fbpx
Nepal Mediciti

गृहपृष्ठ ‘आगरामा चर्को गर्मी छ, पोखरा आउनुस्’

‘आगरामा चर्को गर्मी छ, पोखरा आउनुस्’

आगरा-पोखरा सीधा बस सेवा सञ्चालनको माग

Chaliye Pokhara Agara newskarobar

उत्तर भारतको पर्यटकीय सहर आगराका व्यवसायीले आगरा र पोखराबीच सीधा बस सेवा सञ्चालनको सुझाव राख्दै त्यस्तो सेवा भए भारतीय नागरिकलाई पोखरा पुग्न सहज हुने भनाइ राखेका छन् । बोर्डर टाउन सेल्स मिसनअन्तर्गत ‘चलिए पोखरा’ अभियान पुनः सुरु गर्न पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाइमा आगरा पुगेको होटलकर्मीको टोलीसँग आगराका व्यवसायीले पोखरा पुग्नका लागि कनेक्टिभिटीको सवाल अगाडि सारेका हुन् ।

संघले नेपाल पर्यटन बोर्डसँग मिलेर आगरामा मंगलबार साँझ आयोजना गरेको अन्तक्र्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा नेपाल भारत मैत्री बस सेवा आगरा डिपोका प्रबन्धक अनिल कुमारले पोखरा-दिल्ली सीधा बस सेवा सञ्चालन भएजस्तै आगरालाई पनि त्यस्तो सेवामार्फत पोखरासँग जोड्न जरुरी भएको बताए ।

यसैगरी साहसिक खेलमा रुचि भएकालाई पोखरा अत्यन्तै राम्रो गन्तव्य भएको भारतका पूर्वमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता रामसकल गुज्जरले बताएका छन् । उनले पोखरा गएकाबेला आफूले पनि धेरै साहसिक खेलमा सहभागी भएर मनोरञ्जन लिएको अनुभव सुनाए । भाजपा वरिष्ठ नेता गुज्जरले पोखरा सुन्दर र घुम्नलायक ठाउँ भएको बताएका हुन् । ‘पोखराको आफ्नै विशेषता छ । तपाईंहरु जानुभयो भने हरेक कुरामा इन्जोय गर्न सक्नुहुन्छ,’ उनले भने । गुज्जरले आगरादेखि पोखरा सीधा यातायात सुविधा मिले पर्यटक आउजाउ गर्न सजिलो हुने दाबी गरे ।

‘आगराका पर्यटकमात्रै पोखरा गएर हुँदैन । पोखराका पर्यटक पनि आगरा आउनुपर्छ । एक्सचेन्ज अफर चलाएर दुवैले आआफ्नो क्षेत्रको विकासमा टेवा पु-याउनुपर्छ,’ गुज्जरले भने, ‘त्यसका लागि आगरा टु पोखरा सीधा यातायात सुविधा सुरु भए सजिलो हुने थियो । म यता सरोकारवाला निकायसँग त्यसबारे कुरा राख्नेछु ।’

होटल एन्ड रेस्टुरेन्ट अनर एसोसिएसन आगराका प्रतिनिधि रमेश वादवाले पोखरा, काठमाडौंलगायत थुप्रै अन्य सहर निकै सुन्दर भएको भन्दै भारतीयले ती सहरको भ्रमण गर्नुपर्ने सुझाव राखे । पोखराप्रति भारतीय पनि जिज्ञासु भएको भन्दै पोखरासम्बन्धी प्रवर्धन कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । आगरास्थित होटल चाणक्यकी प्रबन्ध निर्देशक बन्दना प्रसादले पोखरासम्बन्धी प्रवर्धनात्मक वृत्तचित्र हेरेर आफू प्रभावित भएको बताइन् । पोखरा र आगराबीच पर्यटक आदानप्रदान गरेर अगाडि बढ्न सकिने प्रशस्त सम्भावना भएको उनले स्मरण गराइन् ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले अहिले उत्तर भारतमा चर्को गर्मी भएको भन्दै आनन्ददायी मौसममा रमाउनका लागि पोखरा आउन भारतीयलाई आग्रह गरे । भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेजहरु समेत आफूहरुले व्यवस्था गरेको उनले सुनाए । हनिमुन प्याकेज, मनसुन प्याकेज, धार्मिक तीर्थयात्रा प्याकेज, शैक्षिक भ्रमण प्याकेज र माइस (मिटिङ, इन्सेन्टिभ्स र कन्फ्रेन्स) प्याकेज जस्ता सुविधा भारतीय पर्यटकका लागि व्यवस्था गरिएको उनले सो अवसरमा जानकारी दिए ।

कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा र वरपरका पर्यटकीय आकर्षण र सुविधाका बारेमा जानकारी गराएका थिए । नेपाल पर्यटन बोर्ड भारतीय पर्यटकलाई नेपालमा स्वागत गर्न सधैं तयार रहेको भनाई पनि उनले सो अवसरमा राखे ।

संघका सल्लाहकार परिषद्का संयोजक एवं पूर्व अध्यक्ष हरिशर्मा गैरेले सन् २०१२ बाट सुरु भएको ‘चलिए पोखरा’ अभियानबारे जानकारी गराएका थिए । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरामा भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य भएको भन्दै भारतीय पर्यटकलाई पोखरामा स्वागत गर्न आफूहरु तयार रहेको बताए । असार २० गतेसम्म सञ्चालन हुने अभियान उत्तर प्रदेशको राजधानी लखनउ र विहारको राजधानी पटनामा पनि सञ्चालन हुने कार्यक्रम छ ।

प्रकाशित समय १७:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु