fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ भारतीय पर्यटक आकर्षित गर्न सकिने सुदूरपश्चिमका १४ पर्यटकीय गन्तव्य

भारतीय पर्यटक आकर्षित गर्न सकिने सुदूरपश्चिमका १४ पर्यटकीय गन्तव्य

कैलाली र कञ्चनपुरमा प्रशस्त पर्यटकीय सम्भावना

kailai-kanchanpur tourism destinations

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै छ । अंग्रेजी नयाँ वर्षको दिन गत बुधबार सरकारले विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्दै भव्य रुपमा भ्रमण वर्षको उद्घाटन गरेको छ । प्रदेश सरकारहरुले पनि भ्रमण वर्षको उद्घाटन गरे । भ्रमण वर्षमा पर्यटक भित्र्याउन निजी क्षेत्रहरुले समेत विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् । यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले पनि भ्रमण वर्षलाई लक्षित गर्दै ९ वटै जिल्ला समेटेर प्रवर्द्धनात्मक कार्यक्रमहरु तय गरेको छ ।

भारतसँगको सीमावर्ती दक्षिणी जिल्लाहरु कैलाली र कञ्चनपुरमा प्रशस्त पर्यटकीय सम्भावना रहेको छ । यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको उचित प्रचारप्रसार र प्रवर्द्धन गर्नसके भारतीय पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । भाैगोलिक हिसाबले पनि नजिक तथा भारततर्फ जनघनत्व बढी भएकाले पनि कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रहरू भारतीय पर्यटकका लागि पहिलो रोजाइमा पर्न सक्छन् ।

कैलाली

तत्कालीन सेती अञ्चलमा पर्ने कैलाली जिल्लामा पर्यटनको प्रशस्त सम्भावनाहरु रहेको छ । जिल्ला सदरमुकाम धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी पनि हो । धनगढी-काठमाडौं ६ सय ७५ किमि सडक यात्रा पूरा गर्न १२ घन्टा लाग्छ  । १ घन्टा १० मिनेटमा काठमाडौं-धनगढी हवाई यात्रा पनि गर्न सकिन्छ  । कैलालीमा विभिन्न पर्यटकीय गन्तव्यहरु रहेका छन् ।

घोडाघोडी ताल

कैलाली जिल्लामा अवस्थित घोडाघोडी ताल सुदूरपश्चिमकै एक रमणीय पर्यटकीय गन्तव्य हो । यो ताल घोडाघोडी नगरपालिकाअन्तर्गत वनबहेडा र सुखड बीचको जंगल क्षेत्रमा रहेको छ । पूर्व-पश्चिम राजमार्गनजिक रहेको यो तालको विषयमा पौराणिक ग्रन्थहरुमा समेत उल्लेख गरिएको छ ।

योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिह्नहरू पत्ता लगाएर यो ताल महाभारत कालभन्दा पनि पहिले नै एक पवित्र तीर्थस्थल थियो भन्ने सावित गरेका थिए । यो तालको इतिहास थारू समुदायसँग गाँसिएको छ । स्थानीय किंवदन्तीअनुसार यो ताल थारू जातिको बसोबास रहेको सातवटा गाउँ डुबेर बनेको मानिन्छ । मानिसको हत्केला आकारमा रहेको यस ताल दृश्यावलोकनका लागि निकै आकर्षक छ ।

बेहडाबाबा मन्दिर

धनगढी उपमहानगरपालिका- १७ मा पर्ने बेहडाबाबा धामको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । प्राचीनकालमा अहिलेकोे बेहडाबाबा धाम रहेको जंगल क्षेत्रमा भारतका एक ग्वाला (गोठाला)ले आफ्नो एउटा गाईले नियमित रुपमा दूधको धारा भूइँमा खसाउने गरेको देखेका थिए । यसको कारण पत्ता लगाउँदै जाँदा उक्त स्थानमा शिवलिंग फेला पारेपछि त्यसै समयदेखि नै त्यस क्षेत्रमा बेहडाबाबा मन्दिर निर्माण गरी पूजा अर्चना गरिँदै आएको हो भन्ने किंवदन्ती छ ।

गोदावरी धाम

कैलालीको गोदावरी नगरपालिकामा अवस्थित अत्तरिया बजारदेखि ७ किलोमिटरको दुरीमा रहेको गोदावरी धाम नेपालकै पर्यटकीय क्षेत्रमध्ये एक हो । गोदावरीलाई सुदुरपश्चिमको प्रवेशद्वारका रुपमा पनि लिइन्छ । यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिभराउ छ । गोदावरीको माथिल्लो क्षेत्र पहाड र तल्लो क्षेत्रमा तराइ रहेको छ । यहाँ विभिन्न मठमन्दिर शक्तिपीठहरु, हनुमानको नेपालकै अग्लो मूर्ति छ । यहाँ हरेक वर्ष कुम्भ र महाशिवरात्री मेला लाग्ने गर्दछ ।

कर्णाली पुल

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानी भन्ने स्थानमा कर्णाली नदीमाथि बनेको यो पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो । यो पुलले सुदुरपश्चिमलाई नेपालको अन्य भागसँग जोड्छ । ५ सय मिटर लामो तथा १० मिटर चौडा यो पुलको निर्माण सन् १९९३ मा पूरा भएको हो । बीचको खम्बाको एक भागतिर ३२५ मिटर छ भने अर्को भागतिर १७५ मिटर छ । यसको निर्माणमा ३ हजार ८ सय ७० टन स्टिल प्रयोग गरिएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो ।

चिसापानीको सीमासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुल हेर्नको लागि यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । चिसापानी क्षेत्र पिकनिक स्थलको रूपमा पनि परिचित छ । नेपालको तराई भूभागमध्ये सबैभन्दा बढी हावा चल्ने ठाउँ हो चिसापानी । यहाँ भिडियो छायाँकन, र्‍याफ्टिङ गर्नेहरुको आगामन बढ्दो छ ।

टीकापुर पार्क

टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो । कैलालीको टीकापुर नगरपालिकाको दक्षिण–पूर्वमा अवस्थित यो पार्कलाई टीकापुर वृहत उद्यानको नामले पनि चिनिन्छ । तत्कालीन राजा महेन्द्रको पालामा निर्मित यस पार्कको वास्तविक नाम बंगला हो । यो पार्कमा कुनै बेला राजामहाराजाहरु आउने र बस्ने गर्दथे ।

जाखौर ताल

प्राकृतिक सौन्दर्यमा रमाएको जाखौर ताल धनगढी बजारदेखि ५ किलोमिटर पूर्व देवरिया- ७ मा अवस्थित छ । समुद्र सतहबाट १ सय ५० मिटर उचाईमा रहेको यो तालको पूर्व, पश्चिम र उत्तरमा घनाजंगल छ । जंगलमा विभिन्न दुर्लभ वन्यजन्तु पाइन्छ । यसका साथै विभिन्न प्रजातिका माछाहरु, जलेवा, सुईरोठुडे, जलकौवा, सेतो सानो बकुल्ला, भुँडीफोर, काप्रे चरा, माछा खाने बाँज, चखेवाजस्ता चराहरु पनि तालमा देख्न सकिन्छ ।

तालभित्रै नेपालकै सबैभन्दा ठूलो देवरिया वनस्पति उद्यान, १ सय २२ प्रजातिका वनस्पति, जडीबुटी प्रदर्शनी स्थल, चुरे प्रदर्शनी प्लट अवस्थित छन् । १२.५ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालबाट २ सय मिटरको दुरीमा मुरफट्टी र मुरफट्टा दुईवटा तालहरु छन् । गोदावरी चुरे पहाडको काखमा अवस्थित जैविक विविधतायुक्त यो ताल धार्मिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । तालको किनारमा जाखौर बाबाको मन्दिर पनि छ । जुन स्थानमा जाखौर बाबाले तपस्या गरेको किंवदन्ती प्रचलित छ ।

शिवपुरी धाम

शिवपुरीधाममा १ सय ८ फिट अग्लो ज्योतिलिंग छ । शिवपुरीधाम नयाँ संरचना हो । मुक्तिनाथधाम बुटवलका सन्त लोकानन्द महाराजको परिकल्पनामा बनाइएको शिवपुरी उत्तररामेश्वरम् ज्योतिलिंगधाम २.५ विगाह क्षेत्रफलमा फैलिएको छ । त्यस वरपर २९ हेक्टर धार्मिक वन छ । धनगढीको शिवपुरीधाममा तुलसीका १ सय ८ मठ, १ सय ८ गौमुखी धारा, नेपाल माताको मन्दिर र यज्ञ मण्डप बनाइएको छ । साथै सूर्यनारायण, मुक्तिनाथ, गणेश, उग्रतारा आदिका मन्दिर, शिवकुण्ड, विष्णुकुण्ड र खप्तडकुण्ड छन् । धामको गुरुयोजना पुरा गर्न १२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

कञ्चनपुर

तत्कालीन महाकाली अञ्चलमा पर्ने कञ्चनपुर नेपालको सबैभन्दा पश्चिमको तराई जिल्ला हो । कञ्चनपुरको प्रमुख आर्थिक र व्यापारिक क्षेत्र महेन्द्रनगर हो । यहाँ पनि घुम्नै पर्ने आकर्षक पर्यटकीय स्थलहरू प्रशस्त छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रख्यात छ । दिउँसो ३ बजेभित्र आरक्ष प्रवेश गरेर घाम नडुब्दै बाहिरिनुपर्छ । निकुञ्जभित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाक गर्न पाइन्छ । निकुञ्जभित्र सानाठूला धेरै फाँट छन् । हिरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउ हात्तीसार रहेको छ । जहाँ हात्ती चढ्न पाइन्छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र तालमा ताराताल, रानी ताल, बठनिया ताल, बाउन्ने ताल, शिकारीताल, सलगौडी ताल र बाबा ताल लगायतका आधा दर्जनभन्दा बढी ताल छन् ।

शुक्लाफाँटा आरक्षको कुल ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमध्ये १० प्रतिशत सिमसार क्षेत्र छ । १० हेक्टर क्षेत्रमा फैलिएको ताराताल चरासँगै मगर गोहीको वासस्थान पनि हो । काठमाडौँ-महेन्द्रनगर ७ सय किमी १८ घण्टाको बस यात्रा तथा काठमाडौँ-धनगढी १ घण्टा हवाई यात्रापश्चात् धनगढी-महेन्द्रनगर ५७ किलोमिटरको दुरी तय गर्नुपर्छ । धनगढीबाट महेन्द्रनगरका लागि सार्वजनिक यातायातका साधनहरू पाइन्छन् । महेन्द्रनगर बजारबाट निकुञ्जका लागि साना सवारीसाधनहरू भाडामा लिएर जान सकिन्छ ।

लिंगा

बेतकोट नगरपालिकामा रहेको लिंगा पुग्न दैजीबाट करिब ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ । शिवलिंगको स्वरूपजस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरू यहाँ जाने गरेका छन् । बाह्रै महिना पर्यटक आउने लिंगामा फागुनमा शिवरात्रि र असोजमा नवरात्री मेला लाग्ने गर्छ । लिंगाबाट करिब ६ किलोमिटर उत्तरतर्फ गयौँ भने बेतकोट तालको अवलोकन गर्न सकिन्छ ।

बेतकोट ताल

बेतकोटमा पिकनिक खान आउनेहरूको पनि भीड हुन्छ । पर्यटकहरु अटो रिजर्भ गरेर कञ्चनपुरको दैजीबाट उत्तरतर्फ पर्ने बेतकोट र लिंगाको अवलोकन गर्न जाने गर्छन् । कञ्चनपुरमा पर्ने लिंगा र बेतकोट ताल पुग्न धनगढीबाट डेढ सय रुपैयाँ भाडा लाग्छ ।

दोधारा चाँदनी

महाकाली नदीमाथि बनेको दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामोमध्येमा पर्ने झोलुंगे पुल हो । यसले नेपाल पारिका दोधारा र चाँदनीलाई जोडेको छ । यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । यहाँ पुलको अवलोकन गर्ने र पिकनिक मनाउन आउने पर्यटकहरूको भीड हुन्छ । गर्मी मौसममा महाकाली छेउको चिसो हावाको आनन्द लिन पनि आन्तरिक पर्यटकहरू त्यहाँ जाने गर्छन् ।

भम्केनी धाम

भम्केनी धाम कञ्चनपुरको भीमदत्त नगरपालिका- ८ मा पर्छ । यो क्षेत्र प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गएको छ । यातायातको सुविधा पुगेपश्चात् भम्केनी धाम क्षेत्रमा धार्मिक आस्था बोकेर दर्शनार्थीहरु जाने गर्दछन् । आन्तरिक पर्यटकहरूको समेत यहाँ घुइँचो हुन्छ । भम्केनी धाम क्षेत्रमा अष्ट धातुबाट नेपाल आमा नामक ७५ मिटर लामो मूर्ति निर्माण भइरहेको छ ।

सिद्धबाबा मन्दिर

सिद्ध बाबाको मन्दिरमा पूर्णागिरिको दर्शन गरी आउने भारतीय धार्मिक पर्यटकको पनि घुइँचो लाग्छ । मन्दिरमा भारतको उत्तर प्रदेश, उत्तराखण्ड र बिहारलगायत विभिन्न ठाउँबाट समेत तीर्थयात्रीहरू यहाँ आउने गर्छन् । यो बाहेक कञ्चनपुरमा विष्णु मन्दिर, बैजनाथ मन्दिर, कलपटे मन्दिर, ब्रह्मदेव मन्दिर लगायतका मन्दिर रहेका छन् ।

झिलमिला ताल

झिलमिला ताल समुन्द्र सतहबाट ६८० मिटर उचाइमा रहेको छ । यो ताल धार्मिक पर्यटनको महत्वपूर्ण स्थल हो । तालमा पूजा अर्चनाका लागि भारतीय भक्तजनसमेत आउने गरेका छन् । चुरे पहाडमा रहेको ताल सदरमुकाम महेन्द्रनगरदेखि करिब २५ किलोमिटरको दुरीमा पर्छ । १ किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको उक्त ताल पहाडको बीचमा अवस्थित छ । वर्षाताका आउने बाढी पहिरोका कारण तालको अस्तित्व संकटमा छ । घामको किरण परेपछि पानीको रङ परिवर्तन हुने झिलमिलामा पूजाअर्चना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित समय १३:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु