fbpx
Nepal Mediciti

गृहपृष्ठ तिरुपतिको पाँच महिनाको आम्दानी डेढ अर्ब नगद र ५२४ किलो सुन

तिरुपतिको पाँच महिनाको आम्दानी डेढ अर्ब नगद र ५२४ किलो सुन

तिरुपतिमा कपाल बेचेरै ७ करोड आम्दानी, नेपालमा मन्दिरका हिसाब नै अपारदर्शी

tirupati-temple-india-newskarobar

भारतको प्रख्यात मन्दिर तिरुपतिमा दानले नयाँ कीर्तिमान बनाएको छ । तिरुमाला तिरुपति देवस्थानम् ट्रस्टका अनुसार यो वर्ष अप्रिलदेखि अगस्तसम्मको पाँच महिनामा मन्दिरलाई सर्वाधिक दान प्राप्त भएको छ । मन्दिरको नगद कोषमा १ अर्ब ४० करोड (भारु) रुपैयाँ जम्मा भएको छ भने सुन र चाँदी पनि गत वर्षका तुलनामा तीन गुणा बढेको छ ।

भारतीय अनलाइन दैनिक भास्करले तिरुमाला तिरुपति देवस्थानम् ट्रस्टका एक्जिक्युटिभ अफिसर तथा आइएएस अफिसर अनिलकुमार सिंघलाई उद्धृत गर्दै २०१८ अप्रिलदेखि अगस्तबीच १ अर्ब १४ करोड (भारु) रुपैयाँ नगद, ३४४ किलो सुन र १ हजार १२८ किलो चाँदी दानस्वरूप जम्मा भएको जनाएको हो ।

सन् २०१९ मा यो आंकडा आश्चर्यजनक रुपमा बढेको छ । भारतमा यस वर्ष सर्वाधिक आम्दानी गर्ने मन्दिरमा श्री तिरुमाला तिरुपति देवस्थानम् नै हुनेछन् । ‘मन्दिर ट्रस्ट यस कुरालाई लिएर निकै उत्साहित भएको छ,’ सिंघले भनेका छन्, ‘मन्दिरप्रति मानिसको आस्था बढी छ ।’

मन्दिरमा चढाइएको दान राशि अनेकौं च्यारिटी र कल्याण कार्यमा लगाइँदै आएको छ । यसमा श्रद्धालु दर्शनार्थीका लागि सुविधा, अन्नदान र मन्दिरको विकास जस्ता कार्य समावेश छन् । अनेकौं सामाजिक सरोकारमा पनि ट्रस्ट सहभागी छ ।

मन्दिर ट्रस्टले ५ सेप्टेम्बरमा १७ हजार २ सय किलो कपाल ७ करोड ६२ (भारु) रुपैयाँमा लिलाम गरेको थियो । लिलामीपूर्व कपालको वर्गीकरण गरिएको थियो । तिरुपतिमा आफ्नो भाकल पूरा भएपछि कपाल चढाउने परम्परा छ ।

मन्दिरमा वार्षिक रूपमा हुने ब्रह्मोत्सव ३० सेप्टेम्बरमा सुरु हुँदै छ । ८ अक्टुबरसम्म चल्ने यस उत्सवका लागि मन्दिरमा व्यवस्थापन मिलाइएको छ । ब्रह्मोत्सवको तयारी २० सेप्टेम्बरसम्ममा पूरा हुने सम्भावना छ । पन्डाल र मञ्चका लागि मात्र करिब ७ करोड ५ लाख (भारु) रकम दिइएको छ । यसबाट इन्जिनियरिङसँग सम्बन्धित सम्पूर्ण काम गरिनेछन् । मन्दिरको आसपास लगभग १३ हजारभन्दा बढी सवारी साधनलाई पुग्ने पार्किङको व्यवस्था मिलाइएको छ । यसका लागि करिब १ हजार ३ सय सिसिटिभ क्यामेरा लगाइएका छन् ।

भारतीय तीर्थालु नेपालमा : छैन हिसाब
नेपालमा हरेक वर्ष ठूलो संख्यामा धार्मिक पर्यटक नेपाल आउने गरेका छन् । विशेषतः भारतीय पर्यटक पशुपति र मुक्तिनाथको दर्शनकै लागि आउने गरेका छन् भने विश्वभरिकै बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी प्रमुख तीर्थस्थल रहने गरेको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गत वर्ष नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये करिब २५ प्रतिशत धार्मिक पर्यटक थिए । गत वर्ष नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या १ लाख ९४ हजार छ । यो अध्यागमन विभागको अभिलेखमा उल्लिखित भएर आएका भारतीय पर्यटकमात्रै हुन् ।

यीबाहेक वार्षिक पाँच लाखको हाराहारीमा भारतीय पर्यटक नेपाल भ्रमणमा आउने गरेको अनुमान छ । यिनीहरूमध्ये ठूलो संख्यामा भारतीय पर्यटक धार्मिक प्रयोजनका लागि नै आउने गर्छन् ।

सन् २०१८ मा भारतीयबाहेक १ लाख ६३ हजार पर्यटकले पशुपति क्षेत्रको भ्रमण गरेका छन् । दैनिक २५ सय भारतीय तीर्थालुले पशुपति दर्शन गरेका छन् । यसमा खासगरी दक्षिण भारतीयले पशुपतिलाई ठूलो अनुपातमा नगद, सुन र अन्य बहुमूल्य वस्तु चढाउँछन् ।

नेपाली पनि दानका रूपमा ठूलो रकम चढाउँछन् । पशुपतिनाथका एक भण्डारीका अनुसार त्यहाँ दैनिक १५० देखि २०० सम्म विशेष पूजा हुने गरेको छ । एउटा पूजाका लागि एक हजारदेखि २५ लाखसम्म तिनुपर्छ ।

पशुपतिनाथको व्यवस्थापनका अनुसार त्यहाँ विशेष पूजाबाट वार्षिक ७ करोड र भेटीबाट ५ करोड रुपैयाँको हाराहारीमा आम्दानी भइरहेको छ । गरगहना र अन्य धातुबारे स्पष्ट जानकारी नै सार्वजनिक गर्ने गरिएको छैन । २०१९ सालयता हालसम्म जम्मा ९ किलो २२६ ग्राम सुनमात्रै चढाइएको केही समयअघि प्रकाशित एक छानबिन समितिको प्रतिवेदनमा उल्लेख थियो ।

यसैगरी मुक्तिनाथ, मनकामना, बौद्धलगायतका मठ मन्दिर र पवित्र धार्मिक थलोहरूमा चढाइने करोडौंको नगद र अन्य बहुमूल्यका वस्तुको विवरण भने नेपालमा अहिलेसम्म अपारदर्शी नै राखिएको छ ।
नेपालले पनि उचित ढंगले मन्दिरहरूको आयव्ययको विवरण पारदर्शी ढंगले राखेर त्यसको व्यवस्थित प्रयोगमा ध्यान दिने हो भने वार्षिक करोडौंको दानको सही सदुपयोग हुनसक्छ ।

प्रकाशित समय १६:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु