fbpx
corona information

गृहपृष्ठ नेपाल लाइफको सेयरमा लगानीकर्ता किन आकर्षित ?

नेपाल लाइफको सेयरमा लगानीकर्ता किन आकर्षित ?

जीवन बिमा कम्पनीमै अग्रणी नेपाल लाइफ कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । लगानीकर्ताको आकर्षण बढेसँगै कम्पनीको सेयर मूल्य चार कारोबार दिनमा २३ प्रतिशतले बढेको छ ।

बुधबार (मंसिर २४) मा १८३४ रुपैयाँ प्रतिकित्ता रहेको नेपाल लाइफको सेयर मूल्य मंगलबार (आज) २२६५ मा उक्लिएको हो । आर्थिक वर्ष २०७४/७५ को बोनस सेयर वितरणपश्चात् नेप्सेमा कम्पनीको कुल ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता सेयर सूचीकृत छ । मंगलबारको अन्तिम सेयर मूल्यका आधारमा जीवन बिमातर्फ कुल बिमा शुल्कको एक तिहाइ बजार ओगटेको कम्पनीको कुल बजार पुँजीकरण बुधबार १ खर्ब २४ अर्ब ४८ करोड रूपैयाँ नाघेको छ ।

गत साता पनि कुल कारोबार हुने १० कम्पनीको सूचीमा रह्यो । गत साता नेपाल लाइफको मात्रै १ अर्ब २९ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कारोबार हुने नेपाल लाइफअघि नेपाल रिइन्स्योरेन्स कम्पनीमात्रै छ ।

नेपाल लाइफ इन्स्योरेसन्स बोनस तथा लाभांश दुवै चाहने लगानीकर्ताको रोजाइमा पर्ने कम्पनी हो । कम्पनीले आर्थिक वर्ष २०६८/६९ मा ७० प्रतिशत बोनस र ५६.३१ प्रतिशत नगद, ६९/७० मा ७० प्रतिशत नै बोनस र २८.५ प्रतिशत नगद, ७०/७१ मा ६० प्रतिशत बोनस र ८ प्रतिशत नगद, ७१/७२ र ७२/७३ मा समान २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद, ७३/७४ मा ४२ प्रतिशत बोनस र २८.५ प्रतिशत नगद तथा २०७४/७५ मा २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद वितरण गरेको छ ।

अहिले लगानीकर्ता नेपाल लाइफको सेयरमा आकर्षित हुनुको मुख्य कारण अब बाँड्ने लाभांश हो । विगतमा २०७१/७२ र ७२/७३ मा बाहेक उच्च प्रतिफल दिएको कम्पनीले आव २०७५/७६ र ७६/७७ दुवै वर्षको लाभांश बाँड्न बाँकी छ । सोही लाभांश पाउने आशामा लगानीकर्ताले नेपाल लाइफको सेयर उठाइरहेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा नेपाल लाइफ सबैभन्दा अगाडि छ । नेप्से परिसूचक ५ अंकले घट्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँ बढेको छ भने ५२ करोड ३८ लाख २६ हजार रुपैयाँबरारबको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ ।

बजार परिसूचक घट्यो ?

मंगलबार नेप्से परिसूचक ५ अंकले घटेको छ । बैंक, लघुवित्त र जीवन बिमा समूहबाहेकका सबै समूह घटेपछि समग्र बजार परिसूचक ५.७५ अंकले घटेर २०६१.४१ अंकमा झरेको छ । २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर ६ अर्ब ६ करोड ९३ लाख रूपैयाँमा कारोबार भएको छ ।

बजार घट्दा पनि उन्नति सहकार्य लघुवित्त, माहुली सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

प्रकाशित समय १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु