fbpx
corona information

गृहपृष्ठ सुदूरपश्चिमका चार जिल्लामा सुरु भयो उडान, स्थानीय भन्छन्, ‘अब बाटैमा मर्नु पर्दैन’

सुदूरपश्चिमका चार जिल्लामा सुरु भयो उडान, स्थानीय भन्छन्, ‘अब बाटैमा मर्नु पर्दैन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एकैदिन उद्घाटन गरेका सुदूरपश्चिमका तीन विमानस्थलबाट नियमित उडान सुरु भएको छ । अछामको साँफे विमानस्थल यसअघि नै उद्घाटन भइसकेकोमा बैतडी, बझाङ र डोटी विमानस्थल असोज १७ गते मन्त्री भट्टराईले उद्घाटन गरेका थिए ।

यससँगै सुदूरका चार पहाडी जिल्लामा समिट एयरले नियमित उडान भर्दै आएको छ । हवाई उडानले पहाडी जिल्लाका नागरिकको जीवनयापन सहज हुनुका साथै पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुन थालेपछि यहाँका नागरिक खुसी भएका छन् । एक दिन पुरै बसको यात्रा गरेर पहाडी जिल्लाका सदरमुकाम पुग्न सकिनेमा अहिले १८–२० मिनेटमै गन्तव्यमा पुगिने भएपछि उनीहरु उत्साहित भएका हुन् ।

अहिले धनगढीबाट बैतडी, बझाङ, डोटी र बाजुरा उडान भइरहेको छ । समिट एयरले यात्रु संख्याका आधारमा उडान भरिरहेको हो । पहाडी जिल्लामध्ये सबैभन्दा बढी यात्रु बझाङका लागि पाइन्छन् । यात्रु बढी भएकै कारण मंगलबार बझाङमा मात्रै समिट एयरले तीनवटा उडान भरेको छ ।

विमानको सुविधा भए पनि भाडादर बढी भएको उनीहरुको गुनासो छ । धनगढीबाट बझाङ जान विमानस्थल पुगेका ओमजंग शाही सधैँ बसको यात्राबाट १२ घण्टा लगाएर बझाङ जान्थे । यसपटक २२ मिनेटमै घर पुग्ने उनको चाहना पूरा हुँदै छ । सरकारले दुर्गम पहाडी जिल्लाहरुमा हवाई उडान सुरु गरेसँगै दैनिकी नै फेरिएको उनी बताउँछन् । तर, भाडादर महँगो भएकाले घटाउनुपर्ने उनले बताए । अहिले धनगढी-बझाङ पाँच हजार २४८, धनगढी-बैतडी चार हजार र धनगढी-डोटी तीन हजार दुई सय टिकट दर रहेको धनगढी विमानस्थलले जनाएको छ ।

बझाङका डा. विकास खड्का पनि धनगढी विमानस्थलमा भेटिए । २०६१ सालपछि पहिलो पटक बझाङका लागि हवाई उडान सुरु भएको भन्दै उनले खुसी व्यक्त गरे । उडान नियमित भए पहाडी जिल्लाको पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने उनको विश्वास छ । गाउँमा मान्छे बिरामी पर्दा बाटोमै मृत्यु भएका घटना सम्झिँदै उनले भने, ‘नियमित उडान भए अब बाटैमा कसैले मृत्युवरण गर्नु पर्दैन ।’

सुदूरपश्चिमका पहाडी जिल्लामा उडान हुन थालेपछि पर्यटन प्रवर्धनमा टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन् । दसैँतिहारमा मात्रै नभई वर्षैभर नियमित उडान हुनुपर्ने पर्यटन व्यवसायी किशोर खड्काको माग छ ।

धनगढी विमानस्थललाई आन्तरिक क्षेत्रीय विमानस्थलका रुपमा विकास गरी पहाडी जिल्लामा उडान थपिएको विमानस्थलले जनाएको छ । पूर्णरुपमा क्षेत्रीय विमानस्थल बनाउन थप जग्गा अधिग्रहण बाँकी रहेको विमानस्थल प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

सुदूरपश्चिमका चार विमानस्थल सञ्चालन भएपछि यहाँका नागरिकहरुमा चाडबाड आएजस्तै खुसियाली छाएको छ । बिरामीलाई समयमै अस्पताल पु¥याउनेदेखि छोटो समयमै आवतजावत गर्न सकिनेलगायतका काममा अहिले धेरै सहज भएको उनीहरु बताउँछन् ।

प्रकाशित समय २०:०७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु