fbpx
corona information

गृहपृष्ठ सरकार अस्थिर हुँदा विकासको क्रम भंग हुन्छ : राजेन्द्र मल्ल

सरकार अस्थिर हुँदा विकासको क्रम भंग हुन्छ : राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकार अस्थिर हुँदा विकासको क्रम भंग हुने बताएका छन् । संसद विघटनपछिको राजनीतिक अन्योलका विषयमा न्युज कारोबारसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘सरकारको नेतृत्व परिवर्तन भए पनि स्थायी सरकार मानिने ब्युरोक्रेसी बलियो भए खासै समस्या हुँदैन । तर, हामीकहाँ हालसम्म त्यस्तो छैन । करिब दुई तिहाईनजिकको सरकार मुलुकमा हुँदा जुनखालको आर्थिक विकासले गति लिने अपेक्षा गरिएको थियो, त्यो खण्डित भएको छ । उद्योगी व्यवसायी सशंकित भएका छन् । अन्योल बढेको छ ।’

सरकारको नेतृत्व परिवर्तन हुनासाथ नीति पनि परिवर्तन हुने, जुन नियती छ, यसबाट हामी सधैँ प्रभावित हुने गरेको उनले बताए । ‘हामी २०४७ सालदेखि नै यस्तै अस्थिरता भोग्दै आएका छौँ, त्यसकारण यस्ता गतिविधि स्वीकार्न बानी परिसकेको छ, हामी जसोजसो अघि बढ्छौँ,’ उनले भने, ‘तर मुलुकको तीव्र विकासका लागि आन्तरिक लगानी र पुँजी परिचालनले मात्र पुग्दैन । राजनीतिक अन्योल कायम रहे बाह्य लगानी प्रभावित हुन्छ । लगानीकर्ता हच्किन्छन् ।’

कोभिड १९ को महामारीबाट मुक्त हुँदै गर्दा कसरी मुलुकलाई पूर्ववत् अवस्थामा फर्काउने र आर्थिक विकासलाई गति दिने भन्नेमा केन्द्रित हुनुपर्ने बेलामा राजनीतिक अन्योल बढ्नु राम्रो नभएको उनको टिप्पणी छ । आर्थिक मुद्दामा बहस केन्द्रित हुनुपर्ने बेलामा राजनीति गर्माउँदा देशको हित हुन नसक्ने भएकाले यसबारे सबैले सोच्नुपर्ने वरिष्ठ उपाध्यक्ष मल्लले बताए ।

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले पनि राजनीतिक अन्योलले एकदमै नकारात्मक प्रभाव पारेको र निरासा बढाएको धारणा राखे । ‘अन्योल बढेको छ । भोलि के हुन्छ थाहा छैन । दुई तिहाइको सरकार हुँदा पनि यस्तो स्थिति आउँछ भने भोलि मिलिजुली सरकार आउँछ । त्यो बेला के होला भन्ने अन्योलको स्थिति त पक्कै हुन्छ,’ उनले भने, ‘यो त सिंगो देशको दुर्भाग्य हो । सिंगो नेपालीको दुर्भाग्य हो । कोभिडको बेलामा यो नभइदिएको अहिले हामी रिकोभरी मोडमा गइसकेका हुन्थ्यौँ । अब विकासका कामहरु रोकिन्छन् । विकास खर्च नभएपछि पैसा सरकारी ढुकुटीमा रहन्छ । त्यो सर्कुलेसनमा आएन भने तरलता अभाव हुन्छ । यसले लगानीकर्ता निरुत्साहित हुन्छन् । यसले चौतर्फी नकारात्मक प्रभाव पार्छ ।’

प्रकाशित समय १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु