fbpx
corona information

गृहपृष्ठ ‘आईटी पोलिसी’मा अड्कियो पूर्ण अनलाइन सेयर कारोबार

‘आईटी पोलिसी’मा अड्कियो पूर्ण अनलाइन सेयर कारोबार

पूर्ण अनलाइन नहुँदा तीन महिनादेखि बजार बन्द

२०७५ कात्तिक २० गते पाँचतारे होटल उत्साहका साथ अर्थमन्त्री डा. युवराज खतिवडाबाट उद्घाटन गराइएको नेपालको अनलाइन सेयर कारोबार अझै अटोमेटेड हुन सकेको छैन । नेपालको सेयर बजारमा अनलाइन कारोबार सुरु हुँदै गर्दा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र दलालदेखि लगानीकर्तासम्ममा देखिएको उत्साह डेढ वर्षको अवधिमा निरासामा परिणत भएको छ ।

अहिलेसम्म पनि अनलाइन कारोबारका लागि ब्रोकर कार्यालयदेखि बैंकसम्मको भर पर्नुपर्ने स्थिति छ भने धितोपत्र दलालदेखि लगानीकर्तासम्म अनलाइनभन्दा अफलाइन कारोबारमै रमाइरहेका छन् । दोस्रो बजारमा प्रवेश गरेका र केवाईसी अपडेट गराएका २ लाख ९४ हजार लगानीकर्तामध्ये २८ हजारले मात्र अनलाइन कारोबारका लागि धितोपत्र दलालबाट युजर नेम र पास लिनुले पनि यसलाई स्पष्ट पार्छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार दैनिक कारोबारीको संख्या भने १२ देखि १५ हजार छ ।

अहिले लगानीकर्ता लकडाउनका कारण बन्द भएको सेयर बजार कहिलेदेखि खुला हुन्छ ? र, अब सुरु हुँदा अटोमेटेड कारोबार होला कि नहोला ! भन्ने जिज्ञासामा छन् । धितोपत्र बोर्ड पनि बजार कहिले खुलाउन सकिन्छ भनेर समिति गठन गरेर बसेको छ । शुक्रबार समितिले दिने सुझावका आधारमा बोर्डले बजार खोल्न नेप्सेलाई निर्देशन दिनेछ ।

शुक्रबार समितिले दिने सुझावका आधारमा बोर्डले बजार खोल्न नेप्सेलाई निर्देशन दिनेछ ।

तर, मुख्य प्रश्न बजार कहिले खुल्छ भन्ने होइन, अनलाइन कारोबार सुरु भएर पनि बजार किन बन्द गर्नुपर्‍यो भन्ने हो । अनलाइन कारोबार प्रणाली अटोमेटेड थियो भने जुनसुकै अवस्थामा पनि नियामक निकाय धितोपत्र बोर्ड बजार बन्द गरेर बस्नुपर्ने अवस्थामा पुग्ने थिएन । अनलाइन सेयर कारोबार अटोमेटेड नभएका कारण सरकारले लकडाउन गरेको ८० दिन र खुला गरेको ११ दिनसम्म पनि लगानीकर्ता घाम तापेर बस्नुपर्ने स्थितिमा छन् । बोर्डले अझै कारोबार सुरु गर्न आँट गरिरहेको छैन ।

किन भएन अटोमेटेड कारोबार ?

अटोमेटेड कारोबार सुरु नहुनुको दोष नेप्सेले धितोपत्र दलाल व्यवसायीलाई र व्यवसायीले नेप्सेलाई दिने गरेका छन् । दोस्रो बजारमा नयाँ सिस्टमसहित पूर्ण अनलाइन कारोबारमा जान नेप्सेबाटै अवरोध भइरहेको व्यवसायीको आरोप छ । स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष भरत रानाभाट नेप्सेले पुरानो र नयाँ सिस्टमबीच इन्टिग्रेसन वा लिंक अप नगरिदिँदा कारोबार सेटलमेन्टमा समस्या देखिएको बताउँछन् ।

पटक‑पटक जानकारी गराउँदा पनि नेप्सेले समाधान नगरिदिएको उनको भनाइ छ । ‘हामीले करिब ३० हजार लगानीकर्तालाई अनलाइन ट्रेडिङमा जोडिसकेका छौँ,’ उनी भन्छन्, ‘तर नेप्सेको अहिलेको सिस्टमबाट काम गर्न धेरै समस्या छ ।’ यसबारे धितोपत्र बोर्ड र नेप्सेलाई धेरैपटक जानकारी गराए पनि समाधान नभएको उनले बताए ।

दलाल व्यवसायी विगतदेखि नै ब्याक अफिस सिस्टममा काम गरिरहेका थिए । नेप्सेले नेप्सेले टिएमएस सिस्टम बनाएको छ । तर, यी दुई सिस्टमबीच इन्टिग्रेसन या लिंक अप नगरिदिएका कारण म्यानुअल्ली दुई ठाउँमा कारोबारको हिसाब इन्ट्री गर्नुपर्ने अफ्ठ्यारो रहेको अध्यक्ष रानाभाटले बताए ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउद भने ब्याक अफिस सिस्टमलाई टिएमएसमा इन्टिग्रेसन या लिंक अप सुरक्षाका कारण पनि गर्न नसकिने बताउँछन् । ‘नेप्सेले त्यो काम गर्दैन, यी दुवै सिस्टमको मेडिएटरका रुपमा एपिआई सिस्टमको प्रयोग हुनेछ,’ उनले भने, ‘आइटी पोलिसी बनेपछि यो समस्या हल हुन्छ, अटोमेटेड कारोबार सुरु हुन्छ ।’

अहिले लगानीकर्ताले अनलाइनबाट सेयर किनेर इडिआइएस चेक पठाइदिन सक्छन् तर कनेक्ट आइपिएसबाट टिएमएसमा पैसा लोड गरेको ब्रोकरलाई खबर गर्नैपर्ने हुन्छ । नेप्सेले दिएको तथ्यांकअनुसार पनि एकैदिनमा १५ हजारसम्म लगानीकर्ताले सेयर किने भने सबैको फोन उठाउन दलाल व्यवसायीलाई सम्भव पनि हुँदैन ।

के हुँदै छ आईटी पोलिसी ?

पूर्ण अनलाइन सेयर कारोबारको बाधक बनेको आईटी पोलिसी भने धितोपत्र बोर्डबाट पास हुन सकेको छैन । नेप्सेले आईटी पोलिसी ड्राफ्ट गरेर बोर्डमा पठाएको र बोर्डले केही करेक्सन र कमेन्ट गरेर नेप्सेमा पठाएको प्रवक्ता निरज गिरी बताउँछन् । ‘हामीले सुधार गर्नुपर्ने कुरा औँल्याएर नेप्सेमा पठाएका छौँ,’ उनले भने, ‘नेप्सेबाट आएपछि पास हुन्छ ।’

नेप्सेका प्रवक्ता पराजुलीले भने नेप्सेबाट मौखिक जानकारी मात्र आएकाले लिखित टिप्पणी पर्खिरहेको बताए । ‘बोर्डले लिखित पठाएपछि हामी चाँडै टुंग्याउँछौँ,’ उनले भने । बजार खुल्ने विषयमा पनि बोर्ड गम्भीर भएर तयारी गरिरहेको उनले बताए । ‘हामी बजार खोल्न आतुर छौँ,’ प्रवक्ता गिरी भन्छन्, ‘चाँडोभन्दा चाँडो बजार खोल्ने गरी तयारी गरिरहेका छौँ ।’

सेयर विश्लेषक रविन्द्र भट्टराई भने नेप्से र बोर्ड दुवैको अकर्मण्यताका कारण सेयर बजार माथि जान नसकेको बताउँछन् । ‘कहिले आइटी पोलिसी र कहिले सिस्टमका नाममा नेप्से र बोर्डले २० महिना बिताइसकेका छन्,’ उनी भन्छन्, ‘अझै कति बिताउने हुन्, थाहा छैन ।’

पूर्ण अनलाइन त्यो हो, जहाँ सेयर बजारमा सरोकार राख्ने चाहे त्यो ब्रोकर होस् वा नेप्से, धितोपत्र बोर्ड, लगानीकर्ता, सिडिएस, मर्चेन्ट बैंक वा बैंक घरमै बसेर सबै काम गर्न सक्छन् । – रविन्द्र भट्टराई

गम्भीर भएर यस्ता समस्या समाधानमा लाग्ने हो हो भने एक महिनामा सबै टुंगिने उनले बताए । ‘पूर्ण अनलाइन कारोबार भएको भए अहिले लकडाउनकै कारण बजार बन्द गर्नुपर्ने स्थित आउने थिएन,’ भट्टराई भन्छन्, ‘एउटा अपूर्ण र देखावटी अनलाइन प्रणालीलाई नेप्से संसारकै उत्कृष्टको संज्ञा दिँदै हिँडेको छ ।’

उनका अनुसार पूर्ण अनलाइन त्यो हो, जहाँ सेयर बजारमा सरोकार राख्ने चाहे त्यो ब्रोकर होस् वा नेप्से, धितोपत्र बोर्ड, लगानीकर्ता, सिडिएस, मर्चेन्ट बैंक वा बैंक घरमै बसेर सबै काम गर्न सक्छन् । ‘सेयर किनबेचको पूरा चक्र घरबाटै सम्पन्न हुन्छ । न कार्यालय धाउनुपर्छ न त बैँक । घर नै कार्यालय । न पैसा लिन धाउनुपर्छ न त पैसा दिन,’ विश्लेषक भट्टराई भन्छन्, ‘तर उदेक लाग्दो कुरा संसारको उत्कृष्ट प्रणालीको दाबी गर्नेहरु ८० दिनको लकडाउन र लकडाउन खुलेको ११ दिनसम्म पनि बजार बन्दको सूचना टाँसेर बसेका छन् ?’

पूर्ण प्रविधि र सुविधाको अभावमा लगानीकर्ता वा समग्र सेयर (पुँजी) बजारले ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले दुखेसो गरे । ‘लकडाउनका समयमा बन्द हुनु नेपाली सेयर बजारका लागि दुर्भाग्य हो,’ भट्टराई भन्छन्, ‘सेयर बजारको यो कालो समय कोरोनाभाइरसका नाममा नभई बोर्ड र नेप्सेको नेतृत्वका नाममा लेखिनेछ, जसका कारण सेयर बजारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरुको संगठनको एउटा सदस्यले शिर निहुराउनुपरेको छ ।’

अहिले अनलाइन कारोबारकै सहजताका लागि ग्लोबल आइएमई, प्रभु, सिद्धार्थ र नेपाल इन्भेस्टमेन्ट बैंकलाई क्लियरिङ बैंकको कार्य गर्ने अनुमति दिइएको छ । तर, हालसम्म ग्लोबल आइएमई र प्रभुले मात्र काम गरिरहेका छन् ।

प्रकाशित समय १३:४२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु