fbpx
newskarobar-job-vacancy
NIC ASIA- magh 1

गृहपृष्ठ बैंकलाई ब्रोकर लाइसेन्स नदिन ‘राजनीतिक दबाब’

बैंकलाई ब्रोकर लाइसेन्स नदिन ‘राजनीतिक दबाब’

broker license-newskarobar

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियामा अवरोध पुर्‍याउन ब्रोकर कम्पनीले ‘राजनीतिक दबाब’ बढाएका छन् । बैंकलाई सहायक कम्पनी खोलेर लाइसेन्स लिनका लागि कार्यविधि बनाएर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आवेदन माग गरिसके पनि संसदीय समितिमार्फत प्रक्रियामा अवरोध पु-याउन ब्रोकरहरुले अर्थ समिति गुहारेका हुन् ।

ब्रोकर कम्पनीहरुले दबाब बढाएपछि साउन २९ गते बुधबार अर्थ समितिमा नेपालको पुँजीबजारको विद्यमान अवस्था र वाणिज्य बैंकहरुका सहायक कम्पनीहरुलाई धितोपत्रको ब्रोकर लाइसेन्स प्रदान गर्न भए गरेका निर्णय, सूचना परिपत्र तथा भावी योजना सम्बन्धमा छलफल भएको छ । छलफलमा अर्थसचिव राजन खनाल, राष्ट्र बैंकको गर्भनर डा. चिरञ्जीवी नेपाललगायतको सहभागिता थियो । समितिले ‘छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने’ भन्दै नेप्सेलाई पत्र पनि पठाइसकेको छ ।

समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा सत्यतथ्य अध्ययन गर्न भन्दै सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ । समितिले दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ । जबकि सांसद झाँक्रीलाई सेयर बजारका बारेमा निकै कम ज्ञान छ । समितिमा सांसदहरु मेटमणि चौधरी, हेमकुमार राई, रामबाबुकुमार यादव र प्रमिला राई सदस्य छन् । समितिमा छलफलका लागि छिट्टै मिति तय हुने सांसद चौधरीले जानकारी दिए । ‘लाइसेन्स रोक्न ब्रोकर कम्पनीहरुले अन्तिम कसरत गरेका छन्,’ उनले भने, ‘तर हामीले बुझिसकेका छौं, यो प्रयास सफल हुँदैन ।’ ब्रोकरहरुले ‘साह्रै अन्यायमा परेका छौं’ भनेपछि छलफल अघि बढाइएको उनले बताए ।

छलफलमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘समितिको उद्देश्य बैंकलाई ब्रोकर लाइसेन्स दिने/नदिने भन्दा पनि हतारिएर किन दिनुपर्‍यो ?’ भन्ने रहेको बताएका थिए । छलफलमा गभर्नर डा. नेपालले भने पर्याप्त गृहकार्य र अध्ययनपछि नै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने बाटो खोलेको जानकारी गराएका थिए । समितिको छलफलमा पुँजीगत लाभकर गणनाका विषयमा भने कुनै छलफल भएन ।

अर्थ समितिबाट ‘छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने’ भन्दै पत्र आएपछि नेप्से सञ्चालक समिति बैठक बस्ने भएको छ । एक-दुई दिनभित्रै सञ्चालक समितिमा छलफल गरी तयारी अवस्थामा रहने नेप्सेले जनाएको छ । ‘अर्थ समितिबाट निर्देशन नआएको भए हामी फटाफट अघि बढ्ने थियौं,’ नेप्सेका एक अधिकारीले भने, ‘निर्देशन आइसकेपछि प्रक्रिया अघि बढाउने विषयमा अन्योल भएको छ ।’

सेयर विज्ञको कडा टिप्पणी
बैंकलाई ब्रोकर लाइसेन्स दिएर धितोपत्र बजार विस्तार गर्नुपर्ने विषयमा वर्षौंदेखि बहस चलाउँदै आएका सेयर विश्लेषक रविन्द्र भट्टराईले विगतमा जस्तै बैंकलाई ब्रोकर लाइसेन्स नदिन चलखेल सुरु भएको बताए । ‘विगतमा पनि यस्तै अनेक प्रोपोगाण्डा भएका थिए, बल्ल एउटा गति लिँदै थियो, फेरि राजनीतिक घुसेछ,’ उनले भने, ‘तर जतिसुकै प्रयास गरे पनि बैंकलाई ब्रोकर लाइसेन्स दिने कार्यले पूर्णता पाउँछ ।’

अर्थ समितिको सभापतिलाई ‘सेयर के हो’ भन्नेसमेत जानकारी नभएको तर कसैको ‘प्रभाव’मा ढिला गराउन उद्यत भएको भट्टराईको बुझाइ छ । ‘धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिनुपर्छ भन्नेमा छन्, गर्भनर डा. नेपाल स्वयं बोर्डका पूर्वअध्यक्ष हुन्, उनी झन् धेरै सकारात्मक छन्, नेप्से पनि तत्कालै लाइसेन्स दिनुपर्ने पक्षमा छ,’ उनले कडा टिप्पणी गरे, ‘अनि सांसदले कुन हैसियतमा रोक्न खोज्दैछन् ? यस्ता नचाहिँदा कामका पछि लागेर सांसदको लोगोको दुरुपयोग किन गर्ने ?’

अर्थ समितिद्वारा गठित उपसमितिलाई २ महिनाको समय दिनुको मुख्य कारण पनि धितोपत्र बोर्डका अध्यक्षको पदावधि सकियोस् भन्ने रहेको उनले बताए । अध्यक्ष कार्कीको चार बर्से कार्यकाल दुई महिनाभित्र सकिँदैछ ।

यो पनि पढ्नुहोस्

ब्रोकर लाइसेन्सका लागि ७ बैंकको आवेदन

प्रकाशित समय १६:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु