fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ हिप्पी ट्रेल सम्झाउँदै ‘बस टु एभरेस्ट’

हिप्पी ट्रेल सम्झाउँदै ‘बस टु एभरेस्ट’

Bus to Everest_NewsKarobar

सन् १९६० र ७० को दशक, लन्डनबाट हिप्पी पर्यटकहरू बस चढेरै वा आफ्ना भक्सवागन भ्यानहरूमा लन्डनबाट विभिन्न देश हुँदै नेपाल आउँथे । तिनै विश्वयात्रीले भित्र्याएको पर्यटन संस्कृतिलाई फेरि जागृत गराइने भएको छ ।

लन्डनबाट काठमाडौँसम्म सञ्चालन गर्न लागिएको ‘बस टु एभरेस्ट’ परियोजनाले ६० को दशकको हिप्पी यात्राको स्मरण गराउने ट्रान्स सोलुसन नेपालका निर्देशक धर्मेन्द्र सापकोटाले बताए ।

‘यो हिप्पी ट्रेलको पुनर्जागरण त होइन, तर यसले बस यात्राबाटै नेपाल भ्रमण गर्न चाहने सोखिन पर्यटकका लागि नयाँ सम्भावना खोल्नेछ,’ बस टु एभरेस्ट सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सापकोटाले भने ।

उनका अनुसार लन्डनबाट युरोपका विभिन्न मुलुक हुँदै चीनको तिब्बतबाट ५४ दिनमा नेपालसम्म बस यात्रा हुनेछ । ‘बसले दैनिक ८ घण्टा यात्रा गर्नेछ भने बीचमा पर्ने मुलुक/सहरहरूमा पर्यटकलाई फाइभ स्टार स्तरका होटलमा बास बसाउने र सिटी टुर गराउने कार्यक्रम पनि राखेका छौँ,’ सापकोटाले भने ।

विश्व नै कोभिड-१९ को महामारीले प्रभावित भइरहेको र यसले पर्यटन उद्योगमा सबैभन्दा बढी नराम्रोसँग असर पारेको बेला ‘बस टु एभरेस्ट’ पर्यटन उद्योगलाई पुनर्जीवन दिन मद्दत पुग्ने नेपाल एजेन्सिज अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले विश्वास व्यक्त गरे ।

सापकोटाका अनुसार लन्डनदेखि काठमाडौँ रूटका यात्राका लागि करिब १६ हजार अमेरिकी डलर लागत पर्नेछ भने सबैभन्दा छोटो रूट कोरियाबाट काठमाडौँ रूटका लागि ६ हजार ५५१ डलर मूल्य तोकिएको छ ।

बस यात्राका क्रममा उज्बेकिस्तानको बुखारा, तास्कन्त, समरकन्ददेखि कजाकास्तानको क्यास्पियन सीसम्मको यात्रा र अवलोकन गर्न पाइने जनाइएको छ । यस्तै, लन्डन, मस्को, सिउल, पेरिस, बर्लिन, म्याड्रिड, जुरिक, फिनल्यान्ड, मिलान, प्राग, ब्रसेल्स, फ्यांकफर्टलगायतका युरोप र एसियाली सहरहरू यो यात्रामा जोडिने सापकोटाले बताए ।

ट्रान्स सोलसुन नेपाल र एभरेस्ट एडभेन्चर एन्ड इन्फोटेन्मेन्टले यी २२ भन्दा बढी देश र सहरका स्थानीय टुर्स एन्ड ट्राभल्ससँग सहकार्य गरेकाले बीच मार्गमा पर्ने देशहरूमा भिसाका समस्या नपर्ने उनको भनाइ थियो ।

उनका अनुसार यो बस यात्राको तालिका लन्डन-काठमाडौँमात्र नभइ नेपालबाट पनि बसमै लन्डनसम्म जाने मिल्ने गरी बनाइएको छ ।

सन् २०२१ को अप्रिलबाट सुरु हुने यो बस यात्रा प्रत्येक वर्ष ४-४ महिनामात्र सञ्चालन हुने उनको भनाइ थियो । ‘माैसमका कारण अप्रिलबाट सुरु हुने यात्रा जुन ३१ सम्ममात्र सञ्चालन गरिनेछ,’ सापकोटाले भने ।

उनले विद्यमान विश्व स्वास्थ महामारीका बेला तोकिएका सबै स्वास्थ्य प्रोटोकलहरूमा पालना गरेरमात्र यो यात्रा सञ्चालन गरिने बताए ।

नेपालसम्म आइपुगेका पर्यटकलाई सगरमाथा बेसक्यापसम्मको अनुभवका लागि ‘एभरेस्ट एक्स्पेरियन्स माउन्टेन फ्लाइट’ मा सहभागी गराइने र नाटाका सहयोगमा ट्रेकिङ वा अन्य स्थानीय पर्यटन गन्तव्यमा जान चाहने पर्यटकका लागि सोहीअनुसारका अतिरिक्त प्याकेजमा सहभागी गराइने कम्पनीका मिडिया कोअर्डिनेटर डम्बर साहुले बताए ।

यसले युरोप र एसियाको पर्यटनलाई जोड्ने विश्वास पर्यटन व्यवसायीले व्यक्त गरेका छन् ।

 

 

 

 

प्रकाशित समय १४:४१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु