fbpx
corona information

गृहपृष्ठ भत्ता पाउने ७० काटेका जेष्ठ नागरिकमात्रै १३ लाख

भत्ता पाउने ७० काटेका जेष्ठ नागरिकमात्रै १३ लाख

सामाजिक सुरक्षा भत्तामा ६६ अर्ब खर्च

देशभरि सामाजिक सुरक्षा भत्ता पाउनेहरूको संख्या ३० लाख पुगेको छ, जसमध्ये ७० वर्ष नाघेका जेष्ठ नागरिकहरूको संख्यामात्रै १३ लाख पुगेको छ । विगत एक दशकमा मात्रै सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या दोब्बर भएको छ । आर्थिक वर्ष २०६६/६८ मा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या १५ लाख ६४ हजार १३४  जना थियो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म ३० लाख ६२ हजार व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाइरहेकोमा चालू आर्थिक वर्ष २०७७/७८को पहिलो चौमासिकमा १ लाख ३२ हजारको लगत कट्टा गरिएको छ । अहिले २९ लाख ८१ हजार व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाइरहेको विभागले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०५३/५४ मा १ लाख ७२ हजार जना वृद्धवृद्धा र १ लाख ६८ हजार ५५४ जना विधवा गरी ३ लाख ४४ हजार ३४८ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएकोमा अहिले ७० वर्ष नाघेका जेष्ठ नागरिकहरूकै संख्या १३ लाख ८ हजार पुगेको छ ।

कर्णाली र दलित समुदायका ६० वर्षमाथिका जेष्ठ नागरिकसमेत जोड्दा १४ लाख ३२ हजार जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाइरहेको विभागको तथ्यांकबाट देखिन्छ ।

गत आवसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ७० वर्ष नाघेका जेष्ठ नागरिक बागमती प्रदेशमा छन् । बागमतीका ७० नाघेका जेष्ठ नागरिकको संख्या २ लाख ७० हजार ६१ ० जना छ भने, त्यसपछि प्रदेश १ मा २ लाख ५१ हजार ४९३, प्रदेश २ मा २ लाख १६ हजार ७ जना, लुम्बिनी २ लाख १४ हजार २८९ जना छन् ।

यस्तै, गण्डकी प्रदेशमा १ लाख ७१ हजार ८५६ जना, सुदूरपश्चिमा १ लाख २५ हजार ७०८ जना र कर्णालीमा ६१ हजार ८०७ जना ७० वर्ष नाघेका जेष्ठ नागरिक छन् ।

आर्थिक वर्ष ०५१/५२ मा १०० रूपैयाँबाट सुरु भएको वृद्ध भत्ता अहिले मासिक ३ हजार सामाजिक सुरक्षा भत्ताका रुपमा दिइन्छ । अहिले सरकारले जेष्ठ नागरिकलाई मासिक ३ हजार, एकल महिलालाई मासिक २ हजार, पूर्ण अपांगता भएका व्यक्ति (क वर्ग)लाई मासिक ३ हजार, अतिअशक्त अपांगता भएका व्यक्ति (ख वर्ग)लाई मासिक १६ सय, लोपोन्मुख जातिलाई मासिक ३ हजार र बालपोषण भत्ता मासिक ४ सय रूपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७६/७७ सामाजिक सुरक्षा भत्ताबापत ६८ अर्ब ३१ करोड रूपैयाँ बजेट निकासा भएकोमा ६६ अर्ब २२ करोड रूपैयाँ बाँडिएको छ ।

धेरै लाभग्राही प्रदेश २ मा

विभागका अनुसार अहिले सामाजिक सुरक्षा भत्ता पाउने सबैभन्दा धेरै लाभग्राही प्रदेश नं २ मा छन् । सो प्रदेशका ६ लाख ९२ हजार ६१३ जनाले विभिन्न किसिमका सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

यसैगरी, प्रदेश १ का ४ लाख ९९ हजार १५९, लुम्बिनीका ४ लाख ७८ हजार ६८१, बागमती प्रदेशका ४ लाख ७६ हजार, सुदूरपश्चिमका ४ लाख ४२ हजार १४४ र कर्णालीका ३ लाख २४ हजार ५३० जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु