fbpx
Nepal Mediciti

गृहपृष्ठ सेयर लगानीकर्तामा बढ्दै आशा, बजारमा फर्किंदै उत्साह

सेयर लगानीकर्तामा बढ्दै आशा, बजारमा फर्किंदै उत्साह

नेप्से २० अंकले बढ्यो, २ अर्बभन्दा माथिको कारोबार

nepse-weekly-newskarobar

लामो समयदेखि ओरालो लाग्दै ‘कोमा’मा पुगेको सेयर बजारमा लगानीकर्तामा विश्वास बढ्दै जाँदा उत्साह फर्किने संकेत देखिएको छ । सामान्यतः चैतलाई ‘सेयर किन्ने अवसर’को महिनाको रुपमा बुझेकाहरु प्रवेश गर्न थालेपछि सेयर बजारमा उत्साह फर्किएको हो ।

साताभरमा बजार २० अंकले बढेको छ भने २ अर्ब ८ करोडभन्दा बढीको कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकम पनि करिब दोब्बरले बढेबाट पनि बजार प्रवेश गर्न लगानीकर्ताले अनुकूल मौका खोजिरहेको संकेत देखिन्छ ।

आइतबार ११४४.५३ अंकबाट कारोबार खुलेको बजार २०.६७ अंकले बढेर साताको अन्तिम कारोबार हुने दिन बिहीबार ११६५.२० अंकमा पुगेको छ । आइतबार ०.९१ र बिहीबार ०.६४ अंकले घटेको बजार सोमबार ६.४३, मंगलबार १३.७२ र बुधबार २.०१ अंकले बढेको हो ।

कारोबार रकम पनि गत साताभन्दा उल्लेख्य बढेको छ । गत साताभरमा १ अर्ब हाराहारीमा सेयर उठेको बजारमा यो साता २ अर्ब नाघेको छ । आइतबार २६ करोड ६६ लाख, सोमबार ३५ करोड २८ लाख, मंगलबार ५० करोड ८ लाख, बुधबार ५४ करोड ५८ लाख र बिहीबार ४२ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

चैत अन्तिममा भने बैंक ऋणको त्रैमासिक ब्याज बुझाउनुपर्ने हुँदा बजार सामान्य नकारात्मक बन्न सक्ने विश्लेषकहरु बताउँछन् । तर, वैशाख लागेपछि कम्पनीहरुले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्न थाल्ने र लगानीकर्ता कम्पनीको अवस्था विश्लेषण गरी बजार प्रवेश गर्ने क्रम बढ्दा सेयर बजारमा पुनः चमक फर्कनेछ ।

एनआईसी एसिया र एनसीसी बैंकको ठूलो कारोबार
गत साता एनआईसी एसिया र एनसीसी बैंकको सबैभन्दा ठूलो भोल्युममा सेयर कारोबार भएको छ । साताभरमा एनआईसी एसिया बैंकको १६ करोड र एनसीसी बैंकको साढे ११ करोड रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको हो । एनआईसी एसिया बैंकको ३ लाख ७६ हजार तथा एनसीसी बैंकको ५ लाख २८ हजार कित्ता सेयर किनबेच भएको छ भने सिभिल बैंकको ३ लाख ८० हजार कित्ता किनबेच भयो ।

६ वटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत
गत साता ६ वटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । सिद्धार्थ बैंकको ४२ लाख ३२ हजार कित्ता बोनस, लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार कित्ता हकप्रद, सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख २ हजार कित्ता बोनस, सिन्धु विकास बैंकको २ लाख ८० हजार कित्ता बोनस, आईएमई जनरल इन्स्योरेन्सको ४३ लाख २० हजार कित्ता हकप्रद तथा समता माइक्रोफाइनान्सको ३७ हजार ९२० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित समय १२:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु