गृहपृष्ठ महामारीबीच जुर्मुराउँदै नेपालको पर्यटन

महामारीबीच जुर्मुराउँदै नेपालको पर्यटन

फाइल तस्बिर

कोभिडि–१९ महामारीले शिथिल पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो पर्वतारोहण महामारीबीच जुर्मुराउँदैछ । विदेशी विशिष्ठ पाहुना आरोहीको सुखद् आरोहणले नेपालको पर्यटन बजारमा सकारात्मक सञ्चार छाएको छ ।

अहिले हिमाल आरोहणले पर्यटन क्षेत्र चलायमान भएर पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव भएको छ । कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्ला ६ हजार ८१४ मिटर अमादब्लम हिमाल आरोहण गर्न १४ सदस्यीय टोलीसहित आमादब्लम आधार शिविर पुगेका छन् ।

टोलीमा ६ आरोही छन् । यस्तै ६ जना समूहको एक नेपाली टोलीले बरुत्से हिमाल आरोहण गरेको छ । ६ हजार १५१ मीटरको ग्लाल्जेन पीक र सात हजार १२६ मिटर उचाइको हिमलुङ हिमाल आरोहण गर्न दुई समूहले अनुमति लिएका छन् ।

यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किसकेको छ । विभागको पछिल्लो विवरणअनुसार शरद यामको आरोहण गर्न सात आरोही दललाई अनुमति दिइएको छ ।

आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रोयल्टी उठेको छ । यो याममा आरोहण अनुमति लिएकामा मनास्लुमा दुई, अमादब्लम दुई तथा बरुत्सेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् । आरोही नोभेम्बर महिनाभर आउने भएकाले शरद याममा १० देखि १२ समूूह पुग्ने विभागको अनुमान छ ।

विभागले पछिल्लोपटक हिमाल आरोहणलाई ४३ जनाको ‘अन अराइभल भिसा’ स्वीकृतिका लागि अध्यागमन विभागलाई सिफारिस गरेको छ । विभिन्न छ हिमाल आरोहणलाई चासो देखाएका विभिन्न देशका नागरिकका लागि विभागलाई सिफारिस गरिएको निर्देशक नीरा आचार्यले जानकारी दिइन ।

त्यसमा भारत, अमेरिका, बेलायत, क्यानडा, यूएई, रसिया, पोल्यान्ड, युक्रेनलगायतका नागरिक छन् । उनीहरु सात दिन होटल क्वारेन्टिनमा बसेर पिसिआर परीक्षण नेगेटिभ आएपछि आरोहणमा जान पाउँछन् ।

महामारीमा स्वदेशी, विदेशीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने विभागको पर्वतारोहण शाखा प्रमुख निर्देशक आचार्यले बताइन । यी आरोहणले आगामी वसन्त यामको आरोहणलाई आधार तयार भएको छ ।

‘अहिले विदेशी विशिष्ट पाहुनाको आरोहण भनेर जसरी सञ्चार माध्यममा आएको छ तर विभागलाई विदेशी मात्र हैन स्वदेशी आरोहीको आरोहण अझ महत्वपूर्ण र सन्देशमूलक छ, विभागले आरोहण अनुमति दिँदा विदेशी पाहुनालाई विशेष अनुमति भन्ने हुदैन, अन्य आरोही सरह अनुमति दिन्छौँ,’ निर्देशक आचार्यले भनिन् ।

गत वर्षको शरद याममा एक हजार २१० विदेशी हिमाल आरोहणलाई आएका थिए । सन् २०१९ मा दुई हजार २०० विदेशी आरोहण गर्न आएको बताइएको छ । सरकारले ट्रेकिङ तथा हिमाल आरोहण खुला गरेपछि भएका उच्चस्तरीय पर्यटक आगमनले कोरोनामा पनि विदेशमा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले उच्चपदस्थ विदेशीसहितको हिमाल आरोहणले नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वजगतलाई प्रवाह गर्न सहयोग पुगेको बताए । उहाँले छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्कर क्रमशः आर्थिक गतिविधि बढ्ने आशा व्यक्त गरे । सरकारले पनि पर्यटनका सबै क्षेत्र खुलाउने तयारी गरेको छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुलबहादुर गुरुङले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधिलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए भने टानका अध्यक्ष खुमबहादुर सुवेदीले पदयात्रा पर्यटनको अनुकूल याम भएकाले केही भए पनि पर्यटक आउन थालेकोले यो क्षेत्रलाई उत्साहित बनाएको धारणा राखे ।

नेपालमा सगरमाथासहित विभिन्न उचाइका तीन हजार ३१० हिमाल छन् । सरकारले हालसम्म ४१४ हिमाल आरोहणलाई खुला गरेको छ । (रासस)

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु