fbpx
Nepal Mediciti

गृहपृष्ठ सेयर बजारमा भित्रिँदै नयाँ लगानीकर्ता

सेयर बजारमा भित्रिँदै नयाँ लगानीकर्ता

‘बजारमा धैर्य गर्न सक्ने लगानीकर्ताले नै बढी कमाउँछ’

rabindra-bhattarai-newskarobar

दोलखा भीमेश्वर नगरपालिकाका रमेश बस्नेतले पहिलोपटक जेठ अन्तिम साता ब्रोकर नम्बर १ बाट मेगा बैंकको एक हजार कित्ता सेयर किने । काठमाडौंको नयाँ बानेश्वरस्थित एक संस्थाबाट लगानीसम्बन्धी कोर्स गरेर दोस्रो बजार प्रवेश गरेका उनले दुई महिनाको अवधिमा १४ कम्पनीको सेयर किनिसकेका छन् ।

व्यवस्थापन विषयमा स्नातकसम्मको अध्ययन गरेका रमेश दक्षिण कोरियाबाट केही महिनाअघि मात्र फर्किएका हुन् । पेप्सीकोला टाउन प्लानिङ क्षेत्रमा बसोबास गर्ने उनको स्टेसनरी छ । पसलमा फुर्सद हुनासाथ बजार तथा कम्पनी अध्ययनमा लागिहाल्छन् । श्रीमती पसलमा पालो दिन आएपछि उनको व्यस्तता झन् बढ्छ । सेयर बजारसम्बन्धी समाचार तथा लेखहरु पढ्छन् । साधारणसभासम्बन्धी सूचना हेर्छन् । कम्पनीका अन्य गतिविधि बुझ्छन् । युट्युब भिजिट गर्छन् । सेयरसम्बन्धी प्राविधिक शब्द बुझेनन् भने विज्ञहरुसँग परामर्श लिन्छन् ।

विगतमा कसरी सेयर किनबेच गरिन्थ्यो, उनलाई खास अनुभव छैन । तर, अनलाइन सिस्टमबाट सेयर खरिद-बिक्री गर्न धेरै सहज लागेको रमेश बताउँछन् । ‘धेरै सजिलो छ, पसलमा बसी-बसी कम्पनी र नेप्से परिसूचक अध्ययन ग-यो अनि किनबेचको निर्णय लियो,’ २८ वर्षीय रमेश भन्छन्, ‘छुट्टै समय निकाल्नै पर्दैन ।’

सेयर बजारमा प्रवेश गरेपछि उनलाई अनौठो लागेको कुरा हो- पैसाले नै कमाउनु । ‘सेयर बजारमा पैसाले नै कमाउने रहेछ,’ बढो उत्साहित पारामा उनले भने, ‘म पसलमा बसेर कमाउँछु, मेरो पैसाले बजारमा गएर कमाउँछ ।’ सेयर बजार पैसाको समुद्र भएकाले जसले जति सक्यो त्यति उघाउन सक्ने उनले बुझिसकेका छन् । भन्छन्, ‘जत्रो भाँडो डुबायो, त्यति नै पानी आउने हो ।’

रमेश सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईका लेख खोजी-खोजी पढ्छन् । ‘नयाँ भएकाले होला, अलि धेरै जानकारी हासिल गर्न मन लाग्ने रहेछ,’ उनी भन्छन्, ‘जति धेरै अध्ययन ग-यो, उति धेरै कन्फिडेन्स बढ्ने रहेछ ।’

रमेश प्रतिनिधि पात्र मात्र हुन् । अहिले कम्पनी तथा नेप्से परिसूचकको स्थिति अध्ययन गरेर बजार प्रवेश गर्ने युवाको संख्या बढ्दो छ । बजारको ट्रेन्ड बुझेर र कम्पनीका परिसूचकहरु अध्ययन गरेर र बलिया कम्पनी छानेर बजार प्रवेश गर्ने युवाको संख्या बढ्नु सेयर बजारको विकासका लागि महत्वपूर्ण हुने विश्लेषक भट्टराई बताउँछन् । ‘नेपालको सेयर बजार पहिलाभन्दा धेरै व्यवस्थित हुँदै गएको छ,’ उनी भन्छन्, ‘अध्ययनशील युवा प्रवेश गर्दा सेयर बजारको विकास अझ व्यवस्थित हुन्छ ।’ तर, बजारमा धैर्य गर्न सक्ने र होल्ड गर्न सक्ने दीर्घकालीन लगानीकर्ताले नै बढी कमाउने उनले बताए ।

केही वर्षयता नयाँ लगानीकर्ता सेयर बजार प्रवेश गर्ने क्रम बढ्दो छ । केन्द्रीय निक्षेप प्रणाली (सीडीएस) मा करिब १५ लाख लगानीकर्ताको डिम्याट अकाउन्ट छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ५ वर्षयता बर्सेनि औसत दुई लाखका दरले लगानीकर्ताको संख्या बढेको छ । तर, सक्रिय लगानीकर्ता भने निकै कम छन् । २०७५ साउनयता २ लाख ९४ हजार लगानीकर्ताले केवाईसी अपडेट गरेको नेप्सेले जनाएको छ । ‘एक वर्षयता केवाईसी अपडेट गराएकाहरुलाई सक्रिय लगानीकर्ताका मान्न सकिन्छ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुली भन्छन्, ‘यो अवधिका युनिक लगानीकर्ताको संख्या भने १ लाख १८ हजार छ ।’ हालसम्म अनलाइन कारोबारमा जोडिएका लगानीकर्ता १३ रहेको उनले जानकारी दिए ।

नेपालको सेयर बजारमा कस्ता लगानीकर्ता छन् भन्ने सम्बन्धमा कुनै निकायले अध्ययन गरेको छैन । सेयर बजारमा संसारभर लहडका भरमा किनबेच गर्नेहरुको संख्या ठूलो हुन्छ । नेपालको स्थिति पनि योभन्दा फरक छैन । नेपालमा विगतमा केही ठूला लगानीकर्ताले बजार प्रभावित पार्ने गर्थे । अहिले भने त्यस्तो सम्भावना नरहेको नेप्सेका प्रवक्ता पराजुली बताउँछन् । ‘नीति नियममा सुधार आउँदै जाँदा, बजार व्यवस्थित हुँदै जाँदा गलत गर्नेहरु ठेगान लाग्दै गएका छन्,’ उनी भन्छन्, ‘अहिले कसैले या कुनै समूहले चाहेर बजार डिमान्ड र सप्लाई प्रभावित पार्न सक्ने स्थिति छैन ।’

अहिले धितोपत्र बोर्डले पनि वित्तीय सचेतना कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । अध्यक्ष रेवतबहादुर कार्कीका अनुसार ७२ जिल्लामा वित्तीय सचेतनाका कार्यक्रम भइसकेका छन् । यस्ता कार्यक्रमले पनि सेयर लगानीकर्ता सजग भएका छन् । ‘सेयर बजार प्रवेश गर्नुअघि अध्ययन गर्नुपर्छ भन्ने कुराको ज्ञान पाएका छन्,’ अध्यक्ष कार्की भन्छन्, ‘लगानीकर्तामा वित्तीय सचेतना कार्यक्रमको राम्रो प्रभाव परेको छ ।’ दुर्गम क्षेत्रका नागरिकमा पनि कम्तीमा प्राथमिक सेयरमा आवेदन दिनुपर्छ भन्ने चेत पलाउँदै गएको बोर्डको ठहर छ ।

लगानीकर्ता आशावादी
सामान्यतः लगानीकर्तामा सेयर बजारमा बढेका बेला किन्ने अनि घटेका बेला सेयर सुन्नै नचाहने प्रवृत्ति हुन्छ । तर, बजार घटेका बेला पनि लगानीकर्ता निकै आशावादी देखिएका छन् । २०७२ सालअघि सम्म दैनिक ४०-५० करोडको कारोबारलाई निकै ठूलो मानिन्थ्यो । अहिले नेप्से परिसूचक करिब ४० प्रतिशतले ओरालो लागेका बेला पनि ५० करोडमाथिको कारोबार भइरहेको छ । ‘उच्च ब्याजदरका बाबजुद पनि लगानीकर्ताले सेयर उठाइरहेका छन्,’ विश्लेषक भट्टराई भन्छन्, ‘यो कारोबार रकमले लगानीकर्तामा आत्मविश्वास बढेको संकेत गर्छ ।’ अहिले फिक्स्ड डिपोजिटमा पैसा राख्नेले १२ प्रतिशत ब्याज पाउँछ । सेयर बजारबाट त्यति लाभ लिन सकिने अवस्था छैन । तर पनि दैनिक ५० करोड रुपैयाँमाथिको कारोबार हुनुले लगानीकर्ता आशावादी छन् भनेर बुझ्नुपर्ने उनको विश्लेषण छ ।

प्रकाशित समय १७:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु