fbpx
corona information

गृहपृष्ठ गोठीकाँडा पैदलमार्गले ब्युँझाउँदै सुर्खेतको पर्यटन

गोठीकाँडा पैदलमार्गले ब्युँझाउँदै सुर्खेतको पर्यटन

कुनै समय गोठीकाँडा दैलेखी, अछामीलगायत जिल्लाका किसानको गोठ राख्ने ठाउँ थियो, हाट जाने हटारुहरूको मूल बाटो पनि । अहिले उक्त क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा चिनिन थालेको छ । आन्तरिक पर्यटक बढ्न थालेपछि कर्णाली प्रदेश र स्थानीय सरकारले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल थालेका छन् ।

वि.सं. २०२३ सालतिर वीरेन्द्रनगर नगरपालिकाको खोर्के लाइन हुँदै तत्कालीन गढी गाउँ पञ्चायत वडा नम्बर ४ हाल वीरेन्द्रनगर १४ गोठीकाँडामा निस्किने पैदल यात्रीहरूको लर्को हुन्थ्यो । हाट जाने हटारु, गोठीकाँडाबाट दोभान चौर (वीरेन्द्रनगरमा) खेती गर्न आउने किसान र गोठेरी राख्नेहरू त्यही बाटो भएर ओहोरदोहोर गर्थे । भोटबाट भोटेहरूसमेत त्यही बाटो भएर आवतजावत गर्थे ।

यो ठाउँमा अहिले कर्णाली प्रदेश सरकारले पैदलमार्ग निर्माण गर्दै छ । जुम्ला, हुम्ला, मुगु, कालिकोट र दैलेखीहरू नेपालगन्जलगायतका सहरमा किनमेल गर्न र पढ्नका लागि समेत जाँदा पैदल यात्रा गर्ने गोरेटो, प्रदेश सरकारको पहलमा पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ । यो गोरेटो २०५० सालतिर सुर्खेत–दैलेख सकडखण्ड निर्माण भएर सवारीसाधन सञ्चालनमा आएदेखि चहलपहलविहीन बनेको थियो ।

२०२३ सालपहिले सुर्खेतको सदरमुकाम रहेको गोठीकाँडामा मानव बस्ती भए पनि वीरेन्द्रनगर उपत्यका भने खेतीयोग्य जमिनका रुपमा प्रयोग हुने गरेको बूढापाका बताउँछन् । चौधरी बस्तीबाहेक औलो लाग्ने डरले त्यसबेला वीरेन्द्रनगरमा कोही पनि बस्दैनथे । खेती-किसानको काम सकेर कसैले गोरु यतै छोड्थे त कोही गोरु लिएर गोठीकाँडातिर बास बस्न जान्थे ।

भैरवस्थानदेखि गोठीकाँडासम्म करिब चार किलोमिटर पर्ने उक्त गोरेटोमा राज बिसौनी, साझ गोठेरी, गोरु गोठेरी, धर्मशाला, भड्डु घोप्टे र छेलो हान्ने जस्ता ठाउँका नाम छन् । ती नामले पनि आ-आफ्नै विशेषता बोकेका छन् ।

गोठीकाँडा नाम रहनुमा पनि छुट्टै कारण छ । दैलेख, अछामलगायत जिल्लाका पशुपालक किसानले त्यहाँ गाई-भैँसी, खसी-बाख्रा र भेडा ल्याएर गोठ राख्ने गरेकाले गोठीकाँडा नाम रहन गएको स्थानीय सुरेशकुमार (एसके) भट्ट बताउँछन् ।

गोठीकाँडामा रहेको सुर्खेत उपत्यका सदरमुकाम २०२४ सालमा वीरेन्द्रनगर नगरपालिका (दोभान चौर) मा सरेपछि २०२५ सालमा भट्टको परिवारसमेत वीरेन्द्रनगर बसाइँ सरी आएको थियो । औलोको डरले धेरैले वीरेन्द्रनगर बसाइँ सर्न डर माने पनि आफ्नो परिवारले आँट गरेको उनले बताए । ‘मेरो बुवा, हजुरआमा सबै शिक्षक हुनुहुन्थ्यो, शिक्षित परिवार भएकाले बुवा-हजुरबुवाले अलिकता हिम्मत जुटाउँदै समाजका लागि बाटो समेत देखाउनुभयो,’ ६० वर्षीय भट्टले भने ।

२०२९ सालमा वीरेन्द्रनगर नगरपालिका स्थापना भएपछि नगरको विस्तारै विकास हुन थालेको र गोठीकाँडासहित दैलेख, कालिकोटबाट मानिसहरू बसाई सरेर आउन थालेको उनले बताए । त्यस्तै २०३४ सालमा दैलेखको लेखतोलीबाट वीरेन्द्रनगर ४ भैरवस्थान खोर्केमा बसाइँ सरी आएका ७८ वर्षीय तिलाराम चालिसेले सुर्खेत-दैलेख सडकखण्ड सञ्चालनमा आएपछि उक्त गारेटो चहलपहलविहीन भएको स्मरण गरे ।

चालिसेको आँगनमै पैदलमार्ग पर्छ । झन्डै दुई दशकदेखि सुनसान भएको गोरेटो अहिले पैदलमार्गको रूपमा विकास भएपछि उनी दंग छन् । ‘दैलेखबाट बसाइँ सरेपछि धेरै हटारुलाई मैले भात खुवाएँ,’ उनले भने, ‘दैलेख, जुम्ला, हुम्ला र कालिकोटका मानिस यो बाटो हिँड्थे ।’ उनी वनको नजिक भैंसीपालन गर्न दैलेखबाट बसाइँ सरेर आएका हुन् ।

गोठीकाँडा, बयलकाँडा, राम्रीकाँडा र गढीको विशेषता

हालको वीरेन्द्रनगर १४ गोठीकाँडा दैलेख, अछामलगायतका भैँसीपालक किसानले गोठ राख्ने ठाउँ हो । यो क्षेत्र सुर्खेत उपत्यकाको नगरकोटसमेत भनेर चिनिन्छ । वीरेन्द्रनगरको गर्मी छल्न, चिसो मौसमको अनुभूति गर्न र वीरेन्द्रनगरको सुन्दर भ्याली नियाल्दै स्थानीय परिकार खान यो ठाउँ उपयुक्त मानिन्छ । बालबालिका, युवायुवतीदेखि जेष्ठ नागरिकहरूसमेत गोठीकाँडा घुम्न जाने भनेपछि हुरुक्कै हुन्छन् ।

गोठीकाँडाआसपासमै रहेको बयलकाँडाको आफ्नै विशेषता छ । सुदूरपश्चिमेली भाषामा बयल भनेको हावा हो, बढी हावा लाग्ने डाँडा भएकाले बयलकाँडा ठाउँको नाम रहेको स्थानीयवासी बताउँछन् । बयलकाँडामा गढ अर्थात् बान्नो छ, जसलाई गढी भनेर चिनिन्छ । बहादुर शाहको पालामा १८४८ सालमा बयलकाँडा गढी निर्माण गरिएको मानिन्छ । पाँच कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको बयलकाँडा गढी समुद्री सतहदेखि एक हजार पाँच २२ मिटर उचाइमा छ ।

गढी आफैँमा इतिहास बोकेको स्थल हो । नेपाल एकीकरणका समयमा दैलेख राज्य जित्ने क्रममा दैलेखसँगै सुर्खेतमा पनि गढी बनाइएको हुनसक्ने इतिहासकारहरूको अनुमान छ । त्यहाँ उत्खनन गरे केही ऐतिहासिक प्रमाण फेल पर्नसक्ने सम्भावना छ । स्थानीय बूढापाकाका अनुसार त्यस क्षेत्रमा पहिले वरिपरि ढुंगाको पर्खाल र सेनाले लुकेर गोली हान्न बनाइएका पर्खालमा प्वाल देखिने गरे पनि अहिले सबै पुरिँदै गएका छन् ।

बयलकाँडानजिकै रहेको राम्रीकाँडाको पनि आफ्नै इतिहास छ । राम्री भनेको राम-रमाइलो भन्ने अर्थ लाग्छ । पहिले राम्रीकाँडामा दसैँको कोजाग्रत पूर्णिमामा जात्रा लाग्ने गरेको स्थानीय एसके भट्टले जानकारी दिए । अहिले इतिहास मेटिँदै गएको उनको गुनासो छ ।

प्रदेश सरकारको प्रयास

वीरेन्द्रनगर नगरपालिकामा पर्ने गोठीकाँडा, बयलकाँडा, राम्रीकाँडा, मल्लकाँडा र गढी पर्यटकीय क्षेत्र हुन् । आ-आफ्नै इतिहास बोकेका यी ठाउँको संरक्षणमा प्रदेश तथा स्थानीय सरकार लागेको देखिन्छ ।

कर्णाली सरकारले गोठीकाँडा पैदलमार्ग निर्माण गर्दै छ । पुर्खाले हिँडेको गोरेटो अहिले पैदलमार्गको नाममा पर्यटकीय क्षेत्र बन्न लागेको हो । पैदलमार्गका लागि कर्णाली प्रदेशको पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा ८० लाख रूपैयाँ बजेट व्यवस्था गरेको थियो । सो रकमबाट डिभिजन वन कार्यालय सुर्खेतले करिब एक किमी पैदलमार्ग बनाएको प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार अहिले वीरेन्द्रनगर ४ खोर्केबाट पैदलमार्ग निर्माणको काम भएको छ । सोलिङ, ढलान, सिँढी र टायल राख्ने काम सकिएको छ भने रेलिङको काम बाँकी छ ।

उक्त पैदलमार्ग १.५ मिटर चौडाइमा निर्माण भएको उनले बताए । उक्त योजनालाई सरकारले क्रमागत योजनाअन्तर्गत राखेको छ । पैदलमार्ग छेडासम्म निर्माण गरिने र करिब ३५ सय मिटरभन्दा बढी लामो हुने उनले जानकारी दिए ।

पैदलमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंहले पैदलमार्ग निर्माणले सुर्खेतमा पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्ने बताए । निर्माणकै क्रममा रहेको पैदलमार्गमा हिजोआज बिहानको समयमा सय जनाभन्दा बढी आउने गरेको उनले जानकारी दिए । ‘पैदलमार्ग सम्पन्न भएपछि स्थानीयको व्यापार बढ्छ, सरकारलाई राजस्व र नागरिकलाई घुम्ने राम्रो स्थान बन्छ,’ उनले भने ।

गोठीकाँडा, बयलकाँडा, राम्रीकाँडा, मल्लाकाँडा र गढीको ऐतिहासिक महत्व बुझ्न र उक्त क्षेत्रबाट वीरेन्द्रनगर भ्यालीलगायत सुर्खेत जिल्लासँग जोडिएका अन्य रमणीय स्थानसमेत हेर्नका लागि पर्यटक आउने उनको ठम्याइ छ । यसका लागि उक्त क्षेत्रको ऐतिहासिक महत्वबारे जानकारी गराउनुपर्ने सिंहले बताए ।

सहिदको सम्झनामा पार्क

पैदलमार्ग निर्माण सुरु भएकै ठाउँमा प्रदेश सरकारले प्रादेशिक सहिद पार्क र बोटानिकल गार्डेन निर्माण गर्दै छ । वीरेन्द्रनगर ४ भैरवस्थानको भंगेरी चौरमा पर्यटन मन्त्रालयले विनियोजन गरेको बजेटमा वन तथा वातावरण निर्देशनालयले खर्च गर्नेगरी करिब १ करोड ५० लाखमा प्रादेशिक सहिद पार्क तथा बोटानिकल पार्क निर्माण गर्न लागिएको सहायक वन अधिकृत सूर्य शर्माले जानकारी दिए ।

बहुवर्षीय योजनाको उक्त पार्कको डिपिआरमा ८ करोड लागत भए पनि हालसम्म स्तम्भ, पोखरी, गार्डेन र पर्खाल र गेटमा गरी २ करोड २७ लाख रुपैयाँ खर्च भएको शर्माले जानकारी दिए । उनका अनुसार पार्क निर्माणको काम दुईवटा प्याकेजमा भइरहेको छ ।

पर्खाल र गेटको न्यु विशाल कन्ट्रक्सन वीरेन्द्रनगरले जिम्मा लिएको छ । एक करोड १२ लाखको टेन्डरमा ७७ लाखमा काम सम्पन्न गर्नुपर्ने ठेकेदार हेमकर्ण थापाले जानकारी दिए । उनका अनुसार ३३० मिटरको पर्खाल र गेट निर्माणको काम मंसिरसम्म काम सक्ने तयारी छ ।

सहिद पार्कमा स्तम्भ, पोखरी, गार्डेनलगायतका संरचनाको लागि अभियान निर्माण सेवा कालिकोटले जिम्मा लिएको छ । ठेकेदार रमेश मल्लले असार मसान्तसम्ममा काम सक्नेगरी जिम्मा पाएको भए पनि कोरोना संक्रमणको कारण काम नसकिएकाले कात्तिक मसान्तसम्म म्याद थप भएको जानकारी दिए । उनले उक्त कामका लागि १ करोड १३ लाख बजेटमा सम्झौता भएको बताए ।

पर्यटकीय स्थल बन्दै जिरो ड्याम

वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतको खोर्केखोलामा २०४५ सालमा सिँचाइ योजनाको बाँध बाँधिएको थियो । विगतमा उक्त क्षेत्रमा नजिकका पायक पर्नेहरू नुहाउन र पौडी खेल्न जाने गर्दै आए पनि उक्त बाँधमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । जिरो ड्यामका नामले परिचित उक्त क्षेत्र बन्दै गरेको प्रादेशिक सहिद पार्क र पैदलमार्गभन्दा एक किलोमिटर टाढा पर्छ ।

बाँधबाट झरेको पानी झरना जस्तै बन्ने भएकाले पर्यटक बढ्दै गएपछि पार्क र सार्वजनिक शौचालय निर्माण गरेको वडा नम्बर ४ का अध्यक्ष नीलकण्ठ खनालले जानकारी दिए । उनले मानिसहरु पहिले पनि आउने गरेको बताउँदै सामाजिक सञ्जालको प्रयोग बढेकोले जिरो ड्याम आउने पर्यटकसमेत बढेको बताए ।


२०१८ सालमा गोठीकाँडामा भएको संयुक्त आन्दोलन

सुरेशकुमार भट्ट

सुर्खेत जिल्लाको पुरानो सदरमुकाम साविकको गढी गाउँपञ्चायत (पछि गाउँ विकास समिति) वडा नम्बर ४ गोठीकाँडामा पर्थ्यो । त्यो समयमा वीरेन्द्रनगर चौहान चौरका नाममा चिनिएको थियो । तर, अहिले दोभानचौर भनेर पढ्न पाइन्छ, त्यो बिल्कुल गलत हो । भेरी र कर्णालीको दोभान भएकोले दोभानचौर भनिएको भन्ने तर्क गरिए पनि त्यो क्षेत्र सुर्खेतको पश्चिमी क्षेत्र कुइनेमा पर्छ ।

वि.सं. २०१८ सालमा त्यसबेलाका सरकारविरुद्ध कांग्रेस र कम्युनिस्ट पार्टीको सहभागितामा संयुक्त आन्दोलन भएको थियो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रद्वारा कलिलो प्रजातन्त्रको घाँटी निमोठिएपछि २०१८ सालमा कांग्रेसको नेतृत्वमा सुर्खेत जिल्ला सदरमुकाम गोठीकाँडामा सशस्त्र आक्रमण भयो । जमिनदारहरूको भागाभाग भयो । प्रशासनिक अड्डाहरू कब्जा भए ।

कम्युनिस्टबाट स्थानीय बासिन्दाको तर्फबाट आन्दोलनको अगुवाइ मेरा बुवा मदन शर्मा (भट्ट)ले गर्नुभएको थियो । बुवा पेसाले शिक्षक हुनुहुन्थ्यो । संगठनिक हिसाबले दैलेखका भवानीप्रसाद शर्माले आन्दोलनको अगुवाइ गर्नुभएको हो । वीरेन्द्रनगर उपत्यकाका जति पनि पुराना शिक्षित व्यक्तित्व हुनुहुन्छ, प्रायः मेरा बुवाले नै अध्यापन गराएकामध्ये हुनुहुन्छ ।

आन्दोलनका क्रममा लीलाधर गौतम, शशीलाल रानालगायत गिरफ्तार पर्नुभयो । तत्कालीन सरकारले गौतमलाई धेरै यातना दिएर खुट्टा भाँचिदिएको थियो । मेरो बुवा गिरफ्तार नपरी भाग्न सफल हुनुभयो । गोठीकाँडामा रहेको त्यो बेलाको शिलालेख आईजीपी कार्यालय सुर्खेतमा राखिएको छ । जनमावि पब्लिक हाइस्कुल पहिले गोठीकाँडामा थियो । पछि उपत्यका तल झरेसँगै विद्यालय पनि सरेको हो ।

अहिलेको भैरव माविसमेत मेरो हजुरआमा पूर्णावती भट्टले कन्या पाठशालाका नाममा स्थापना गर्नुभएको हो । गोठीकाँडामा भैरव मन्दिर थियो । माथिको बस्ती तल झरेपछि मन्दिर पनि यतै निर्माण भयो, त्यसैले उक्त क्षेत्रलाई भैरवस्थान भनिएको हो, त्यहाँ अहिले पनि भैरवको मन्दिर छ । प्रदेश सरकारले निर्माण गर्दै गरेको पैदल मार्गमा तिब्बतमा चीनले हस्तक्षेप गर्दा त्यहाँका धार्मिक नेता दलाइ लामाका अनुयायीसमेत यही मार्ग हुँदै आएको मैले बूढापाकाका मुखबाट सुनेको हुँ ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु