fbpx
Nepal Mediciti

गृहपृष्ठ सेयरमा फाइदा लिने लगानीकर्ता अनलाइन सिस्टममा गएनन् : नेप्से

सेयरमा फाइदा लिने लगानीकर्ता अनलाइन सिस्टममा गएनन् : नेप्से

online-share-karobar-newskarobar

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयरमा फाइदा लिने लगानीकर्ता नै अनलाइन सिस्टमा नगएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित सेयर बजारसम्बन्धी अन्तक्र्रियामा सीईओ साउदले भने, ‘अनलाइन सिस्टममा जाँदा कारोबार गर्नुभन्दा पहिला नै २५ प्रतिशत रकम भुक्तानी गर्नुपर्ने भएकाले सेयरमा फाइदा लिनेहरु अनलाइन सिस्टममा नगएका हुन् ।’

अनलाइनमा जाँदा अर्डरको प्रमाण पनि हुने र भोलि अर्डर गरेअनुसार रकम तिर्न बाध्य हुने भएकाले केही लगानीकर्ता अनलाइनमा जान अझै नमानेको उनको तर्क छ । अनलाइन सेवाअन्तर्गत हाल मोबाइलबाटै सेयर कारोबार गर्न सकिने र मोबाइलबाटै रकम लेनदेन गर्न सकिने सुविधा भएको उनले जानकारी दिए ।

‘अनलाइन सिस्टममा जानु भनेको पारदर्शिता र छिटोछरितो सेवाका लागि हो, यो सिस्टममा अब हामी जानैपर्छ, कहिलेकाहिँ प्राविधिक समस्या आयो भन्दैमा अनलाइनमा नजानु राम्रो हुँदैन,’ उनले भने । देशमा हाल १५ लाख सेयर लगानीकर्ता रहेको तर करिब १३ हजारले पुँजीबजारमा नियमित कारोबार गर्ने गरेको र २ लाखले केवाईसी अद्यावधिक गरेको तथ्य उनले प्रस्तुत गरे ।

नेप्सेका प्रवक्ता मुरारी पराजुलीले नेपालको अर्थतन्त्रको करिब ५० प्रतिशतजसो सेयर मार्केट रहेको बताए । ‘नेपालको सेयर मार्केटको आकार १६ खर्ब ३२ अर्बबराबर छ, जबकि अर्थतन्त्रको आकार ३४–३५ खर्ब छ,’ उनले भने, ‘सम्पन्न देशमा भने देशको अर्थतन्त्रभन्दा सेयर मार्केट बढी हुन्छ ।’

नेप्सेमा हाल २१३ कम्पनी सूचीकृत रहेको भन्दै प्रवक्ता पराजुलीले २२ वटा सहरमा सेयर कारोबार गर्ने कम्पनी वा ब्रोकर पुगेको जानकारी दिए । गत वर्ष काठमाडांैंबाहिर १० प्रतिशतजसो सेयर कारोबार भएको थियो भने यो वर्षको ११ महिनामै करिब २० प्रतिशतजसो पुग्न लागेको उनले बताए ।

नेप्सेका वरिष्ठ आईटी अधिकृत प्रभाकर घिमिरेले २०६७ सालदेखि डिम्याट सिस्टम लागू भएको र २०७२ सालदेखि पूर्णरुपमा डिम्याटबाट सेयर कारोबार हुदै आएको बताए । सेयर बजारको जोखिम न्यूनीकरण गर्न ब्रोकरको आवश्यकता भएको उनले जनाए । कार्यक्रममा पोखरामा कार्यरत करिब ५० सञ्चारकर्मीको सहभागिता थियो ।

प्रकाशित समय २२:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु