fbpx
corona information

गृहपृष्ठ आइतबार पनि नखुल्ने भो सेयर बजार

आइतबार पनि नखुल्ने भो सेयर बजार

कोरोनाभाइरस (कोभिड १९) संक्रमण जनस्तरमा फैलिनसक्ने त्रासमा ९६ दिनदेखि बन्द गरिएको सेयर बजार आइतबार पनि नखुल्ने भएको छ । सरकारले ८४ दिनपछि लकडाउन खुला गरी जनजीवन सहज बनाउन नयाँ‑नयाँ उपाय अवलम्बन गरेको १२ दिन बितिसक्दा पनि पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले बजार खोल्न नसकेको हो ।

चैत ९ गतेपछि बन्द भएको बजार वैशाख ३० र ३१ गते खुला गरिएको थियो । तर, जेठ १ गते हठात् बन्द गरिएको सेयर बजार त्यसयता खुल्न सकेको छैन । धितोपत्र ऐन २०६३ अनुसार विशेष अधिकारको रुपमा बढीमा पाँच दिनसम्म बजार बन्द गर्न आदेश दिनेसक्ने व्यवस्था छ । तर, तीन महिना बितिसक्दा पनि धितोपत्र बोर्डले बजार खुलाउन तदारुकता देखाएको छैन ।

कोरोनाको त्रासमा बन्द गरिएको बजार खोल्न धितोपत्र बोर्डले कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिमा बोर्डका उप–कार्यकारी निर्देशक नवराज अधिकारी र विनयदेव आचार्य, नेप्सेबाट नीरञ्जन फुयाँल, सिडिएस एन्ड क्लियरिङबाट कञ्चन सापकोटा, ब्रोकरबाट भरत रानाभाट र लगानीकर्ताबाट नयन बाँस्तोला र छोटेलाल रौनियार छन् । आँखामा छारो हाल्न गठन गरिएको यो समितिले बजार कहिले खुलाउन सकिन्छ ? भन्ने विषयमा प्रतिवेदन बनाएर शुक्रबार (आज)सम्म बुझाउन समय पाएको थियो । तर, समितिले प्रतिवेदन बुझाएको छैन ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरि समितिले प्रतिवेदन बुझाएपछि बोर्डको बोर्ड बैठक बस्ने र बैठकको निर्णयअनुसार नेप्सेलाई बजार खोल्न निर्देशन दिइने बताउँछन् । ‘शुक्रबार समितिले प्रतिवेदन बुझाएन, अब भोलि (शनिबार) पनि बुझाउन सक्छ, भोलि नै बोर्ड बैठक बस्यो भने नेप्सेलाई निर्देशन जान्छ,’ उनले भने, ‘भोलि बोर्ड बैठक बसेन भने आइतबार टुंगिन्छ ।’

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनि बोर्डबाट निर्देशन पाएपछि बोर्ड बैठक बसेरै बजार खोल्नुपर्ने हुन्छ । यी सबै घटनाक्रम हेर्दा बजार दुई‑चार दिन नखुल्ने लगानीकर्ताको आशंका छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुली बजार आइतबार या सोमबार नै खुल्नेमा विश्वस्त छैनन् । ‘खुल्न पनि सक्छ, बोर्डले कहिले निर्देशन दिन्छ हेरौँ, निर्देशन आएपछि खोलिहाल्छौँ,’ उनले भने ।

शुक्रबार पनि अध्ययन समितिसँग धितोपत्र बोर्डले मिटिङ गरेको थियो । तर, मिटिङमा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले प्रतिवेदन खोजी गरेनन् । नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष रानाभाट अहिले जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा बजार खोल्ने विषयमा छलफल भइरहेको बताउँछन् । ‘अध्ययन समितिले भोलि नै प्रतिवेदन बुझाउला तर त्यसमा खास केही छैन,’ उनले भने ।

सेयर बजार तत्काल नखुलाउन धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयकै केही मानिस लागिपरेको धितोपत्र बोर्ड र नेप्से स्रोतले बताएको छ । ‘धितोपत्र बजारलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएर पहिलाकै सेक्युरिटिज खरिद‑बिक्री केन्द्र जस्तो बनाउनलान् भन्ने डर पो लाग्न थालेको छ,’ नेप्से स्रोतले भन्यो, ‘बोर्डको नेतृत्व निर्णय क्षमता नभएको मान्छेलाई दिएपछि हुने यस्तै नै हो ।’

सेयर विश्लेषकहरू पनि धितोपत्र बोर्डकै कमजोरीका कारण बजार खुल्न नसकेको बताउँछन् । बजार विश्लेषक रविन्द्र भट्टराई धितोपत्र बोर्डका अध्यक्षको कमजोरी र नालायकीका कारण सेयर बजार बन्द भइरहेको बताउँछन् । ‘बजार सुधारका लागि भन्दा पनि जागिरका लागि टीका लगाएर नेतृत्वमा आएकाहरूबाट योभन्दा बढी अपेक्षा गर्नु पनि बेकार छ,’ उनी भन्छन्, ‘अहिलेको नेतृत्व जसबाट टीका लगाएर आए, उसैको आदेश र आशीर्वादमा चलिरहेका छन् ।’

धितोपत्र बोर्डका अधिकारीका अनुसार पनि अहिले अध्यक्षले तत्कालै कुनै निर्णय लिन सकिरहेको पाइँदैन । सानो निर्णयका लागि पनि मन्त्रालयको निर्देशन अपेक्षा गर्ने र दुई‑चार दिन बिताइदिने गरेको उनले बताए । उनले अध्यक्षकै अकर्मन्यताका कारण धितोपत्र बजारको विकास र विस्तारमा आँच आउनसक्ने चिन्ता व्यक्त गरे ।

यसैबीच, पाँचै वटा लगानीकर्ता संघ‑संगठनहरु सेयर बजार तत्काल सुरु गर्नुपर्ने पक्षमा देखिएका छन् । धितोपत्र बोर्डको कार्यालयमा शुक्रबार भएको छलफलमा लगानीकर्ताहरुले बजार खोल्न ऐक्यबद्धता जनाएका हुन् ।

उनीहरूले अब उप्रान्त बिनाकारण बजार बन्द गर्न कहिल्यै नभन्ने पनि प्रतिबद्धता जनाएका छन् । विगतमा बजार ओरालो लाग्न थालेपछि अतालिँदै अनेक माग राखेर बजार बन्द गराउन धर्ना त कहिले र्‍याली निकाल्ने र बजार बढ्न थालेपछि चुँ नबोल्ने लगानीकर्ताका संगठनहरूले धितोपत्र बोर्डसँगको लिखित प्रतिबद्धतासँगै सीमामा बस्नुपर्ने भएको छ ।

लगानीकर्ताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सबै लगानीकर्ताले दोस्रो बजारको कारोबार सञ्चालन गर्न ऐक्यबद्धता जनाएका छन् । उनीहरूले आफ्ना सदस्यहरुलाई महामारीको अवस्थामा घरमै बसेर कारोबार गर्न सुझाव पनि दिएका छन् ।

यो पनि पढ्नुहोस्

पूर्ण अनलाइन नहुँदा तीन महिनादेखि बजार बन्द

 

प्रकाशित समय २१:४२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु