fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ चरिकोटबाट काँकरभिट्टा सीधा बस सेवा सुरु

चरिकोटबाट काँकरभिट्टा सीधा बस सेवा सुरु

dolakha-jhapa-newskarobar

दोलखाको चरिकोटदेखि झापाको काँकरभिट्टासम्म सीधा बस सेवा सुरु भएको छ । रोजगारीका लागि धेरै दोलखालीहरु भारतको सिक्किम र पश्चिम बंगालमा रहेकाले उनीहरुको सुविधाका लागि काँकरभिट्टासम्म सीधा बस सेवा सुरु भएको हो ।

दोलखाको रोल्वालिङ यातायात सहकारी संस्थाको अगुवाइमा चरिकोटदेखि काँकरभिट्टासम्म बस सेवा सञ्चालनमा आएको हो । बुधबारबाट सेवा सुरु गर्ने पहिलो बस बा. ५ ख ५४०१ का चालक मञ्जिल खड्कालाई रोल्वालिङ यातायातका अध्यक्ष बालकृष्ण आचार्य र जिल्लाका ट्राफिक प्रहरी प्रमुख चन्दमान तामाङलगातले खादा लगाएर काँकरभिट्टाका लागि बिदाइ गरे । बुधबारको पहिलो क्युले चरिकोटबाट काँकरभिट्टाका लागि १८ जना यात्रु बोकेर छुटेको रोल्वालिङ यातायातको चरिकोट काउन्टरका कर्मचारी तिलक थापाले जानकारी दिए ।

चरिकोटदेखि काँकरभिट्टासम्मको भाडा तत्कालका लागि ११ सय रुपैयाँ तोकेको रोल्वालिङ यातायातले वैज्ञानिक दरअनुसार छिट्टै भाडा कायम गर्ने बताएको छ । ‘अहिले तत्कालका लागि सेवा सुरु गर्न ११ सय रुपैयाँ निर्धारण गरेका हौं,’ रोल्वालिङका अध्यक्ष आचार्यले भने, ‘सरकार र यातायात महासंघले निर्धारण गरेअनुसारको वैज्ञानिक भाडादर लागू गर्दा यो दर तल–माथि हेरफेर हुनसक्छ ।’ हालका लागि चरिकोटबाट दैनिक २ बजे र काँकरभिट्टाबाट चरिकोटका लागि दैनिक ५ बजे बस छुट्ने व्यवस्था समितिले गरेको छ ।

पछिल्लो चरण्मा रोल्वालिङ, अरनिको र बीपी यातायातबीच सहमति भएको छ । तर, पूर्वका मेचीमा धेरै यातायात समिति भएकाले उनीहरुबीच सहमति हुन नसक्दा ढिला भएको रोल्वालिङका सचिव शान्तिप्रसाद ओलीले जानकारी दिए ।

अब उनीहरु बीच सहमति भए पनि नभए पनि वैशाख दोस्रो सातापछि बस सेवा चल्ने उनले बताए । चरिकोटदेखि काँकरभिट्टासम्मको दूरी ४ सय ६० किलोमिटर छ । जिल्ला ट्राफिक कार्यालय चरिकोटका प्रमुख चन्द्र तामाङले लामो बाटो र रातिको समय भएकाले बसमा दुई जना ड्राइभर राख्न सुझाव दिए ।

बस सेवा सञ्चालन भएपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको दोलखामा दार्जिलिङ हुँदै भारतीय र पूर्वीनेपालका पर्यटक आउन सहज हुने आशा जिल्लाबासीको छ । सीधा बस सेवा सञ्चालनका लागि तीन महिनामा चरिकोट र काठमाडौंमा विभिन्न व्यावसायिक समितिसँग छलफल हुँदै आएको थियो । विगतमा बीपी राजमार्गमा रुट परमिट नपाउनेलगायतका समस्याका कारण सोचेको समयमा बस सेवा सुरु गर्न नसकेको उनले बताए । अब सरकारले पनि परमिट दिन सहज वातावरण बनाएकाले चरिकोटदेखि सिन्धुली हुँदै काँकरभिट्टासम्मको परमिट पाएलगत्तै बस सेवा सुरु गरेको उनले बताए ।

रोल्वालिङले दुई वर्षअघि नै चरिकोटबाट बस छुटाए पनि त्यो बस सिन्धुलीमा अवरोध भएपछि रोकिएको थियो । चरिकोटबाट छुटेको बस रामेछाप, सिन्धुली बर्दिबास हुँदै काँकरभिट्टा पुग्नेछ । भोलिपल्ट सोही बस काँकरभिट्टाबाट चरिकोटसम्म चल्नेछ । बस दैनिक रात्रि सेवामा चल्ने रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

रोल्वालिङ यातायातले तीन वर्षअघि नै झापाको मेची यातायातसँगको सहकार्यमा बस सञ्चालन तयारी गरेको थियो । पछि ढोली खोलाको पुल बगाएको र बीपी राजमार्गमा बसलाई परमिट विवादलगायतका कारणले रोकिएको थियो ।

सीधा बस सेवा सञ्चालन भएपछि दोलखा र रामेछापबाट व्यवसाय र रोजगारका सिलसिलामा भारतको सिक्किम, दार्जिलिङ पुगेकाहरु प्रत्यक्ष लाभान्वित हुने छन् । पूर्वीनेपालबाट दोलखाको भ्रमणमा आउनेलाई पनि सहज हुनेछ । यात्रुहरुको माग र आवश्यकताका आधारमा सीधा बस सेवा सञ्चालन गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।

टिकटका लागि चरिकोटमा रोल्वालिङ यातायातको काउन्टरबाट काटिनेछ भने तामाकोसी, मालुखोला, खिम्ती र मन्थलीमा अरनिको भीमेश्वर यातायात प्रालिले काट्नेछ । त्यसैगरी, सिन्धुलीमा बीपी यातायातले टिकटको व्यवस्था गर्नेछ भने पूर्वमा मेची यातायात समितिको समन्वयमा टिकटको व्यवस्था गर्ने सहमति भएको रोल्वालिङ यातायातका सचिव शान्तिप्रसाद ओलीले जानकारी दिए ।

प्रकाशित समय १८:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु