गृहपृष्ठ प्रदेश ५ मा छायो नयाँ वर्षको रौनक

प्रदेश ५ मा छायो नयाँ वर्षको रौनक

dang-dharapani-newskarobar दाङ धारापानी ।

नयाँ वर्ष प्रदेश ५ का १२ जिल्लालाई धुमधाम लागेको छ । नयाँ वर्ष २०७६ को स्वागतमा प्रदेश ५ का विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा देखिएको घुइँचोले ‘एक दिन भए पनि घुम्नुपर्छ’ भन्ने संस्कृतिको विकास हुँदै गएको आभाष दिएको छ । प्रदेशका पर्यटकीय गन्तव्यमा वैशाख १ गते बिहानैदेखि घुइँचो लागेको छ ।

परासीको पाल्ही भगवतीको मन्दिर, रामग्राम स्तुप, रुपन्देही देवदहको पाकरी वृक्ष, सैनामैनाको बोलवम धाम, रुपन्देहीकै बुद्ध जन्मस्थल लुम्बिनी, पाल्पाको शिद्धबाबा मन्दिर, भैरवनाथ मन्दिर, तनहुँको रम्वादेवी स्थान, गुल्मी र पल्पाको सिमानामा रहेको रुरु क्षेत्र रिडीधाम, गुल्मीको रेसुंगा, अर्घाखाँचीको सुपादेउराली, पाणिनी ऋषिको तपस्थली पाणिनी गुफा, कपिलवस्तुको तिलौराकोट दरबार, तौलिहवाको तौलेश्वर महादेव मन्दिर, दाङको धारापानी पाडण्वेश्वर महादेव मन्दिर, रोल्पाको जलजला, रिहारको बगारबाबा मन्दिर, प्युठानको स्वर्गद्वारी, नेपालगन्जको वागेश्वरी मन्दिर, बर्दियाको ठाकुरद्वारा मन्दिर प्रदेश ५ का प्रमुख दर्शनीय स्थल हुन् ।

Lumbini-Mayadevi-Mandir

लुम्बिनी
प्रदेश ५ को सबैभन्दा ठूलो धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थान हो लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनी रुपन्देहीको सिद्धार्थनगरदेखि २१ किलोमिटर दक्षिण पश्चिममा पर्छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीको मुख्य केन्द्र हो । लुम्बिनीमा बौद्ध पूर्णिममा विशेष मेला लाग्ने गर्छ । नयाँ वर्षको अवसरमा लुम्बिनीमा विशेष घुइँचो देखिएको छ ।

sworgdwari puythan

स्वर्गद्वारी
प्युठानमा पर्ने स्वर्गद्वारी आश्रम धार्मिक पर्यटकको मन खिच्ने स्थल हो । यहाँ वर्षेनि हजारौं श्रद्धालुहरु दर्शन र पूजा आराधना गर्न पुग्ने गर्छन् । यो ठाउँमा बाह्रैमास यज्ञ चलिरहन्छ । पाठशाला, गौशाला, धर्मशाला, यज्ञशाला र देवमन्दिरहरु यहाँका आकर्षक हुन् । यो ठाउँमा द्वापर युगमा पाण्डवहरुले यज्ञ गरेको भन्ने विश्वास छ । यो आश्रम तथा मठ मन्दिरहरुको स्थापना स्वामी हंसानन्द गिरिबाट भएको मानिन्छ । स्वर्गद्वारीबाट टाढा–टाढाको दृश्यावलोकन पनि गर्न सकिन्छ । यो ठाउँमा पुग्न पूर्व–पश्चिम लोक मार्गदेखि उत्तर लाग्नुपर्ने हुन्छ । दाङको घोराही हुँदै अथवा भालुवाङबाट पनि जान स्वर्गद्वारी पुग्न सकिन्छ । प्युठानको खलंगाबाट करिब २५ किलोमिटर पश्चिम–उत्तरमा स्वर्गद्वारी लेक छ । नयाँ वर्षको अवसरमा स्वर्गद्वारी पनि पुग्नेको संख्या पनि उल्लेख्य छ ।

पाल्ही भगवती
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अवस्थित पाल्ही भगवती मन्दिर तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधीनमा थियो । यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुल देवी पाल्ही भगवतीको स्थापना भएको हो । नवलपरासीको सदरमुकाम परासी बजारदेखि आठ किलोमिटर परासी महेशपुर मार्गको दाहिने भागमा पाल्ही भगवती मन्दिर पर्छ । पाल्ही भगवती मन्दिर दर्शनका लागि भारतबाट समेत श्रद्धालु भक्तजन आउने गर्छन् । पाल्ही भगवती नयाँ वर्ष मनाउनेहरुको विशेष रोजाइमा परेको छ ।

पर्रोहा धाम
रुपन्देहीको धार्मिक पर्यटकीय स्थलको रुपमा चिनिएको पर्रोहामा पनि नयाँ वर्षमा पर्यटकको घुइँचो लागेको छ । पर्रोहामा पशुपतिनाथमा जस्तै दिनको तीन समय पूजन आरती हुने गर्छ । पशुपतिनाथपछिको नेपालमा तीन समय पूजा आरती हुने धाम पर्रोहा बोलवम हो । धाममा साउनमा एक महिना विशेष मेला लाग्छ । यो ठाउँमा पुग्न बुटवल बजारदेखि करिब १० किमी पश्चिम पूर्व–पश्चिम राजमार्गको रानीवगिया भन्ने ठाउँबाट झन्डै २ किमी दक्षिणतर्फ जानुपर्ने हुन्छ ।

siddhababa-newskarobar

सिद्धबाबा
रुपन्देही र पाल्पाको सीमानजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिद्धबाबा धामले पनि पर्यटकलाई आकर्षित गरेको छ । सिद्धार्थ राजमार्गको छेउमा पर्ने यो मन्दिर प्राकृतिक सम्पदाले पनि सिंगारिएको छ । यो ठाउँमा भतृहरिले तपश्या गरेको मानिन्छ । यो मन्दिरमा दर्शन तथा पूजा गर्न भारतबाट पनि ठूलो मात्रामा श्रद्धालु हिन्दू धर्मानुरागी आउने गरेका छन् ।

भैरव मन्दिर
पाल्पाको भैरवनाथ मन्दिर तानसेनबाट करिब ९ किलोमिटर पश्चिममा अवस्थित छ । वरात्र, वैशाख तथा मंसिरमा बढी भीड लाग्ने गरे पनि नयाँ वर्षमा भैरवनाथ मन्दिर धेरैको रोजाइमा पर्ने गर्छ । मन्दिरमा बाह्रैमास पूजाआजा गर्न श्रद्धालु एवं अवलोकनका निम्ति आउने पर्यटकको संख्या बढ्दो छ । यो ठाउँबाट विभिन्न हिमालयको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । भैरवनाथ अवलोकनका लागि चीन, भारत, अमेरिका, जापानलगायत देशबाट पनि पुग्ने गरेका छन् ।

भैरवस्थानको मन्दिर पाल्पाका तत्कालीन सेन वंशीय राजा मणिमुकुन्द सेनले भैरवनाथ उत्पत्ति भएको ठाउँमा निर्माण गरेको बताइन्छ । यो मन्दिरमा मूर्ति हेर्ने चलन भने छैन । काल भैरवको मूिर्त विकराल भएकाले प्राचीन समयदेखि मन्दिरका पूजारीले समेत मूर्ति अगाडि लगाएको कालो कपडा बाहिरबाटै पूजा गर्ने गर्छन् । भैरवलाई वली दिने प्रचलन छ भने मन्दिरमा मानापाथीको चामलको पीठोको रोट प्रसादस्वरुप चढाउने प्रचलन छ ।

रुरु क्षेत्र
पाल्पा, गुल्मी र स्याङ्जाको सिमानामा रहेको रिडी धाम प्रचीन धाम हो । विष्णु स्वरुप शालिग्राम बग्ने नदी कालीगण्डकीको किनारमा अवस्थित रिडी क्षेत्र रुरु क्षेत्रको नामले पनि चिनिन्छ । रुरु कन्याले तपश्या गरेका कारण रुरु क्षेत्र नामकरण भएको शास्त्रीय प्रमाण पनि छ । यो ठाउँमा पाल्पातर्फ राजा मणिमुकुन्दले स्थापना गरेको प्राचीन हृषिकेश मन्दिर छ । यो मन्दिरमा विराजमान मूर्ति कसैले नबनाई राजा मणिमुकुन्दसेनलाई सपनामा देखिएको र कालीगण्डकीभित्र भएको सपना देखेपछि उनले जाल हान्न लगाई निकालेर मन्दिर स्थापना गरी पूजा आराधना सुरु गरेको जनश्रुति छ । रुरु क्षेत्र नेपालका चारधाममध्यको एक धाम हो । यो धाम क्षेत्रमा माघेसंक्रान्तिमा ठूलो मेला लाग्ने गर्छ । नेपालका कुना–कुना तथा भारतबाट पनि श्रद्धालुहरु दर्शन तथा स्नान गर्न रुरु आउने गर्छन् । नयाँ वर्षमा पनि ठूलो मात्रामा मानिसहरु रुरु क्षेत्र पुगेका छन् ।

gulmi resunga-newskarobar

रेसुंगा
रेसुंगा क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र हो । गुल्मीको सदरमुकामबाट नजिकै रहेको यो ठाउँ अति नै रमणीय छ । रेसुंगाको डाँडामा ऋषि शृंगीले तपश्या गरेका कारण रेसुंगा नामकरण हुन गएको किंम्बदन्ती छ । यिनै ऋषिलाई लगेर राजा दशरथले अयोध्यामा पुत्रेष्ठी यज्ञ गरेपछि रामचन्द्र जन्मिएको कुरा रामायणमा उल्लेख छ । रेसुंगा क्षेत्रमा मन्दिर, विशाल प्राचीन यज्ञशाला, रामकुण्ड आदि स्थल छन् भने पर्यटनका लागि पनि भ्युटावर पनि निर्माण गरिएको छ । डाँडाबाट अन्नपूर्ण, धौलागिरि, माछपुच्छ्रे आदि हिमालको मनोरम दृश्यपान गर्न सकिने हुँदा नयाँ वर्षमा रेसुंगा अधिकांशको रोजाइमा परेको छ ।

पाण्डवेश्वर महादेव
दाङको धारापानीमा संसारकै सबैभन्दा अग्लो त्रिशूल स्थापित गरिएको छ । त्रिशूलको आकारमा १ सय ८ वरपीपल स्वामी पनि रोपिएको छ । दाङको सदरमुकाम घोराहीबाट करिब ७ किलोमिटर दक्षिणमा रहेको धारापानीमा हरेक वर्ष शिवरात्रिका दिन पाँच दिनसम्म ठूलो मेला लाग्छ । नयाँ वर्षमा पाण्डवेश्वर घुम्न जानेहरुको संख्या पनि बर्सेनि बढ्दै गएको छ ।

बागेश्वरी मन्दिर
नेपालगन्ज नगरको बीचमा रहेको बागेश्वरी मन्दिर ५१ शक्तिपीठमध्येको एक मानिन्छ । सतीदेवीको मुख पतन भएको स्थानको रुपमा यो मन्दिरमा पूजाआजा हुने गर्छ । बागेश्वरी दर्शनका लागि भारतबाट समेत भक्तगणको घुइँचो लागेको छ । दुर्गानवमी, रामनवमी, फागुन पूर्णिमा, शिवरात्रि र तीजका बेला यहाँ विशेष मेला लाग्छ । मन्दिरको अगाडि कुण्ड पनि छ । बीचमा जुँगाधारी महादेवको मूर्ति छ । तलाउको पानीले नुहाउनाले घाउ खटिरा र छालाको रोग निको हुने जनविश्वास छ । नयाँ वर्षमा बागेश्वरी मन्दिरमा पनि पर्यटकको बाक्लो उपस्थिति छ ।

Supa-Deurali-Arghakhanchi

सुपादेउराली
अर्घाखाँचीमा रहेको सुपादेउराली मन्दिरमा पनि नयाँ वर्ष विशेष पर्यटकको घुइँचो लागेको छ । यो मन्दिरमा पुग्नाले मात्र पनि मनोकांक्षा पुरा हुने विश्वास छ । नयाँ वर्षमा पनि आफ्नो मनकामना पूरा होस् भन्दै मानिसहरु जाने गर्छन् । सुपादेउरालीमा भाकल गर्ने अनि विभिन्न प्रकारका प्रसाद, फलफूल, रातो फूलको माला, ध्वजा, वस्त्र, चढाउने तथा पशुपन्छीको बलि दिने र परेवा उडाएर भाकल पूरा गर्न चलन छ ।

तिलौराकोट
कपिलवस्तुको तैलिहवा नगर प्राचीन सहर हो । यहाँ नजिकै तिलौराकोट दरबारमा बुद्धकालीन प्राचीन भग्नावषेश रहेकाले पनि पर्यटक बढी आकर्षित हुने गरेका छन् । तिलौराकोट इतिहास अध्येताहरुका लागि अध्ययन र खोज स्थलको रुपमा पनि विकास हुँदै गएको छ । धार्मिक पर्यटकका लागि पनि यो ठाउँमा विभिन्न मठमन्दिर तथा गुम्वा छन् । कपिलवस्तुको सदरमुकाम तौलिहवाको बीच भागमा रहेको तौलेश्वर शिवालय पनि दर्शनीय छ । यो शिवालयको आफैं उत्पत्ति भएको मानिन्छ । यो मन्दिरमा १९७४ सालपछिका घण्ट छन् ।

जलजला
कम्युनिस्ट आन्दोलनको थलो मानिन्छ जलजला क्षेत्र । तर, यो क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । जलजलमा धार्मिक स्थान कैलु वराह, वजु वराह र सहदे वराह भनेर पुज्ने गरिन्छ, जहाँ तीनवटा मन्दिर छन् । पहाडमा गुफा पनि छन् । तल–तल पानी भए जस्तो लाग्ने हिँड्दा जमिन हल्लने हुन्छ, त्यसैकारण यो क्षेत्रलाई जलजला भनिएको हो । यो ठाउँमा प्रत्येक वर्ष वैशाख, जेठ र जनैपूर्णिमाका दिन मेला लाग्छ । थवाङबाट चलावाङ र तिरिवाङ हुँदै पुगिने जलजला क्षेत्र समुद्र सतहबाट ३१९३ मिटरको उचाइमा छ । जलजला क्षेत्रमा लोपोन्मुख सेतो लालीगुरासका फूल पनि पाइन्छ ।

ठाकुरद्वारा
बर्दियाको सदरमुकाम गुलरियादेखि उत्तर–पश्चिममा पर्ने ठाकुरद्वारा मन्दिर प्राचीन मानिन्छ । यसको स्थापना महाभारतकालमा भएको जनश्रुति छ । यो ठाउँमा मन्दिरमा ठाकुर भनेर देवता पुज्ने चलन छ । ठाकुर देवतालाई कृष्ण स्वरुप मानेर पुज्ने गरिन्छ । यहाँ रहेको हालको मन्दिर भने २०३७ सालमा बनेको हो । यहाँ अन्य देवीदेवताको मूर्ति तथा मन्दिर पनि छन् । यहाँ माघेसंक्रान्तिमा भव्य मेला लाग्ने गर्छ, जहाँ ठूलो मात्रामा भारतीय पर्यटक पनि आउने गर्छन् । नयाँ वर्षमा पनि ठाकुरद्वारा विशेष रोजाइमा परेको छ ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु