको भन्दै त्यसलाई खोलामा फाल्छन् । जुकोले दुदिरको रुप धारण गरी आफैं पिठातोलाका पुर्खालाई ‘तैँले मप्रति कुव्यवहार देखाइस्, छिमेकी भएर बस्छु’ भनेर पिठातोलाका घरको उत्तरतर्फ बसेको र त्यसबेलादेखि नै पिठातोलामा पुजिने गरेको हो ।

लाटामाडौँ

लाटामाडौँ मन्दिर खास गरी विवाह गरेर गएकी चेलीहरू पुग्ने गर्छन् । ‘यहाँ लाटो देउताबाट छोरीहरु टाढा हुँदा रिसाउने गर्छन् । त्यसलाई खुसी पार्नका लागि ठूलो खसीको बली चढाउनुपर्छ, त्यसपछि मात्र लाटो देउता खुसी हुन्छन्,’ स्थानीय सत्यराज जोशी भन्छन्, ‘जबसम्म छोरीबहिनीहरुले लाटो देउतालाई खुसी पार्दैनन्, तबसम्म उनीहरूको उन्नति हुँदैन भन्ने विश्वासका साथ पूजाआराधना गरिँदै आएको छ ।’

जानकारका अनुसार पिठातोलाबाट एक जना बिहे गरेर गएकी चेलीको घरमा जति लगानी गरे पनि बिग्रने, राम्रो गर्दा पनि नराम्रो हुने, रोगले ग्रसित भइरहने हुँदा आफ्नो नजिकको देउतालाई सोधेपछि लाटो देउतालाई नपुजेको कारण देखाएपछि उनले लाटो देउताको पूजा गरेर शान्ति प्राप्त गरेकी थिइन् । त्यसपछिका चेलीलाई पनि सोही समस्या दोहोरिन थालेपछि लाटो देउताको पूजाआजाले निरन्तरता पाएको हो ।

मन्दिरमा रातिको समयमा मात्र पुज्ने गरिन्छ । पूजाआजा गर्नेबेलाका सामग्रीहरु पनि घरमा फिर्ता ल्याउन नपाइने र पूजामा पकाइएका लाउन र मासु पनि उतै खाइसक्नुपर्ने हुन्छ । खान नसकेर घर ल्याएमा देउता रिसाउने जनविश्वास छ ।

पिठातोलामा माथि उल्लेख गरिएका मन्दिरमात्रै छैनन् । साना‑ठूला गरी अरु दर्जनौँ मन्दिर छन् । धार्मिक संस्कारअनुसार आस्थाका केन्द्र साना–ठूला मठमन्दिर टोलैपिच्छे भेटिन्छन् । धार्मिक गाउँको रुपमा चित्रण गरिएको पिठातोलामा बिहानको समयमा भजनकीर्तनले पुरै गाउँ गुञ्जायमान हुन्छ । बिहान ४ देखि ६ बजेसम्म आरती, शंखधुनलगायत पूजाआज प्रत्येक घरमा हुने गर्छ । धार्मिक संस्कारले बाँधिएको पिठातोला पुग्ने जो कोहीले पनि अनौठो महसुस गर्छन् ।

मन्दिरको नाममा लगानी गरेर आकर्षक बनाइएका मन्दिर भने छैनन् । स-साना मन्दिरमा त फूलपातीले सजाइएका छन् भने अलि ठूला मन्दिरहरुमा भने केही लगानी गरिएको छ । मठमन्दिर र पाटीपौवाले पिठातोलालाई शोभायमान बनाएको छ ।

प्रकाशित समय १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु