fbpx
corona information

गृहपृष्ठ फेवातालमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै, बेगनास र रुपा अझै सुनसान

फेवातालमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै, बेगनास र रुपा अझै सुनसान

कोरोनाभाइरस (कोभिड- १९) महामारीका कारण लागू गरिएको करिब ७ महिना लामो लकडाउनपछि असोज २ बाट फेवातालमा डुंगा सञ्चालनमा आयो । सुरुवाती दिनमा रित्ता डुंगाहरु तालमा तैरिरहेका हुन्थे । तर केही दिनयता फेवातालमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पोखरा आउने पर्यटकको विशेष रोजाइमा पर्ने गर्छ, फेवातालमा डुंगा सयर ।

विशेष गरेर दर्शन तथा पूजाआजा गर्नको लागि तालको बिचमा रहेको तालबाराही मन्दिरसम्म पुग्न भक्तजनहरु डुंगा सयर गर्थे । कोरोना कहरका कारण मन्दिर दर्शनमा रोक लगाइएको छ । तालबाराही मन्दिरलाई डुंगाबाटै भए पनि परिक्रमा गर्न पाउँदा फेवातालमा चहलपहल बढेको छ । अहिले दिनमा दुई सयको हाराहारीमा आन्तरिक पर्यटकले डुंगा सयर गर्ने फेवा डुंगा व्यवसायी समितिले जनाएको छ ।

कोरोना महामारी सुरु हुनुअघि झण्डै ८ सयको हाराहारीमा फेवातालमा डुंगा सञ्चालनमा रहेको थियो । यही संख्यामा डुंगा चालकले रोजगारी पाएका थिए । समितिका अनुसार यहाँ अहिले दैनिक ३५ वटा डुंगा सञ्चालनमा ल्याइएको छ ।

विगतका वर्षहरु जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनका लागि सबै पक्ष एकजुट भई सामूहिक प्रयास गर्न आवश्यक रहेको पोखराका पर्यटन व्यवसायीहरुको भनाइ छ । अन्य देशको तुलनामा नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिने सके मात्र पर्यटकहरुको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपाली बताउँछन् । ‘सरकारले ऋण लिएर डुंगा व्यवसाय गरिरहेकाहरुलाई सहुलियत दिन जरुरी छ । मन्दिर बन्द भए पनि डुंगा बन्द गर्दिनु भएन । यसो भयो भने मात्र पर्यटक बढ्नेछ । डुंगा व्यवसायी र मजदुरहरुले रोजगारी पाउँनेछन्,’ उनले भने ।

अहिले फेवामा डुंगा सयर गर्न आउने पर्यटकका लागि सुरक्षा सावधानीका मापदण्डहरु अनिवार्य गरिएको व्यवसायीहरुको भनाइ छ । उनीहरुका अनुसार डुंगा सयर गर्ने हरेकका लागि साबुन पानीले हात धुन र माक्स लगाउन अनिवार्य छ । त्यस्तै ज्वरो मापन र नाम, ठेगानाको समेत टिपोट राख्ने गरिएको छ । यसका साथै एकपटक प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई सेनिटाइज गरेर मात्र पुन: प्रयोगमा ल्याइने गरेको समितिले जनाएको छ ।

फेवातालमा बिस्तारै चहलपहल सुरु भए पनि पोखराका अन्य तालहरुमा भने पर्यटकीय गतिविधि शुन्य छ । मुख्य बजार क्षेत्रबाट केही टाढा रहेको बेगनास र रुपा तालमा डुंगा सञ्चालन भइनसकेको व्यवसायीहरुले बताएका छन् । एकान्त र शान्त स्थान रुचाउनेहरुको रोजाइमा पर्ने बेगनास र रुपा तालमा पनि बिस्तारै डुंगा सञ्चालन गरिने उनीहरुको भनाइ छ ।

प्रकाशित समय १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु