fbpx
corona information

गृहपृष्ठ नेप्से ८० अंकले कसरी घट्यो, खातामा सेयर नभई बेचेर हो ?

नेप्से ८० अंकले कसरी घट्यो, खातामा सेयर नभई बेचेर हो ?

लकडाउनपछि खुलेको सेयर बजार सोमबार सामान्य अवस्थामा रहे पनि मंगलबार र बुधबार उच्च अंकले बढेसँगै हौसिएका लगानीकर्ता बिहीबार सोही गतिमा ओरालो लागेपछि हच्किएका छन् । उनीहरूले सेयर किनबेचमा ब्रोकर कम्पनीहरूबाट गैरकानुनी गतिविधि भएको अनुमानसमेत गरेका छन् ।

बिहीबार ८० अंकले बजार घटेपछि अधिकांश लगानीकर्ताको आशंका यस्तै थियो । शंकरदेव क्याम्पसनजिकैको अनलाइन सेक्युरिटिजमा एक लगानीकर्ता भन्दै थिए, ‘बल्ल बजार बढ्ला जस्तो थियो, घटाइहाले, खातामा सेयर भए पनि नभए पनि ब्रोकरसँग सेटिङ मिलाएर किनबेच गर्छन्, के गर्ने ?’ विगतमा जस्तो भए उनको आशंका गलत थिएन । तर, लकडाउनपछि बजार खोल्दा नेपाल धितोपत्र बोर्डले सिस्टम बनाउन र निगरानी गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएपछि खातामा सेयर नभई बेच्न नमिल्ने भएको छ ।

धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले दलाल व्यवसायीलाई यस्तो अवैध गतिविधि नगर्न परिपत्र नै गरेकाले लकडाउनपछि खातामा सेयर नभई बेच्न नमिल्ने बनाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । ‘पहिला ब्रोकरले ब्यालेन्स चेक नगरी स्विच अफ गरेर पनि सेयर किनबेच गराउने र खातामा सेयर नभई बेच्ने गतिविधि हुने गरेका थिए,’ उनले भने, ‘लकडाउनपछि ब्रोकरलाई अनिवार्य स्विच अन गरेर मात्र कारोबार गर्न परिपत्र गरिएकाले कुनै कारोबार डिफल्ट भए कारबाही हुन्छ । मलाई लाग्छ ब्रोकरहरूले यसमा रिस्क लिन चाहँदैनन् ।’

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार अहिले त्यस्तो गतिविधि भएको पाइए नेप्सेले निगरानी गर्ने र कारबाहीका लागि बोर्डमा सिफारिस गर्नेछ । ‘हामीले सिस्टम नै बनाएर अनुगमन गर्न नेप्सेलाई निर्देशन दिएका छौँ, सिस्टम बनाइएको छ कि अरु कुनै संयन्त्र प्रयोग गरिएको छ, बुझ्नुपर्छ,’ उनले भने, ‘लकडाउनपछि चार दिनमात्रै कारोबार भएको र त्यसयताका गतिविधि अनुगमन भइरहेकाले खातामा सेयर नभई बिक्री गरेको नगरेको बुझ्न पाएको छैन तर हामी त्यस्तो कारोबार नभएकोमा विश्वस्त छौँ ।’

धितोपत्र दलाल व्यवसायीले खातामा सेयर नभई कुनै लगानीकर्ताको दबाब या प्रभावमा या धितोपत्र दलाल व्यवसायी स्वयंले बेचेको पाइए लाइसेन्स होल्ड गर्ने, सस्पेन्ड गर्नेलगायतका कारबाही हुने बोर्डले जनाएको छ ।

नेप्सेमा ८० अंकको गिरावट आउँदा ३२ कम्पनीले कमाए

लामो समयपछि बजार खुलेको चौथो दिन नेप्से परिसूचकमा पहिरो जाँदा पनि ३२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । लगातार दुई दिनमै १४३ अंकले बढेको बजार एकैदिनमा ८० अंकले घट्दा स्वाभिमान लघुवित्त, गुराँस फाइनान्स, गुडविल फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, स्पर्श लघुवित्तलगायतका कम्पनीले कमाएका हुन् ।

दुई दिन उच्च गतिले बजार उकालो लागेको मौका पारेर सट्टेबाजसँगै अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेपछि बजार उच्च अंकले घटेको विश्लेषकहरू बताउँछन् । ‘बजार घट्नुपर्ने कुनै कारण छैन,’ सेयर बजार विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘तरलता बढेको छ, बैंकको ब्याज घटेको छ, लकडाउनका कारण अन्य व्यावसायिक गतिवधि सुस्ताएका छन्, यस्तो अवस्थामा व्यवसायीहरूले ओभरड्राफ्ट लिएर भए पनि बजारमा खन्याउँछन् ।’

अल्पकालीन लगानीकर्ता र सट्टेबाजले दुई दिन बजार बढेको मौका पारेर नाफा बुक गरेको र दुई दिनसम्म नबढेका सस्ता कम्पनी उठाएको विश्लेषकहरूको बुझाइ छ । त्यही भएर हिजो र अस्ति नबढेका सस्ता कम्पनीको मूल्य आज बढेको हो । घट्नु‑बढ्नु सेयर बजारको नियमित प्रक्रिया भए पनि बजारको गतिविधि अलि अप्रत्यासित देखिए नयाँ र साना लगानीकर्ताले चनाखो हुन जानेनन् भने नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । ‘तथापि बजार निकै तल झरेकाले जोखिम छैन र किन्ने अवसर यही हो,’ विश्लेषक भट्टराई भन्छन्, ‘यस्तो अवस्थामा सट्टेवाजहरू हावी हुन्छन्, अतालिनु हुँदैन ।’

म्युचुअल फन्डबाहेकका सबै उपसमूह ओरालो लागेपछि सेयर बजार परिसूचक साताको अन्तिम दिन बिहीबार ८०.४१ अंकले घटेर १२५६.११ अंकमा झरेको छ । सोल्टी होटल, प्रभु बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंकलगात कम्पनीको सेयर मूल्य उच्च अंकले घट्दा स्वावलम्वन लघुवित्त, गुराँस फाइनान्स, गुडविल फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, स्पर्श लघुवित्तलगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

एक घण्टा ४० मिनेटमै बजार बन्द हुँदा १४२ कम्पनीको १० लाख ६१ हजार ८९० कित्ता सेयर ४७ करोड ६६ लाख ५४ हजार रूपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा ७ करोड धेरै हो । बुधबार ४० करोड ७३ लाख ५२ हजार रूपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

प्रकाशित समय १५:०१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु