fbpx
Nepal Mediciti

गृहपृष्ठ घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव, आकर्षणमा अन्नपूर्ण म्याराथन

घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव, आकर्षणमा अन्नपूर्ण म्याराथन

ghandruk-trek-newskarobar घान्द्रुक

कस्कीको पयटकीय गाउँ घान्द्रुकमा जेठ १७ देखि सुरु हुने अन्नपूर्ण सेन्चुरी महोत्सवका अवसरमा म्याराथन प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा जेठ १७ देखि २० गतेसम्म हुने महोत्सवका अवसरमा जेठ २० गते म्याराथन प्रतियोगिता हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

अन्नपूर्ण आधार शिविरको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको तयारी तीव्र पारिएको संयोजक ललित गुरुङले बताए । घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानमा हुने महोत्सवको अवसरमा पर्यटकलाई विशेष प्याकेज दिइने उनले जानकारी दिए । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा हर्स राइडिङ गरी घान्द्रुक गाउँ घुम्न सकिने, गाउँबाट मनोरम दृश्यावलोकन गर्न सकिने, परम्परागत गुरुङ संस्कृतिको प्रत्यक्ष अवलोकन गर्न सकिने, हिमाली तथा लेकाली जडिबुटीको परिचय र उपभोगितासम्बन्धी जानकारीमूलक विवरण दिने, फोटो प्रदर्शनीलगायतका विभिन्न प्रतियोगिता हुनेछन् ।

अन्य दिनमा एक रातको होटल आवासमा करिब १२ सय रुपैयाँ पर्ने प्याकेज महोत्सवका अवसरमा खेलाडीलाई ७ सय र अन्य पर्यटकलाई ९ सय रुपैयाँमा झारिएको छ । महोत्सव सम्पन्न गर्न करिब १ करोड खर्च अनुमान गरिएको छ । संयोजक गुरुङका अनुसार महोत्सवका लागि ५०१ सदस्यीय मूल आयोजक समिति र ३१ वटा उपसमिति गठन गरिएका छन् । गत वर्ष पहिलो पटक तीन चरणमा महोत्सव गरिएको थियो ।

मुख्य आकर्षण अन्नपूर्ण म्याराथन
महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथन रहनेछ । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास र यो क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको अवसरमा म्याराथन आयोजना गर्न लागिएको समितिका महासचिव दिलिप गुरुङले जानकारी दिए । म्याराथन प्रतियोगितामा स्वदेशी तथा विदेशीको सहभागिता रहनेछ ।

प्रतियोगितामा पहिलो हुनेलाई १ लाख पाँच हजार, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । महोत्सवमा क्लब स्तरीय पुरुष/खुला महिला भलिबल, क्लब स्तरीय पुरुष बास्केटबल, भेट्रान पुरुष भलिबल, वडा स्तरीय रस्साकस्की, छेलो फाल्ने र मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता पनि हुनेछन् ।

पुरुष भलिबलमा विजेतालाई एक लाख, उपविजेतालाई ६० हजार, महिलातर्फ विजेतालाई ६० हजार र उपविजेतालाई ४० हजार नगद प्रदान गरिनेछ । क्लब स्तरीय पुरुष बास्केटबल प्रतियोगिताका विजेताले ८० हजार र उपविजेताले ५० हजार पाउनेछन् ।

आधार शिविरबाट म्याराथन
जेठो हिमाल अन्नपूर्णको आधार शिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा आएर समापन हुनेछ । फागुन १५ गते भीषण हिमआँधीका कारण आधार शिविरका चारवटा होटलमा क्षति पुगेको थियो । उक्त क्षेत्रमा पुरिएका होटल लज पूर्णरुपमा अझै पनि मर्मतसम्भार हुन सकेका छैनन् । ती होटलको मर्मतसम्भारमा राज्यबाट सहयोगको अपेक्षा गरिएको संयोजक गुरुङले बताए । अन्नपूर्ण आधार शिविरमा पर्यटक सहज ढंगले जान नपाउने भए पनि स्थानीय तथा प्रदेश सरकारले खासै ध्यान नदिएको व्यवसायी जगनरास गुरुङले बताए ।

प्रकाशित समय ०७:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु