fbpx
Rashifal Ad

गृहपृष्ठ कालीगण्डकीमा जलयात्रा सुरु

कालीगण्डकीमा जलयात्रा सुरु

निरन्तरको वर्षाका कारण झन्डै एक महिना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) सुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि सुरु भएको हो ।

कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झन्डै एक महिना ढिलो गरी जलयात्रा सुरु भएको हो । निरन्तरको वर्षा नरोकिएका कारण बुधबारबाट पहिलो समूह र्‍याफ्टिङ गर्न आएको छ । एक महिना ढिलो गरी जलयात्रा सुरु भएकाले धेरै पर्यटकले जलयात्रा गर्न नपाउने अवस्था रहेको स्विसा र्‍याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेसनका प्रबन्ध निर्देशक देव रेग्मीले बताए ।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए ।  एक याममा कम्तीमा पनि दुईदेखि तीन हजार पर्यटकले जलयात्रा गर्दै आएका छन् । यो याममा वर्षा, बाढी, पहिरो नरोकिएका कारण सेप्टेम्बरको सुरुमै बुक गरेका धेरै पर्यटकले र्‍याफ्टिङ रद्द गरिसकेका रेग्मीले बताउनुभयो । कालीगण्डकीमा १० भन्दा धेरै कम्पनीले र्‍याफ्टिङ सञ्चालन गर्दै आएका छन् ।

कुश्मा नगरपालिका-१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखि सुरु हुने र्‍याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुंगिन्छ । तीन दिन लाग्ने उक्त जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्छन् ।

यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । नयाँपुल-मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजीक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटक यात्रा तय गर्ने गरेका छन् ।

यात्राका क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र नगरपालिकाको आर्मादी नजीकै खोलाको बीचमा रहेका ठूला ढुंगा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाइड नवीन केसीले बताए । (रासस)

प्रकाशित समय १२:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु