गृहपृष्ठ दक्षिण एसियाकै ठूलो क्यासिनो नेपालमा, भारतीय पर्यटकको मुख्य गन्तव्य

दक्षिण एसियाकै ठूलो क्यासिनो नेपालमा, भारतीय पर्यटकको मुख्य गन्तव्य

tiger-place-newskarobar

गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि जम्मा २१ किलोमिटर टाढा । बुद्ध नगरी सिद्धार्थनगर भैरहवादेखि मात्रै ३ किलोमिटर । सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडकखण्डको कोटिहवा चोकदेखि ३ सय मिटर पश्चिममा छ- टाइगर प्यालेस रिसोर्ट ।

काठमाडौं उपत्यकाबाहिरको पहिलो र एकमात्रै पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टमा जाने जो कोही पनि दंग पर्छन् । मनमोहक ढंगले सजाइएको र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको भैतिक संरचनाले जोकसैका लागि मन लोभ्याउँछ ।

दक्षिण एसियाकै ठूलो क्यासिनो स्थल रहेको टाइगर प्यालेसमा एकै पटकमा २५ सय जना खेलाडी खेल्न सक्छन् । टाइगर प्यालेसमा अत्याधुनिक उपकरण र पूर्णरुपमा स्वचालित प्रविधि जडान गरिएको छ । क्यासिनको एउटा फरक विशेषता के छ भने भि-आईपी गेष्टका लागि सुनको जलप लगाएको गेम प्लेस निर्माण गरिएको छ ।

tiger-place-newskarobar

टाइगर प्यालेस रिसोर्टका प्रशासनिक/व्यवस्थापन विभाग प्रमुख रामप्रसाद तिवारीका अनुसार अहिले पूरा क्षमताको करिब ७० प्रतिशतसम्म दैनिक रुपमा गेम फुल हुन्छ । उनी भन्छन्, ‘यो गेमिङ गराउने मार्केटिङ टिम छ, सोही अनुसार अनलाइन बुकिङ हुन्छ, केही दिनका लागि फुल गेम नै बुकिङ भइसक्यो ।’

रिसोर्टमा रहेको क्यासिनो गेममा ८० प्रतिशत भारतीय पर्यटक, १० प्रतिशत चिनियाँ र अन्य देशका पर्यटक आउने गरेका छन् । भारतीय पर्यटकलाई रिसोर्टसम्म ल्याउन रिसोर्टले सुविधा सम्पन्न वातानुकूलित बससमेत सञ्चालन गरेको छ । भारतको गोरखपुरदेखि दैनिकजसो बस रिसोर्टसम्म आउने गर्छ ।

सिल्भर हेरिटेज ग्रुपको स्वामित्वमा सञ्चालित टाइगर प्यालेसमा सबै अन्तर्राष्ट्रिय मापदण्ड र सोहीअनुसारका सेवा तथा सुविधा जडान गरिएका छन् । एकमात्र पाँचतारे रिसोर्ट भैरहवाको टाइगर प्यालेसमा भारतीय पर्यटकको आकर्षण बढेको छ । विदेशी लगानीमा सञ्चालित उक्त रिसोर्टमा सबैभन्दा बढी भारतीय अतिथि आउने गरेका छन् ।

अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले रुपन्देहीको कोटिहवामा क्यासिनोसहितको टाइगर प्यालेस रिसोर्ट सञ्चालन गरेको हो । नेपालमा पहिलोपटक रिसोर्ट सञ्चालन गरेको हेरिटेज ग्रुपले ५ अर्ब रुपैयाँ लगानी गरेको छ ।

tiger-place-newskarobar

पहिलो चरणमा एक सय कोठा सञ्चालनमा ल्याइएको छ । चारवटा जुनियर स्विट, ६ वटा स्विट र दुईवटा भिल्ला छन् । भिल्ला र स्विटबाट सिधै स्विमिङ पुलमा जान सकिनेछ । १५ सयदेखि २ हजारसम्म अट्ने ब्याक्वेट हल बनाउने योजना बनाएको रिसोर्टमा भारतबाट विवाह पार्टीदेखि कर्पोरेट पार्टीसम्म गर्न रिसोर्टमा आउने गरेका पाइन्छ ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएमा रिसोर्टमा हाल रहेका कोठासमेत अपुग हुने रिसोर्टले आंकलन गरेको छ । रिसोर्ट १६ बिघामा फैलिएको छ । रिसोर्टमा अहिले ७ सयभन्दा बढीले रोजगारी पाइरहेका छन् । स्पा, जिम हल, बच्चाहरु खेल्ने हल, अनलाइन गेम प्ले स्टेसनलगायतका सुविधा छन् ।

रिसोर्टमा ४ सय कोठाबाहेक दुईवटा भिल्ला पनि निर्माण गरिएको छ । प्रत्येक भिल्लामा तीनवटा कोठा, साउना, ज्याकुजीलगायत सबै सुविधा उपलब्ध हुनेछन् । रिसोर्टको डिजाइनअनुसार २० वटा कोठा र स्विमिङ पुल एक-आपसमा जोडिएका छन् । पाहुनाले कोठाबाट सिधै स्विमिङ पुलमा ‘डाइभ’ हान्न सक्नेछन् । रिसोर्ट सिल्भर हेरिटेज ग्रुपले हाल लाओस, फिलिपिन्स, भियतनाम, कम्बोडिया, गुआम आइल्यान्डलगायत देशमा ३३ वटा रिसोर्ट सञ्चालन गरिरहेको छ ।

tiger-place-newskarobar

tiger-place-newskarobar

(तस्बिरहरू टाइगर प्यालेस रिसोर्टको फेसबुक पेजबाट लिइएका हुन् ।)

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु