गृहपृष्ठ नेप्सेले पार गर्यो १८०० अंक, यी तीन आधारमा बढ्दै छ बजार
नेप्सेले पार गर्यो १८०० अंक, यी तीन आधारमा बढ्दै छ बजार
पौने ७ अर्बको ऐतिहासिक कारोबार

सेयर बजार परिसूचक नेप्से आइतबार १८०० अंक पार गरेर फर्किएको छ । बजार खुलेको १२ मिनेटमै १८११ अंक पार गरेको नेप्सेको वृद्धि धेरैबेर टिक्न सकेन । अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्न थालेपछि अर्को १३ मिनेट नबित्दै नेप्से नेगेटिभ बन्यो । तर, त्यसको केहीबेरमै नेप्सेले पुनः १८११ अंक पार गर्यो । त्यसपछि लगातार लाग्दै कारोबार समय आधा घण्टा बाँकी रहँदा नेप्से १७६१ अंकसम्म झर्यो । अन्त्यमा केही सम्हालिँदै ४ अंकले बढेर बजार बन्द भएको छ ।
बैँक, विकास बैंक र अन्यबाहेकका सबै समूह राताम्य बनेको बजारमा नेप्से परिसूचक ४.६९ अंकले बढेर १७८२.८१ अंकमा उक्लिएको छ । आज २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता सेयर ६ अर्ब ९० करोड ६७ लाख रूपैयाँबराबरमा कारोबार भएको छ । यो नेप्सेको ऐतिहासिक कारोबार हो । यसअघि गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
सेयर बजार विश्लेषकहरूले अहिलेको बुलिस ट्रेन्डको मूल आधार न्यून ब्याजदर भएको बताएका छन् । सेयर विश्लेषक रविन्द्र भट्टराई अहिलेको बुलको आधार न्यून ब्याजदरका साथै प्राविधिक परिवर्तन र कोरोनाभाइरस रहेको बताए । ‘सेयर बजारमा हरेक बुलको आधार ब्याजदर नै बन्ने गरेको छ,’ उनले फेसबुकका लेखेका छन्, ‘यसपटकको बुललाई पनि कम्पनीका आकर्षक प्रतिवेदनभन्दा ब्याजदर, प्राविधिक परिवर्तन र भाइरसले पर्याप्त आधार प्रदान गरेको छ ।’
बजारको घटाइभन्दा बढाइमा गति त्यसै पनि कम हुने विश्लेषक भट्टराईले बताएका छन् । ‘बुल सुरु भएपछि अघिल्ला उचाइ पार नगरी बुल सकिँदैन,’ उनले लेखेका छन्, ‘बजारमा अहिले जुन अंक देखिरहेका छौँ, ती पहिल्यै देखिइसकेका अंक हुन्, नयाँ अंक देख्न अझै बाँकी नै छ ।’ विश्लेषक भट्टराईले नेप्सेको उचारचढावसँगै किन्ने र बेच्ने नगरेर लामो समय होल्न गर्न सक्नेले मात्र बढी पैसा बनाउने भएकाले दीर्घकालीन लगानीकर्ता बन्न सुझाव दिएका छन् ।
प्रकाशित समय १५:५३ बजे