गृहपृष्ठ सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

कोभिड- १९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका- ९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिए ।

कोरोनासँग सधैँ त्रासमा रहेरभन्दा पनि यसबाट जोगिएर कसरी अगाडि बढ्ने भन्ने सोच्नुपर्ने भएकाले क्यानोनिङ सुरू गरिएकाे सञ्चालक गुरूङले बताए । “सुस्ताएको पर्यटनलाई अब विस्तारै गति दिएर आर्थिक चलायमान गराउनुको विकल्प छैन, त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर क्यानोनिङ खुला गरिएको हो,’ उनले भने ।

उनले लामो समय एउटै दिनचर्यामा भएका आन्तरिक पर्यटक जो साहसिक खेलमा रुचि राख्छन् उनीहरुको चाहानालाई मध्यनजर गरेर क्यानोनिङ खुला गरेको जानकारी दिए । क्यानोनिङका लागि आवश्यक उपकरण र स्वास्थ्य सामग्री मास्क स्यानीटाइजरको प्रबन्ध गरेर पूर्ण सुरक्षित वातावरणमा क्यानोनिङ गराइने उनको भनाइ छ ।

पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् । साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन् । उनीहरुलाई ‘बिगनर’ र ‘प्रोफेशनल’ गरेर छुट्याइन्छ र झरनामा पानीमा मस्त रमाउन वातावरण तयार गरिन्छ ।

पहिलोपटक गर्न चाहानेका लागि प्रारम्भिक रुपमा डेमो देखाउने, सिकाउने प्रबन्धसमेत गरिएको छ । त्यसका लागि सात जना गाइड तैनाथ अवस्थामा रहन्छन् । गुरुङका अनुसार कोभिड- १९ अघि वार्षिक तीन हजार जनाले क्यानोनिङको अनुभव लिने गरेका छन् ।

क्यानोनिङका लागि तीन तहका प्याकेज छन्, क्यानोनिङ मात्र, ‘डे ट्रिप’ र ‘ओभर नाइट ट्रिप’ गरेर दुई हजार ४०० देखि चार हजार ९०० रूपैयाँसम्म शुल्क तोकिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११० नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहसिक पर्यटकीय गन्तव्यलाई समेत सूचीकृत गरेको छ । (रासस)

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु