fbpx
Nepal Mediciti

गृहपृष्ठ कर्णालीमा ४० पर्यटकीय गन्तव्य पहिचान

कर्णालीमा ४० पर्यटकीय गन्तव्य पहिचान

karnali tourism newskarobar

कर्णाली प्रदेश सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ४० पर्यटकीय गन्तव्य पहिचान गरेको छ । २०७५ साललाई कर्णाली रारा पर्यटन वर्षको रुपमा धुमधामका साथ मनाएको सरकारले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेको हो ।

सरकारले कर्णाली प्रदेशका १० जिल्लामा २० वटा राष्ट्रिय पर्यटन गन्तव्य र २० वटा अन्तर्राष्ट्रिय गन्तव्यलाई पहिचान भएको जनाएको छ । कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न उक्त कार्यको सुरुवात गरेको बताएको छ ।

राष्ट्रिय महत्व बोकेको पर्यटकीय स्थलमा सुर्खेतको बुलबुले ताल, सुर्खेतको सिम्ता गाउँपालिकामा पर्ने कोटको थुम्को, सुर्खेतकै पञ्चपुरी पर्यटकीय क्षेत्र, जाजरकोटको शिवालय जक्तीपुर मालिका पर्यटन सर्किट, नदाई गाध कुशे जलजला पर्यटकीय क्षेत्र, सल्यानको खैरावाङ भुवनेश्वरी भगवती मन्दिर, जुम्लाको पातारासी हिमाल, गुठीचौर, दैलेखको पञ्चकोशी दुल्लु पर्यटकीय क्षेत्र र राइली त्रिपानी मालिका बेलासपुर कोटगढी पचदेवल पर्यटन क्षेत्र तथा रुकुम पश्चिमको साइकुमारी सिस्ने हिमाल पदमार्ग, स्यार्पु ताल र डिग्रे शाई कुमारी मन्दिर दह मुसिकोट छन् । त्यस्तै, डोल्पाको विक्रम शाही महाराजको दरबार, हुम्लाको खार्पुनाथ शिवालय, कालिकोटको पञ्चदेवल कालिका मन्दिर दह चौर पर्यटकीय क्षेत्र, मुगुको चंखेली हिमाल रिडी मच्छे पर्यटकीय क्षेत्र र छायाँनाथ कोइकी हिमाल तिहार गुम्वा बगर पर्यटकीय क्षेत्र पनि राष्ट्रिय महत्व बोकेका पर्यटकीय गन्तव्यमा परेका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायका अनुसार अन्तर्राष्ट्रिय महत्व बोकेका पर्यटकीय स्थलमा सुर्खेतको काँक्रेबिहार र बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर, सल्यानको कुपिण्डे दह, छायाँ क्षेत्र र खैराबाङ मन्दिर, रुकुम पश्चिमको सिस्ने हिमाल, स्यार्फुताल, मुसिकोट दरबार र डिग्रे मन्दिर, जाजरकोटको भेरी नदी, नदैगढ, कुशे, ठाकुरजीको गाठ सर्किट, डोल्पाको शे–फोक्सुण्डो र शे गुम्बा– विजेर–साल्दाङ–तिन्जे– धोतराप–छार्का सर्किट छन् । त्यस्तै, दैलेखको पञ्चकोशी दुल्लु पर्यटकीय क्षेत्र र राइली त्रिपानी मालिका बेलासपुर कोटगढी पचदेवल पर्यटन क्षेत्रसमेत पर्यटकीय गन्तव्यमा पहिचान भएका छन् । हुम्लाको लिमी उपत्यका, मुगुको छायाँनाथ, रारा क्षेत्र, जुम्लाको चन्दननाथ, गुठिचौर पतरासी, सिञ्जा भ्याली, कालीकोटको पचाल झरना, चुलीमालिका दरबार, पाँचदरबार तथा पिली र मान्मालगायतका क्षेत्रसमेत पर्यटकीय सर्किट तथा गन्तव्यमा परेको रोकायाले बताए ।

प्रदेश सरकारको पर्यटन मन्त्रालयले पत्रकार सम्मेलन गरी शनिबार प्रादेशिक पर्यटन प्रवर्धन समिति गठन गर्नुका साथै भ्रमण वर्षसँग सम्बन्धित कार्यक्रमको घोषणा गरेको हो । पर्यटन मन्त्रालयले राजु कार्कीको अध्यक्षतामा प्रादेशिक पर्यटन प्रवर्धन समितिको सचिवालय गठन गरेको छ । सचिवालय सदस्यमा दिलबहादुर महत, देवराज जैसी, देवीकृष्ण रोकाया र सदस्य सचिवमा धीरेन्द्रकुमार प्रधानलाई चयन गरिएको छ । सचिवालयको मूल कार्यालय वीरेन्द्रनगर तथा सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गरिनेछ ।

समितिले भ्रमण वर्षका विभिन्न कार्यक्रम सञ्चालन गर्न विभागहरु गठन गरेको छ । प्रचारप्रसार विभागमा देवराज जैसी, होटल ट्राभल तथा ट्रेकिङ व्यवस्थापन विभागमा जनकराज शर्मा, मानव संशाधन तथा समन्वय विभागमा देवीकृष्ण रोकाया, आर्थिक विभागमा लंकबहादुर शाही र सांस्कृतिक विभागमा दिलबहादुर महतलाई संयोजक तोकिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णालीका पर्यटकीय गन्तव्यमा नियमित हवाई सेवा सञ्चालनका लागि नेपाल वायु सेवा निगम र अन्य निजी क्षेत्रका एयरलाइन्ससँग साझेदारी गर्ने विषयमा संघीय सरकारसँग छलफल गर्ने जानकारी दिए । उनले यस अवधिमा प्रदेशस्थित राष्ट्रिय महत्वका २० र अन्तर्राष्ट्रिय महत्वका २० पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसार गर्ने बताए ।

पर्यटकीय गन्तव्यको सूची प्रदेश मन्त्रिपरिषद् बैठकले पारित गर्न बाँकी छ । ‘कर्णालीको मौलिकता झल्किने गरी नेपाल भ्रमण वर्षको लोगो, नारा (स्लोगन) अंकित हवाई टिकट, बस, सरकारी÷गैरसरकारी कार्यालयका लेटरप्याड प्रयोगमा ल्याई प्रचारप्रसारका विधि प्रयोग गरिनेछ,’ मन्त्री बुढाले भने, ‘यसका लागि संघीय सरकारका साथै प्रदेशबाट पनि बजेट विनियोजन गरिएको छ, कर्णालीलाई आकर्षक गन्तव्यका रुपमा स्थापित गर्न आवश्यक पूर्वाधार निर्माण गर्छौं ।’

नेपाल भ्रमण वर्ष प्रादेशिक पर्यटन प्रवर्धन समितिले कर्णालीमा पर्यटक आकर्षित गर्न राष्ट्रियस्तरमा ख्यातिप्राप्त ५ जनालाई ‘फ्रेन्ड्स अफ कर्णाली’ दूतका रुपमा जिम्मेवारी दिने निर्णय गरेको छ । समितिले ती व्यक्तिको नाम भने टुंगो लगाइसकेको छैन । समितिले भदौ २५ गते माथिल्लो डोल्पामा महोत्सव आयोजना गर्ने जनाएको छ ।

प्रकाशित समय ०६:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु