fbpx
Nepal Mediciti

गृहपृष्ठ पर्यटकीय क्षेत्रमा चहलपहल

पर्यटकीय क्षेत्रमा चहलपहल

maulakalika mandir_news karobar

बडादसैंसँगै जिल्लामा रहेका पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । दसैंको अवसरमा हुने बिदाका कारण नवलपुरमा रहेका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । चाडपर्वसँगै परिवारसहित घुमफिर गर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै जाँदा अहिले जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल देखिएको छ । अन्य समयमा प्रायः सुनसानजस्ता देखिने पर्यटकीय क्षेत्रमासमेत अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ ।

नवलपरासी पूर्व नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरमस्थलमा पर्यटकको चाप बढेको छ । नवलपरासी पूर्व नवलपुरका गैँडाकोटमा रहेको मौलाकालिका, दाउन्नेमा रहेको दाउन्ने देवी, सिजी शाश्वतधाम, नारायणी तटीय क्षेत्र, त्रिवेणी धाम, लोसेधार, पोखरीताल लगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चाप बढेको छ ।

जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रमध्येको एक मौलाकालिकामा अहिले अन्य समयमा भन्दा दोब्बर आन्तरिक पर्यटक दर्शन गर्न र घुम्नका लागि आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

दाउन्नेको दाउन्ने मन्दिरमा अहिले दैनिक एक हजारभन्दा धेरै आन्तरिक पर्यटक दर्शनका लागि पुग्ने गरेका छन् । देवचुली नगरपालिकामा रहेको शाश्वतधाममा अन्य स्थानमा भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

सिजीका जनसम्पर्क अधिकृत रामचन्द्र धितालका अनुसार बडादसैं शुरु भएसँगै शाश्वतधाम घुम्न आउने पर्यटको सङ्ख्या दैनिक पाँच हजारको हाराहारीमा रहेको छ । राजमार्गसँगै जोडिएको र आकर्षक मन्दिरसहितको स्थल भएकाले शाश्वतधाममा दैनिकजसो सयौँको सङ्ख्याका आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । अन्यसमेतको तुलनामा अहिले शाश्वतधाममा आउने पर्यटकको सङ्ख्या उलेख्य रुपमा वृद्धि भएको जनसम्पर्क अधिकृत धितालले बताए।

जिल्लाकै अर्को महत्वपूर्ण धार्मिकस्थल त्रिवेणीधाममा समेत सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यहाँ नवलपरासीसहित चितवन, रुपन्देही, कपिलवस्तुलगायत आसपासका जिल्ला र भारतबाट पर्यटक आउने क्रम अन्य समयको तुलनामा बढेको छ ।

नवलपरासीको अमलटारी हुँदै जङ्गल सफारीमा आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत अहिले बढेको अमलटारी घरबासका व्यवस्थापक धनीराम गुरौले बताए । यी क्षेत्रसँगै रुद्रपुरगढी, पोखरी ताल, महाराज थान, बालीघाटलगायतका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । (रासस)

प्रकाशित समय १३:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु