fbpx
corona information

गृहपृष्ठ एक सातामै ६५ अर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति, खर्बपति क्लबमा ६ वटा कम्पनी

एक सातामै ६५ अर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति, खर्बपति क्लबमा ६ वटा कम्पनी

सेयर बजार ४५ अंकले बढ्यो, २२ अर्ब ७६ करोडको कारोबार

साताभरमा लगानीकर्ताको सम्पत्ति ६५ अर्ब रुपैयाँले बढेको छ । गत साताको अन्तिम कारोबार भएको दिन बिहीबार २७ खर्ब ४२ अर्ब रहेको कुल बजार पुँजीकरण यो साताको बिहीबार २८ खर्ब ८ अर्ब पुगेको हो । कुल बजार पुँजीकरण भन्नाले नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरूको कुल बजार मूल्य हो ।

साताभरमा नेप्से परिसूचक ४५.४८ अंकले बढेको छ । आइतबार २०४१.७९ अंकबाट खुलेको बजार बिहीबार ३ बजे २०८७.२७ अंकमा पुगेर बन्द भएको हो । आइतबार सेयर बजार ४३ अंकले घट्यो । त्यसपछिका चारै दिन बजार निरन्तर उकालो लागेको छ । सोमबार ९ अंक, मंगलबार ५ अंक, बुधबार ४९ अंक र बिहीबार २५ अंकले बजार उकालो लागेको छ ।

साताको कारोबार रकममा भने ३४ प्रतिशतको ह्रास आएको छ । गत साताभरमा ३४ अर्ब ७१ करोडको सेयर किनबेच भएको नेप्सेमा यो साता २२ अर्ब ७६ करोडको मात्र कारोबार भएको हो ।

साताभरमा पौने २३ अर्बको सेयर किनबेच हुँदा १० वटा कम्पनीको मात्र १० अर्ब ८१ करोडको सेयर किनबेच भएको छ । सर्वाधिक मूल्यको कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भयो । नेपाल लाइफको १ अर्ब ८६ करोडको सेयर कारोबार भएको हो । त्यस्तै नबिल बैँकको १ अर्ब ५८ करोड, एनआईसी एसियाको १ अर्ब ३१ करोड, शिवम् सिमेन्टको १ अर्ब २४ करोड, हिमालयन डिस्टिलरीको १ अर्ब १४ करोड, नागरिक लगानी कोषको ८६ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको ८४ करोड, ग्लोबल आईएमई बैँकको ६९ करोड, नेपाल टेलिकमको ६८ करोड र एनसीसी बैँकको ५७ करोडको सेयर कारोबार भएको छ ।

खर्बपति क्लबमा ६ कम्पनी

नेपालको सेयर बजारमा ६ वटा कम्पनी खर्बपति क्लबमा छन् । गत सातासम्ममा टेलिकम, नबिल बैँक, नेपाल रिइन्स्योरेन्स र नेपाल लाइफमात्र खर्बपति क्लबमा रहेकोमा यो साता एनआईसी एसिया र नागरिक लगानी कोष थपिएका हुन् ।

टेलिकमको कुल सम्पत्ति सर्वाधिक १ खर्ब ८१ अर्ब रुपैयाँ छ । त्यस्तै नबिलको १ खर्ब ४८ अर्ब, नेपाल रिइन्स्योरेन्सको १ खर्ब ३४ अर्ब, नेपाल लाइफको १ खर्ब २६ अर्ब, नागरिक लगानी कोषको १ खर्ब २ अर्ब र एनआईसी एसिया बैँकको १ खर्ब १ अर्ब रुपैयाँ छ ।

बजार पुँजीकरण सबैभन्दा बढी भएका १० कम्पनीमा नेपाल इन्भेस्टमेन्ट बैँक ७३ अर्ब, एभरेस्ट बैँक ६८ अर्ब, शिवम् सिमेन्ट ६७ अर्ब र ग्लोबल आईएमई बैँक ६६ अर्ब पनि परेका छन् ।

साताभरमा टेलिकमको सम्पत्ति १५ अर्बले बढ्यो भने नबिल बैँकको ५ अर्बले घटेको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्सको ३ अर्ब बढेको छ भने नेपाल लाइफको २ अर्बले घटेको छ । नागरिक लगानी कोष १९ अर्ब र एनआईसी एसिया ६ अर्ब सम्पत्ति बढेर खर्बपति क्बलमा उक्लिएका हुन् ।

प्रकाशित समय १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु