fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ वाह ! आँखैअगाडि हिमाल, हिमालै-हिमाल

वाह ! आँखैअगाडि हिमाल, हिमालै-हिमाल

वाह ! आँखैअगाडि कति राम्रो हिमाल । चाँदीझैँ टल्कने हिमालअगाडि हिमाल । दायाँ–बाँया हिमालै-हिमाल । यो अन्यत्र होइन, काठमाडौंबाट ४ घण्टापछि पुगिने कालिञ्चोक-विगू पदमार्गबाट देखिने दृश्य हो ।

कालिञ्चोक मन्दिरदेखि डाँडैडाँडा हिँडेर विगूको ठिङ्साङ्ला पुग्न सकिन्छ । दोलखा र सिन्धुपाल्चोकको सिमाना यो पदयात्राको रुट कायम गरिएको छ । दायाँबायाँ हिमालै हिमालको अवलोकन, तलतिर दोलखा र सिन्धुपाल्चोकका गाउँहरुको दृश्य र विभिन्न प्रजातिका रुख र जडिबुटीले यात्रा झनै रोचक बनाउने विगू गाउँकार्यपालिका सदस्य पासाङ शेर्पाले बताए ।

कालिञ्चोक आन्तरिक तथा वाह्य पर्यटकका लागि रोजाइको गन्तव्य हो । दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमिटरको सडक यात्रापछि कालिञ्चोक पुग्न सकिन्छ । कालिञ्चोकको कुरीमा सुविधा सम्पन्न ६० वटाभन्दा बढी होटल छन् । कालिञ्चोकमा सिजनको बेला एकै दिन १० हजार बढी पर्यटक पुग्छन् । कुरीदेखि कालिञ्चोक मन्दिर डाँडासम्म पुग्न केबलकारको समेत व्यवस्था छ ।

कालिञ्चोक अहिले हिउँले सेताम्मे छ । यो बेला कठिन यात्रा गरेर भए पनि धार्मिक दर्शन, दृश्यावलोकन र हिउँ खेल्नका लागि दैनिक हजारौं आन्तरिक पर्यटकहरु पुगिरहेका छन् । कालिञ्चोकदेखि विगू ७ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । यति छोटो यात्रामा डाँफे, मुनाल, मृग, नाउर, घोरलजस्ता उच्च लेकाली जंगल जनावर देख्न सकिन्छ । चौरी र भेडाको बथानसँग खेल्न सकिन्छ ।

गाडीको धुँवा-धुलोबाट केही समय टाढा बसेर प्रकृतिसँग रमाउनेहरुका लागि यो पदमार्ग सबैभन्दा उचित हुने विगू गाउँपालिकाको कार्यपालिका सदस्य शेर्पाको भनाइ छ । जताततै सडक निर्माणले पुराना पदमार्गहरु समेत बिग्रदै गएपछि पैदल यात्रा गर्नेहरुका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले कालिञ्चोकदेखि विगूसम्मको पदमार्गको स्तरोन्नति गर्न लागेको हो ।

विगू पनि पर्यटकका लागि महत्वपूर्ण गन्तव्य हो । तर सडक व्यवस्थापन राम्रो नहुँदा विगूमा कालिञ्चोकमा जति पर्यटक पुग्दैनन् । सिन्धुपाल्चोकको बाह्रबिसे र दोलखाको सिंगटीबाट ग्रामीण सडक जोडिएको छ । बौद्धमार्गीहरुका लागि विगू महत्वपूर्ण ठाउँ रहेको विगूका स्थानीय घ्याम्सो शेर्पाले बताए ।

त्यही विगू र कालिञ्चोक जोड्नका लागि पदमार्गको खोजी भएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए । ‘पदमार्गको प्रारम्भिक सर्भे भइसकेको छ, स्थानीयले प्रयोग गर्ने पुरानो बाटो रहेछ,’ उनले भने, ‘अब यसलाई व्यवस्थित गरेर सुचारु गर्ने योजना छ ।’ आयोजनाले ठाउँ ठाउँमा पर्यटक सूचनासम्बन्धी सांकेतिक बोर्ड, विश्राम स्थल र होटलको व्यवस्थापन गर्ने उनले बताए ।

कालिञ्चोकदेखि ठिङ्साङ्लासम्म ८ किलोमिटर दुरी छ । यो दुरी पार गर्न ५ देखि ७ घण्टा लाग्छ । केही उकालो ओरालो मात्र गर्दा सजिलै यो यात्रा पूरा गर्न सकिने संरक्षण क्षेत्र व्यवस्थापन समिति कालिञ्चोकका अध्यक्ष कृष्ण पाख्रिनले बताए । यो पदमार्गका आधा बाटो बनेको छ । हिलेको पहिरो जोखिम भएकाले त्यसलाई रुट परिवर्तन गरेर व्यवस्थापन गर्न सकिन्छ ।

कालिञ्चोक मन्दिर ३ हजार ८४१ मिटरको उचाइमा रहेको छ भने ठिङ्साङ्लाको ३ हजार ३ सय १० मिटर रहेको संरक्षण क्षेत्र आयोजनाका रेञ्जर शंकर थामीले बताए । यो रुटमा बाटैभरी चौरी र भेडा गोठ र खर्क प्रशस्त रहेकाले पर्यटकहरुले त्यसको पनि अवलोकन गर्न सकिने बताए । ठूलो मैदान रहेको ठिङ्साङ्लामा स्थानीयले ताल बनाउने योजनासमेत अघि सारेका छन् ।

यो रुट खुले कालिञ्चोक आएका पर्यटक विगूसम्म ल्याउन र विगू आएकालाई कालिञ्चोक लैजान सहज हुने स्थानीयको अनुमान छ । यसले पर्यटकहरुको बसाइ लम्ब्याउनसमेत सहज हुन्छ । पर्यटन वर्ष २०२० को अवरसरमा पर्यटकीय गन्तव्यहरुको विकास र विस्तार गर्नका लागि संरक्षण क्षेत्रले यो वर्ष ‘पर्यटन वर्ष विशेष कार्यक्रम’ सञ्चालन गर्न लागेको आयोजना प्रमुख साहले जानकारी दिए ।

यो पदमार्गमा पैदल यात्रासहित माउन्टेन साइकल यात्रा र मोटरसाइकल साहसिक खेलका लागिसमेत सहज हुनेगरी मार्ग बनाउने गरी अध्ययन भइरहेको अध्ययन टोलीमा रहेका रेञ्जर थामीले बताए । काठमाडौंबाट ४ देखि ५ घण्टाको गाडीको यात्रापछि पुग्न सकिन्छ । यो पदमार्ग उत्कृष्ट पदमार्गभित्र पर्नसक्ने व्यवसायीहरुको दाबी छ । स्थानीयले ठिङ्साङलामा ताल बनाउने गरी अध्ययन भइरहेको छ ।

प्रकाशित समय १७:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु