fbpx

गृहपृष्ठ होमस्टेले फर्कायो गाउँतिरै

होमस्टेले फर्कायो गाउँतिरै

homestay-pokhara2-newskarobar

पोखरा क्षेत्रका धेरै होमस्टेको भीडमा कालावाङ घरेडी छुट्टै स्थान बनाउन सफल भएको छ । पोखरा महानगरपालिका-२२, पुम्दीभुम्दीमा रहेको होमस्टेमा आन्तरिक पर्यटक विशेष आकर्षित हुने गरेका छन् ।

केही महिनायता हरेक शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन होमस्टेमा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको कालाबाङ घरेडी सामुदायिक होमस्टेका अध्यक्ष प्रकाश गुरुङ बताउँछन् । ‘सुरुवाती दुई वर्ष होमस्टे छाडौं कि जस्तो अबस्थामा पुगेका थियौं तर विस्तारै होमस्टेले लय लिँदै जाँदा हिजोआज बिदाको दिनमा पर्यटकलाई व्यवस्थापन गर्नसमेत कठिन भइरहेको छ, नचाहेर पनि कहिलेकाहीँ अर्को दिन आउनुहोला सम्म भन्नुपरिरहेको छ ।’

विभिन्न संघ-संस्था, सहकारी, रोटरी, लायन्स, आमा समूह, क्लबको वार्षिकोत्सव, अधिवेशन, प्रशिक्षण, गोष्ठीलगायतका कार्यक्रमसहित होमस्टेमा बिदाको दिनमा अत्यधिक आन्तरिक पर्यटक जाने गरेको अध्यक्ष गुरुङले बताए । कालाबाङ घरेडी सामुदायिक होमस्टेमा आबद्ध १८ घरधुरीमा ८२ जनाको क्षमता छ । पोखरा क्षेत्रभन्दा बाहिरबाट समेत होमस्टेबारे बुझ्न र घुमघामका लागि मानिसहरु जाने गरेका छन् ।

पोखराको मुख्य बजारदेखि करिब १३ किलोमिटर नजिक शान्त वातावरण र दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य कालाबाङको न्हेआल डाँडा/चक्र हाल्ने डाँडाबाट लमजुङ हिमालदेखि अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिसम्मका हिमशृंखला देख्न सकिन्छ । समुद्री सतहदेखि करिब १ हजार ४५६ मिटर उचाइमा पर्ने सो क्षेत्रमा प्रांगारिक खाना, सांस्कृतिक कार्यक्रम, वनभोज स्थल, प्रांगारिक कफी तथा चिया, लोकल कुखुरा, खसी वा भेडाको परिकारलगायतका खानेकुरा र सुविधा रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

गत वर्षमात्र करिब साढे ६ हजार पर्यटकले होमस्टेमा रात बिताएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ मा करिब साढे ७ हजार पर्यटक भित्रिने होमस्टेको अपेक्षा छ । सामान्यतः एक घर परिवारले होमस्टेबाट २५ हजारसम्म मासिक आम्दानी गर्न सफल भएको अध्यक्ष गुरुङको भनाइ छ ।

homestay-pokhara3-newskarobar

होमस्टेले फर्कायो गाउँ
गाउँमा होमस्टे राम्रो हुँदै आएपछि स्थानीयसमेत गाउँ फर्किन थालेका छन् । पोखराको मुख्य बजार क्षेत्रमा बसोबास गर्दै आएका दुर्गाबहादुर गुरुङ र तोलबहादुर गुरुङको परिवार नै गाउँ फर्किएको छ । ‘पहिला पुराना घर भएकाहरुका लागि खानेपानी योजनाअनुसार एक घर एक धारामा पानी चाहिँदैन भन्नेहरु हाल पानीको धारासमेत माग गर्न थालेका छन्,’ अध्यक्ष गुरुङले भने । स्थानीय अगुवा कृषक देवीलाल बरालको प्रेरणाबाट घर-घरमा व्यावसायिक रुपमा काँक्रोसमेत लगाउन थालिएको छ ।

होमस्टेमा एक रात बसेको बिहान-बेलुका खाना र बिहानको नास्तासहित प्रतिव्यक्ति नेपालीलाई ११ सय ५० र विदेशीलाई भने २५ सय रुपैयाँ सेवा शुल्क निर्धारण गरिएको छ । गाउँमा सेमिनार हलसहित गुम्बासमेत रहेकाले पर्यटक थप आकर्षित भएका छन् ।

होमस्टे सञ्चालन भएसँगै स्थानीयको आयआर्जनमा पनि सुधार आएको छ । स्थानीय रुपमा उत्पादन हुने फलफूल र तरकारी बजार पु-याउनै पर्दैन । उत्पादनलाई प्रोत्साहन गर्न एक घर एक उत्पादनमा जोड दिइएको छ ।

प्रकाशित समय १३:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु