fbpx
corona information

गृहपृष्ठ जामुनवारी सामुदायिक वनलाई प्रदेश सरकारको १ करोड सहयोग

जामुनवारी सामुदायिक वनलाई प्रदेश सरकारको १ करोड सहयोग

झापाको कनकाई नगरपालिकामा रहेको जामुनवारी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदेश १ सरकारले करिब सवा करोड रूपैयाँ सहयोग गरेको छ । असुरक्षित वन्यजन्तुको उद्धार गरी जामुनखाडी सिमसारलाई खुला प्राणी उद्यान केन्द्रका रुपमा विकास गर्न प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९७ लाख ५० हजार रूपैयाँ सहयोग गरेको हो ।

पर्यटन मन्त्रालयले प्रदेशभरका सबै सामुदायिक वनलाई जेठ १ गते १५ दिने सूचना जारी गरी खुला प्राणी उद्यान (चिडियाखाना) स्थापना कार्यक्रमका लागि प्रस्ताव माग गरेको थियो । सोही कार्यक्रमका लागि प्रस्ताव पेस गरेकामध्येबाट जामुनवारी सामुदायिक वन छनोट भएको अध्यक्ष ख्यामराज सिटौलाले जानकारी दिए । ‘कार्यक्रमका लागि सामुदायिक वनले छुट्याएको १९ लाख ५० हजार रुपैयाँ गरी १ करोड १७ लाख खर्च हुनेछ,’ उनले भने, ‘यो रकम चिडियाखाना व्यवस्थापन, बाटो, वन्यजन्तुका लागि खुला स्थान निर्माणमा खर्च हुनेछ ।’

जामुनवारी सामुदायिक वन उपभोक्ता समूहले प्रवर्धन गरेको जामुनखाडी सिमसार अवलोकनका लागि नेपालका विभिन्न जिल्ला र भारतका पश्चिम बंगाल, बिहारलगायतका ठाउँबाट पनि पर्यटकहरू दृयावलोकन र मनोरञ्जनका लागि आउने गरेका छन् । यही सामुदायिक वनको सिको गरेर अहिले पूर्वका १९-२० सामुदायिक वनले पार्क बनाएर सञ्चालनमा ल्याएका छन् । सामुदायिक वनले अहिले फरक किसिमले पर्यटक आकर्षित गर्न स्टिमर चलाउने तयारी गरिरहेको छ । सामुदायिक वनका अध्यक्ष सिटौला लकडाउनका कारण केही ढिलाइ भए पनि स्टिमर चाँडै ल्याइने बताउँछन् । ‘कम्तीमा एउटा स्टिमर असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ,’ उनले भने ।

करिब ४० हेक्टरमा रहेको जामुनखाडी सिमसार क्षेत्रमा लोपोन्मुख वन्यजन्तु हेर्न, बोटिङमा सयर गर्न तथा बाल उद्यानमा रमाउन पर्यटक आउने गर्छन् । हाल बर्सेनि तीन लाखभन्दा बढी पर्यटक आउने सिमसारले पर्यटन शुल्कबाट तीन करोड रूपैयाँ आम्दानी गर्ने गरेको छ ।

२०५२ सालमा स्थापना भएको जामुनवारी सामुदायिक वन उपभोक्ता समूह ४३४ हेक्टरमा फैलिएको छ । सामुदायिक वनभित्रको सिमसार जमिनमा पोखरी बनाएर २०६५ सालदेखि पार्कसहित पर्यटकका लागि खुला गरिएको हो । सिमसार क्षेत्रमै निर्माण गरिएको चिडियाखानामा हरिण, मृग, लोखर्के, अजिंगर, बाँदर, ढेडु, भालु, चितुवा, बनढाडेलगायतका जनावर र चराहरु छन् ।

फाइल तस्बिरहरु ।

प्रकाशित समय १४:१४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु