fbpx
corona information

गृहपृष्ठ कोरोनाका कारण होटल क्षेत्रले गुमायो ७ अर्ब, ७ लाख कर्मचारी ४ महिना कामविहीन

कोरोनाका कारण होटल क्षेत्रले गुमायो ७ अर्ब, ७ लाख कर्मचारी ४ महिना कामविहीन

विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड १९)का कारण तहसनहस भएका आर्थिक क्षेत्रहरु लामो समयपछि चलायमान हुन खोज्दैछन् । लकडाउनबाट खुला गरी आर्थिक क्षेत्रलाई स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने सरकारको रणनीतिअनुसार बिहीबार (साउन १५) देखि होटलहरु सञ्चालनमा आउने भएका छन् ।

कोभिडका कारण चैत ११ बाट बन्द भएका होटल तथा रेस्टुराँहरु सञ्चालनमा ल्याउन लागिएको होटल एसोसिएसन नेपाल (हान)का उपाध्यक्ष विनायक शाहले बताए । ‘कोभिड १९ का कारण तहसनहस भएका क्षेत्रलाई थोरै भए पनि उकास्न होटल सञ्चालन गर्न लागेका हौं । स्वास्थ्य मापदण्ड पूरा गरेर कर्मचारीलाई परिचालन गरेका छौं,’ उनले भने ।

उपाध्यक्ष शाहका अनुसार आवश्यकताअनुसार मात्र होटल सञ्चालन हुनेछन् । ‘एयरपोर्ट होटल पनि अहिले १० प्रतिशत सञ्चालन गरेका छौं । एयरपोर्ट नजिकै हुँदा पर्यटक आउनसक्ने अनुमानका साथ कर्मचारीलाई पनि तालिम दिएर होटल सञ्चालन गर्ने तयारी गरेका हौं । त्यो पनि आंशिक मात्रै,’ उनले भने ।

लामो समयको लकडाउनका कारण साना तथा मझौला होटलहरुमा पनि आर्थिक क्षति धेरै नै भएको उनले बताए । ‘ठूलो लगानीमा सञ्चालनमा ल्याएका तारे होटल त तहसनहस नै भएका छन्,’ शाह भन्छन्, ‘बैंकको ब्याज तिर्न सक्ने अवस्था छैन । लकडाउन खुले पनि पूरै होटल खोल्न सक्ने अवस्था छैन । अब निरन्तर अन्तर्राष्ट्रिय उडान भएमात्र केही सहज हुनसक्छ ।’

अहिले एकतर्फ कोरोनाको त्रास फैलिरहेको छ भने अर्कोतर्फ आर्थिक मन्दीले देशको अर्थतन्त्र वर्षौंपछाडि धकेलिँदै आएको छ । लकडाउन हटेपछि सामान्य आर्थिक गतिविधि चलायमान होला तर जमघट बढ्दा कोरोना फैलिने आशंका उत्तिकै भइरहेको छ । हानकी अध्यक्ष सिर्जना राणा अहिले विश्वकै अर्थतन्त्र तहसनहस भएको बताउँछन् । ‘यस्तो अवस्थामा नेपाल अछुतो रहने भन्ने हुँदैन,’ उनी भन्छिन्, ‘यो वर्षभरि नै कोरोनाको त्रास जीवितै रहन पनि सक्छ ।’

चार महिनाको लकडाउनले मात्रै पनि होटल क्षेत्रले अर्बौंको घाटा व्यहोरिसकेको छ । त्यसको दीर्घकालीन प्रभाव त छँदै छ । दीर्घकालीन नोक्सानी हिसाब अहिल्यै निकाल्न नसकिने राणाले बताइन् । ‘घाटा कम गर्नका लागि पनि निजी क्षेत्र सञ्चालन गर्नैपर्छ,’ उनले भनिन्, ‘कर्मचारीलाई तालिम दिएर स्वास्थ्य मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्ने तयारीमा छौँ ।’

साउन ५ गतेको मन्त्रिपरिषद निर्णयले साउन १५ देखि पर्यटन, ट्रेकिङ, ट्राभल तथा पर्वतारोहण पनि खुला गर्ने निर्णय गरिसकेको छ । त्यस्तै भदौ १ गतेबाट लामो दूरीको सार्वजनिक यातायात पनि सञ्चालनमा आउनेछन् । भदौ १ देखि विद्यार्थी भर्ना, परीक्षा र शैक्षिक गतिविधि, आन्तरिक र बाह्य व्यावसायिक हवाई उडानसहित खुला गर्ने निर्णय सरकारले गरेको छ ।

चार महिनामै तहसनहस होटल क्षेत्र

हानका अनुसार चार महिनामै करिब साढे सात अर्बको नोक्सानी होटल क्षेत्रले व्यहोरेका छन् । करिब १६ खर्ब लगानी रहेको होटल क्षेत्र चार महिनामै धराशयी भएको अध्यक्ष सिर्जना राणाले बताइन् । ‘होटल क्षेत्रमा देशभर सात लाख हाराहारीमा कर्मचारी छन्,’ उनले भनिन्, ‘कोभिड १९ का कारण लगानीकर्ता, कर्मचारी सबैको अवस्था पीडादायी भएको छ ।’

मुलुकको अर्थतन्त्रमा २५ प्रतिशत विदेशी मुद्रा आर्जन गर्ने होटल क्षेत्र यस पटक मुख्य सिजनमा लकडाउनमा परेकाले नराम्ररी प्रभावित अध्यक्ष राणाले बताइन् । ‘लकडाउनपछि प्रतिमहिना एक अर्ब ८० करोड घाटा व्यहोर्दै आएका छौं ।’

होटल तथा पर्यटन क्षेत्रमा सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन गरिएको तयारी त्यसै खेर गएको उनको भनाइ छ । सन् २०२० मा नेपालले २० लाख वार्षिक पर्यटक भित्र्याउने लक्ष्यसहित नेपालले भ्रमण वर्ष घोषणा गरेको थियो । नेपालले धुमधामका साथ भ्रमण वर्ष घोषणा गरेको अघिल्लो दिन डिसेम्बर ३१ तारिखमा चीनको वुहान प्रान्तबाट सल्किएको कोभिड १९ को आगो विश्वभर फैलिएसँगै भ्रमण वर्ष रद्द गर्नुपरेको थियो ।

यी हुन् सुविधा सम्पन्न पाँच तारे होटल

नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदै गर्दा कुन होटलले कति सुविधा दिनसक्छ भन्ने निकै चर्चा चलेको थियो । तर, कोरोनाले दुई महिना पनि चल्न दिएन । अहिले नेपालमा पर्यटन विभागबाट १५ वटा होटलले पाँच तारे होटलको प्रमाण पत्र लिएका छन् । काठमाडौं ताहाचलमा रहेको होटल सोल्टी, पोखरामा रहेको द फूलबारी, बौद्धमा रहेको तारागाउँ रिजेन्सी ह्यात होटल, दरबारमार्गमा रहेको याक एन्ड यति र अन्नपूर्ण होटल छन् ।

त्यस्तै लाजिम्पाटमा रहेको होटल सांग्रिला, ठमेलमा रहेको द मल्ल होटल, पोखरामा रहेको पोखरा ग्रान्ड, लाजिम्पाटमा रहेको होटल ओरियन्टल र्‍याडिसन होटल, नयाँ बानेश्वरमा रहेको द होटल एभरेस्ट इन्टरनेसनल, रुपन्देहीमा रहेको टाइगर वान तिलोत्तमा, नेपालगन्जमा रहेको सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट, बाँकेको कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजा, नक्सालमा रहेको मेरियट र ठमेलमा रहेको छायाँदेवी कम्पलेक्स (होटल अलफ्ट) पाँच तारे हुन् ।

प्रकाशित समय १३:३७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु