fbpx

गृहपृष्ठ पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा

पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा

सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुगेका छन् । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्केका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मंगलबार गोरखा आइपुगेका हुन् ।

साइकलयात्री श्रेष्ठलाई गोरखा उद्योग वाणिज्य संघ गोरखाले स्वागत तथा सम्मान गरेको छ । पर्यटन वर्ष २०२० को प्रचार–प्रसार एवं ‘भ्रष्टचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवर्द्धन गरौँ’ भन्ने नारा लिएर आफू साइकलयात्रामा निस्केको श्रेष्ठले बताए । गएको चैत ३ गतेबाट यात्रा सुरु गरेका श्रेष्ठ १४९ दिन लगाएर गोरखा आइपुगेका हुन् ।

श्रेष्ठले आउँदो असोजभित्रै देशका ७७ वटै जिल्लाको भ्रमण गरेर सक्ने लक्ष्य लिएको बताए । ‘साइकलको अगाडि दायाँबायाँ राष्ट्रिय झन्डा फहराउँदै, नेपाली राष्ट्रिय पोसाक दौरासुरुवालमा साइकलयात्रामा हिँडेका श्रेष्ठले गोरखा सदरमुकाममा जिल्लाका ऐतिहासिक एवं धार्मिकस्थलबारे जानकारीसमेत लिए ।

यात्राका क्रममा जिल्ला सदरमुकाममा पुगेर त्यहाँ रहेका उद्योग वाणिज्य संघ, विद्यालय, क्याम्पस विद्यार्थी एवं पत्रकार महासंघसँग अन्तर्क्रिया गरेका हुन् । गोरखाका पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले देश भ्रमणका लागि साइकल सस्तो यात्रा भएको र स्वास्थ्यका लागि समेत फाइदा भएकाले साइकलयात्रा रोजेको बताए । (रासस)

प्रकाशित समय १०:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु