fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ नेपाल आउने पर्यटक १२ लाख पुग्यो

नेपाल आउने पर्यटक १२ लाख पुग्यो

Tourism_NewsKarobar

देशले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइरहँदा भ्रमण वर्षको पूर्वसन्ध्यामा गत वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका छन्, यो अघिल्लो वर्षभन्दा केबल २ दशमलव ५ प्रतिशतको वृद्धि हो ।

सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । गत वर्ष कम्तिमा १२ लाख २५ हजार पर्यटकले नेपाल भ्रमण गर्ने अपेक्षा गरिएकोमा आशा गरेभन्दा कम पर्यटक आएका हुन् ।

पर्यटक आगमनको यो तथ्यांकले यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न निकै मेहनत गर्नुपर्ने संकेत दिएको छ । नेपाल भ्रमण वर्षबारे अन्तर्राष्ट्रिय स्रोत गन्तव्यहरूमा कमजोर प्रचारप्रचार र स्वदेशभित्रका पर्यटन गन्तव्यहरूमा कमजोर पूर्वाधारले पर्यटक बढाउने लक्ष्य पूरा नहुने देखिएको हो ।

भ्रमण वर्षको मुख्य तयारी गर्ने निकाय नेपाल पर्यटन बोर्डमा अझै प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति हुन सकेको छैन । सरकारको ‘भित्री चासो’का कारण बोर्ड सञ्चालक समितिले सीइओ नियुक्त गर्न नसकेको बोर्डकै सदस्यले फेसबुकमा लेखेका छन् ।

गत वर्ष सन् २०१९ मा हवाई मार्गबाट ९ लाख ९५ हजार ८८४ जना र स्थलमार्गबाट २ लाख १ हजार ३०७ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।

भारतीय नै पहिलो नम्बरमा

गत वर्ष पनि संख्यात्मक आधारमा भारतीय पर्यटक नै पहिलो नम्बरमा परेका छन् । विभागका अनुसार गत वर्ष २ लाख ५४ हजार १५० जना भारतीय पर्यटकले नेपाल भ्रमण गरे । यो सन् २०१८ भन्दा ३० प्रतिशतको वृद्धि हो ।

सन् २०१८ मा १ लाख ९४ हजार ३२३ जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा हवाई माध्यमबाट मात्र २ लाख ३२ हजार २९७ जना भारतीय पर्यटक आएका छन् । स्थलमार्गबाट ठूलो संख्यामा भारतीय पर्यटक नेपाल आउने गरे पनि निकै सानो संख्यामात्र अध्यागमनको विवरणमा अभिलेखित हुने गरेको छ ।

भारतीयपछि दोस्रो नम्बरमा चिनियाँ पर्यटक छन् । सन् २०१९ मा १ लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सन् २०१८ भन्दा १० दशमलव ३५ प्रतिशतले बढी हो । उक्त वर्ष १ लाख ५३ हजार १३३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस्तै, तेस्रो नम्बरमा अमेरिकी पर्यटक छन्, गत वर्ष ९३ हजार २१८ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका छन् भने चौथो नम्बरमा बेलायती पर्यटक छन् ।

गत वर्ष ६१ हजार १४४ जना बेलायती पर्यटकले नेपाल भ्रमण गरे । यो सन् २०१८ भन्दा ३ दशमलव ६५ प्रतिशत कम हो ।

पाँचौ नम्बरमा रहेको श्रीलंका र छैठौं नम्बरमा रहेको थाइल्यान्डका पर्यटकहरू पनि अघिल्लो वर्षभन्दा घटेका छन् । गत वर्ष श्रीलंकाबाट ५५ हजार ८६९ जना पर्यटक आए भने थाइल्यान्डबाट ४१ हजार ६४३ जनामात्र आएका छन् ।

यस्तै, सातौं नम्बरमा रहेको अष्ट्रेलियाबाट आउने पर्यटकको संख्यामा झिनो वृद्धि देखिए पनि जर्मनी, म्यानमार र फ्रान्सबाट आउने पर्यटक घटेका छन् ।

प्रकाशित समय १८:०४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु