fbpx
corona information

गृहपृष्ठ कालो पोखरी : भ्रमण गर्न नसकिएको एउटा गन्तव्य (फोटो फिचरसहित)

कालो पोखरी : भ्रमण गर्न नसकिएको एउटा गन्तव्य (फोटो फिचरसहित)

नजिकै जट्टापोखरी र पाँच पोखरी छन् । दोलखाको जिरी नगरपालिका १ र रामेछापको गोकुलगंगा गाउँपालिका १ को सिमानामा रहेका यी पोखरीका बारेमा धेरैले जानकारी पनि पाएका छन् र भ्रमण पनि गरेका छन् ।

जट्टापोखरी र पाँच पोखरी विशेष गरी जनै पूर्णिमाको दिनमा ठूलो मेला भर्नका लागि वार्षिक १०औं हजार तीर्थालु पुग्छन् । तर, त्यसको पश्चिमपट्टि रहेको अर्को पोखरीको बारेमा धेरैलाई जानकारी नहुन सक्छ । सुन्नेहरुले पनि यसको भ्रमण गर्न सकेका छैनन् ।

गौरीशंकर गाउँपालिकाको पर्यटकीय गन्तव्यको खोजीका क्रममा कालो पोखरी अर्थात् भूतपोखरी फेलापरेको छ । गौरीशंकर गाउँपालिका ६ हुलाकबाट जटापोखरी, पाँचपोखरी हिँडेको गाउँपालिका अध्यक्ष खड्काको नेतृत्वको टोलीले पोखरी फेला पारेको हो । धार्मिक तथा पर्यटकीय रुपमा यो पोखरी अत्यन्तै महत्वपूर्ण हुने अध्यक्ष खड्काले बताए ।

जिरी नगरपालिका १ मा पर्ने पोखरी पाँचपोखरीभन्दा पश्चिमतिर करिब तीन घण्टाको यात्रामा नै पुग्न सकिन्छ । मार्बु, चंखुतिरबाट जाने सीमित यात्रु र चौरी र भेडा गोठालाहरुले मात्र देखेका त्यो पोखरी साँच्चै कालै देखिन्छ । जट्टा पोखरी जाँदा कालो पोखरी दर्शन गरेर जाँदा फर्कंदा हेर्नु हुँदैन भन्ने धार्मिक मान्यता रहेको गौरीशंकर गाउँपालिका नेकपाका अध्यक्ष जंग गुरुङले बताए ।

हरेक मौसममा हुस्सुले ढाकिराख्ने भएकाले पनि यसको दर्शन धेरैले गर्न पाएका छैनन् । कठिन भौगोलिक ठाउँमा भएको पनि यसलाई धेरैले देख्न पाएका छैनन् ।  लामो समय कुरेपछि झुलुक्क खुल्ने तर छिनमै हुसुले ढाकिहाल्ने विचित्रको पोखरी । त्यसमा पनि पोखरीका ठाउँ-ठाउँमा तारा जस्तै बत्ती सातवटा सम्म देखियो तर क्यामेराले कैद गर्न कठिन । तारा जस्तै बत्ती पनि पटक-पटक ठाउँ-ठाउँमा देखिने ।

स्थानीयले यस पोखरीलाई विभिन्न नामले चिन्ने गर्छन् । कसैले यसलाई भूत पोखरी भन्छन् । किनकि कहिलेकाहीँ भूतको आवाज निस्कने गर्छ यस पोखरीमा । कतिले कालो पोखरी पनि भन्छन् । माथिबाट नियाल्दा कालो नै देखिन्छ । कतिले यसलाई बौलाह पोखरीको नाम दिएका छन् । छिनछिनमा यसमा उत्तरचढाव आउँछ । कुनै पनि आवाज यसले सुन्न चाहँदैन । सानो आवाजमा पनि बादलले छोप्ने र सुनसानमा खुला हुने गर्छ ।

भाग्यमानीहरुले मात्र यस पोखरीमा तारा देख्ने स्थानीयको विश्वास रहेको विगतमा लामो समय यस क्षेत्रमा भेडा गोठ राखेका जेबी गुरुङले बताए । अहिले कतिपयले यसलाई तारा पोखरीले चिन्न थालेका छन् । साँच्चिकै यसमा तारा जस्तै बलेको देखिन्छ । म पनि भाग्यमानी  भएर हो कि खै के भएर हो तारा देखेँ ।

सुरुमा त बत्ती होला जस्तो लाग्यो । तर राम्ररी नियाल्दै जाँदा पूर्णिमाको रातभन्दा कम थिएन । तारा झलझली चम्किरहेको देखिन्थे । कतै रात पो प-यो कि भन्ने पनि लाग्यो । तर बादलले ढाक्दा पनि तारा प्रस्टै देखिन्थे । लस्करै ६-७ वटा तारा पोखरीको कुनामा चम्किरहेका थिए । क्यामेराले धेरै पटक कैद गर्न खोजेँ । बल्लतल्ल केहीमात्र कैद भयो । धेरै पटकको प्रयासपछि मात्र यति सानो भाग क्यामेरामा कैद भयो । मोबाइलमा त कैद गर्ने सम्भावना नै थिएन । कतिपय साथीहरुले नदेखेर दुःख मानिरहेका थिए । साथीहरुले ‘ऊ तारा’ भन्दा मलाई पनि सुरुमा विश्वास लागेन । तर, जब राम्ररी नियालेँ प्रस्टै देखिन्थे ताराहरु । कतै बत्तीको लाइन पो छ कि जस्तो पनि लाग्यो । होइन रहेछ । पछि बादलले ढाक्दा पनि बलिरहेको थियो ।

यहाँ पूजा गर्न टाढैबाट फूल अक्षता, त्रिशूल, भेटी चढाउँछन् । अहिले पनि प्रत्येक जनैपूर्णिमाको दिन मेला लाग्ने गर्छ यस पोखरीमा । पोखरीनजिकै कोही पनि दर्शन गर्न जाँदैनन् । यसको पहिला दर्शन गरेरमात्र पाँचपोखरी, जटापोखरीको दर्शन गर्ने धार्मिक विश्वास छ । घर फर्किंदा यस पोखरीपट्टि फर्केर पनि हेर्न हुँदैन भन्ने विश्वास छ । पोखरी ४ हजार ५ सय मिटर उचाइमा छ ।

गौरीशंकर गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्काले चंखुदेखि पाँचपोखरीसम्म जोड्ने पदमार्गलाई व्यवस्थित गरिने बताए । आकर्षक पदमार्गको रुपमा यो उपयुक्त भएकाले तत्कालै योजना बनाएर काम गरिने उनले जानकारी दिए ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना शिवालय इलाका कार्यालय प्रमुख राजेन्द्र यादवले जट्टापोखरी र पाँचपोखरी पुग्ने पर्यटकलाई कालोपोखरीसम्म जानका लागि प्रचारप्रसार गर्ने र त्यहाँसम्मको पदमार्ग व्यवस्थित गरिने बताए । जट्टापोखरीमा मेला भर्नका लागि जिरी नगरपालिकाको श्यामा र रामेछापको गर्जाङको बाटो हुँदै धेरै तीर्थालुहरु जाने गरेका छन् ।

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु