fbpx
Nepal Mediciti

गृहपृष्ठ सेयर बजार किन निरन्तर ओरालो लाग्यो ?

सेयर बजार किन निरन्तर ओरालो लाग्यो ?

share-bazar-weekly-newskarobar

नेप्सेको उतारचढावबीच अनेक अड्कलबाजी भइरहँदा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट लगानीकर्ताले खोजेजस्तै आयो । अर्थमन्त्री डा. युवराज खतिवडालाई सेयर बजारप्रति अनुदार बनेको आरोप लगाउनेहरुले पनि बजेटको मुक्तकण्ठले तारिफ गरे ।

पुँजी बजारका पाँचवटै लगानीकर्ता संघ नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र लगानीकर्ता दबाब समूहले बजेटको संयुक्त रुपमा स्वागत गरे । उनीहरुले बजेटले ७.५ प्रतिशत लाभकरबाट घटाएर ५ प्रतिशतमा झारेर अन्तिम लाभकरको रूपमा कायम गर्दा लगानीकर्ता उत्साहित भएको बताए । बजेटले गैरआवासीय नेपालीलाई सेयर बजारमा सहज प्रवेशका लागि बाटो खुला गरेको, वित्तीय सुशासन कायम गर्न बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीलाई मर्जरमा जान प्रोत्साहन गरेको भन्दै उनीहरूले अर्थमन्त्रीको प्रशंसा गरे । सेयर दलाल व्यवसायीले पनि सरकारले सेयर बजारको दायरा फराकिलो हुने गरी नीतिगत निर्णय लिएको बताए ।

तर, आगामी आवको बजेट जारी भएयता बजार लगातार घटेको छ । झन्डै अढाई वर्षदेखि लगातारजसो ओरालो लागेको सेयर बजार ११०० अंकको न्यूनतम विन्दुबाट उकालो लाग्दै गर्दा फेरि घट्न सुरु भएको छ । यो सातामा मात्रै नेप्सेमा ३४.८७ अंकको गिरावट आएको । साताको पहिलो दिन आइतबार १३१९.४६ अंकबाट खुलेको बजार अन्तिम दिन बिहीबार १२८४.५९ अंकमा झरेको छ ।

आइतबार १३१९.४६ अंकबाट खुलेको बजार १३.७९ ले घटेर १३०५.६७ अंकमा झरेको थियो । सोमबार १२.८४, मंगलबार ३.५६ र बिहीबार नेप्से ४.६९ अंकले घटेर १२८४.५९ अंकमा झरेको हो ।

साताभरमा २ अर्ब ७५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । आइतबार ७५ करोड ३२ लाख, सोमबार ६९ करोड ८७ लाख, मंगलबार ७१ करोड ५४ लाख र बिहीबार ५८ करोड ८८ लाखको सेयर कारोबार भएको हो ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ३५ करोड ५३ लाखको करोबार भयो । साताभरमा प्रभु बैंकको २१ करोड ९५ लाख, प्रिमियर इन्स्योरेन्सको १८ करोड ५२ लाख, नेपाल बैंकको १६ करोड ६० लाख, एनआईसी एसिया बैंकको १५ करोड ७७ लाख र माथिल्लो तामाकोशी ९ करोड ७८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि ह्रासोन्मुख छ । अघिल्लो साता ५ अर्बभन्दा बढीको सेयर किनबेच भएकोमा गत साता ४ अर्ब ३३ करोडको सेयर कारोबा भएको थियो । यो साताको कारोबार २ अर्ब ७५ करोडमा सीमित भएको छ ।

किन बढेन सेयर बजार ?
सेयर बजार विश्लेषकहरु बजारप्रति आशावादी छन् । बुलिस यात्रा सुरु गरेको सेयर बजारलाई सकारात्मक प्रभाव पर्ने गरी बजेट आएको विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । ‘सरकारले व्यक्तिको आम्दानीमा लाग्ने करको दर घटाएको छ, यसले बजारको बुलिस यात्रालाई थप सहज बनाउनेछ,’ उनले भने, ‘सरकारले सेयर बजारलाई सहयोग पुग्ने गरी निर्णयहरु लिइरहँदा बैंकको ब्याजदर घट्ने हो भने बजारमा उत्साह फर्किन्छ ।’

सेयर कारोबारमा पुँजीगत लाभकर गणना गर्ने नयाँ विधिले लगानीकर्तालाई उत्साहित बनाए पनि ब्याजदर नघटेका कारण बजार लगानीकर्ताको पक्षमा नगएको विश्लेषक भट्टराईले बताए । ‘अहिले पनि अधिकांश बैंकले १६–१७ प्रतिशत हाराहारी ब्याज लिइरहेका छन्,’ उनी भन्छन्, ‘यति महँगो ब्याजमा पैसा लिनु महँगै सावित हुनसक्छ ।’

प्रकाशित समय १४:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु