fbpx
corona information

गृहपृष्ठ विदेशी मुद्राको भण्डार ऐतिहासिक उच्च

विदेशी मुद्राको भण्डार ऐतिहासिक उच्च

भारु खरिद १७ प्रतिशतले घटयो

FCY_NewsKarobar

कोभिड–१९ महामारीका कारण मुलुकको आयात व्यापारमा लगातार आएको कमी, निर्यातमा भएको आशलाग्दो विस्तार र संकटका बाबजुद वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्समा उच्च वृद्धिलगायतका कारणले नेपालको विदेशी मुद्राको विनियम भण्डार ऐतिहासिक रूपमा उच्च भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तमा मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति हालसम्मकै सर्वाधिक १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ पुगेको छ । साउनदेखि असोजको तीन महिनाको तीन महिनाको अवधिमा मात्रै मुलुकको विदेशी विनियम सञ्चिति ६८ अर्ब ४२ करोड रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ असोज मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई १२ अर्ब ५५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनियम सञ्चितिमध्ये ११ खर्ब ३० अर्ब ९० करोड रुपैयाँबराबर अमेरिकी डलर, पाउन्ड स्ट्रलिङसहितका परिवर्त्य मुद्रा छ भने भारुको सञ्चिति ३ खर्ब ३९ अर्ब ३५ करोड रुपैयाँबराबर छ ।
अहिलेको आधार मान्दा देशभित्र रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

‘रकमगत रुपमा हेर्दा यो हालसम्मकै उच्च विदेशी विनियम सञ्चिति हो, खरिद क्षमता मापनका आधारमा पनि यो उच्च सञ्चिति हो,’ नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले भने, ‘२०७२ को भूकम्पपछि पनि खरिद क्षमता मापनका आधारमा उच्च अनुपात देखिए पनि रकमको हिसाबले अहिलेको विदेशी विनिमय सञ्चिति सर्वाधिक हो ।’

बढ्दो विदेशी विनिमय सञ्चितिले बाह्य क्षेत्रमा मुलुकको सक्षमता बढेर गएको देखाउँछ । मुलुकले गर्ने खर्चका तुलनामा विदेशी मुद्राको आम्दानी बढ्दै गएका कारण यस्तो मुद्राको सञ्चिति बढेर गएको हो ।

भारु खरिद १७ प्रतिशतले घटयो

यसैबीच, नेपालले अमेरिकी डलर, पाउन्डसहित परिवत्र्य विदेशी मुद्रा भारतलाई बेचेर ऊसँग भारु किन्ने क्रम चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा झन्डै १७ प्रतिशतले घटेको छ ।
मुलुकको प्रमुख व्यापारिक साझेदार भारतसँगको व्यापार, नेपालीहरुको भारत तीर्थ यात्रा, अध्ययनसहितको प्रयोजनमा भुक्तानीका भारु लागि आवश्यक पर्छ ।

गत आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासिक अवधिमा १ अर्ब ६ करोड अमेरिकी डलर मुद्रा बेचेर ७४ अर्ब ९८ अर्ब ९४ करोड रुपैयाँबराबरको भारु किनिएकोमा चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा जम्मा ८४ करोड डलर बेचेर ६२ अर्ब २७ करोड ६८ लाख रुपैयाँबराबरको भारु किनिएको थियो ।

नेपालको कुल वैदेशिक व्यापारको करिब ६५ प्रतिशत भारतले ओगट्छ । समग्र आयात व्यापार नै घटेको र सीमापार यात्रा प्रतिबन्धका कारण कम भारु मागका कारण डलर बेचेर भारु किन्ने क्रम घटेको हो ।

शोधनान्तर बचत १ खर्ब नाघ्यो

आयात घटेको, निर्यात बढेको विदेशी मुद्रा आर्जनको मुख्य स्रोत बनेको रेमिट्यान्स आय पनि साढे १२ प्रतिशतले बढेपछि मुलुककत्त शोधनान्तर बचत १ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा शोधनान्तर बचत ८५ करोड १० लाख पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, पहिलो त्रैमासिक अवधिमा चालू खाता रु.३४ अर्ब ३६ करोडले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता रु.२२ अर्ब ४७ करोडले घाटामा छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालू खाता यस वर्ष २८ करोड ८२ लाखले बचतमा छ ।

साढे १२ प्रतिशतले बढ्यो रेमिटयान्स

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा नेपाल भित्रने रेमिट्यान्स १२.६ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ८६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ अघिल्लो वर्षको समान अवधिमा रेमिट्यान्स ५.१ प्रतिशतले घटेको थियो ।
कोभिड–१९ का कारणले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई परेको असरका कारण नेपाल भित्रने रेमिट्यान्स घट्ने अनुमान गरिए पनि लगातार बढदै गएको राष्ट्र बैंकको विवरणले देखाउँछ । सीमापार यात्रा प्रतिबन्धलगायतका कारणले अनौपचारिक क्षेत्रबाट हुने रेमिट्यान्स प्रवाह रोकिएका कारण बैंकिङ प्रणालीबाट भित्रने रेमिट्यान्स बढेको अधिकारीहरु बताउँछन् ।
पहिलो तीन महिनाको अवधि अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स ७.६ प्रतिशतले बढेर २ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो प्रवाह ४.७ प्रतिशतले घटेकोे राष्ट्र बैंकले जनाएको छ ।
यही अवधिमा नेपालबाट बाहिरिने रेमिट्यान्स १ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यो बैंक, वित्तीय संस्था, एयरलाइन्ससहित संगठित क्षेत्रमा कार्यरत विदेशीले यहाँ आर्जन गरेको पैसा आफ्नो देश लगेको तथ्यांकमात्र हो ।
कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध जारी रहेकाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ७८.६ प्रतिशतले घटेको छ ।

 

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु