fbpx
Rashifal Ad

गृहपृष्ठ फेवाताल संरक्षणका लागि होटल संघको एक लाख

फेवाताल संरक्षणका लागि होटल संघको एक लाख

Hotel Sangh newskarobar

पश्चिमाञ्चल होटल संघ पोखराले फेवातालको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रलाई लक्षित गरी गठित फेवा वाटरसेड इकोसिस्टम म्यानेजमेन्ट बोर्डलाई बुधबार एक लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । पोखराको लेकसाइडमा आयोजित बोर्डको बैठकका अवसरमा संघका अध्यक्ष एवं वोर्डका कोषाध्यक्ष विकल तुलाचनले बोर्डका संयोजक पुण्यप्रसाद पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मण सुवेदी, कोषाध्यक्ष पार्वती पाण्डे र सचिवालय प्रमुख रामप्रसाद खनालको पनि उपस्थिति थियो । वातावरण संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संघले विगतमा पनि विभिन्न काम र गतिविधि सञ्चालन गर्दै आएको र आर्थिक सहयोगसमेत प्रदान गरेको संघका अध्यक्ष तुलाचनले बताए । यसअघि पनि संघले दुई पटक गरेर दुई लाख १ हजार १११ रुपैयाँ ताल संरक्षणका लागि बोर्डलाई प्रदान गरिसकेको छ ।

तालको उपल्लो तटीय क्षेत्रको संरक्षण भए फेवा तालको संरक्षणमा पनि ठूलो टेवा पुग्ने अवधारणाअनुसार तीन वर्षअघि बोर्डको स्थापना भएको थियो । कार्यक्रममा बोर्डका संयोजक पौडेलले डब्लु डब्लु एफ– हरियो वन र पोखरा महानगरपालिका तथा स्थानीय बासिन्दा तथा संस्थासँग सहकार्य गर्दै बोर्डले संरक्षणका काम गर्दै आएको बताए । गत वर्ष मात्रै २१ लाख रुपैयाँ हाराहारीको काम सम्पन्न गरिएको उनले जनाए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यो आर्थिक वर्षमा काम गर्ने गरी फेवातालको मुहानका रुपमा रहेका खोलाहरुमा पाँच चेक ड्याम निर्माण गर्ने योजना रहेको संयोजक पौडेलले बताए । यसका लागि बोर्डले ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बोर्डले यो वर्ष जलकुम्भी झार तालबाट हटाउने योजनालाई प्राथमिकता दिने उनले बताए । उपल्लो तटीय क्षेत्रमा होमस्टे सञ्चालन, अम्रिसो, कफीलगायतको खेती र आयआर्जनका काम सञ्चालन गरी संरक्षणमा टेवा दिने योजनासमेत बोर्डले बनाएको छ ।

प्रकाशित समय २०:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु